–सत्या अधिकारी
चक्रपथको बस चढेँ । ‘जेष्ठ नागरिक’ लेखिएको सीटमा झ्यालपट्टी एउटी महिला थिइन् । आफ्नो पनि कपाल तील चामले भएकोले उनैको छेउमा बसेँ । उनी परिचित झैं लाग्यो मलाई । उनले बाहिर हेर्दा लुकेर उनको मुहार चिह्याएँ । सोधपुछ गरेँ । कुराकानीबाट थाहा पाएँ, उनी त मेरै माइती गाउँकी माइली दिदी पो रहिछन् ।
कम्ता राम्रा सिलाउँथे र उनका बा–अमाले हाम्रा लुगा ? उनी पनि स्वर्गकी अप्सरा जस्ती पो थिइन् उतिबेला ।
छक्क परेँ । समयको शक्ति देखेर । मान्छेलाई कस्तो बनाउन सक्नेरहेछ । कहाँ गयो होला उनको त्यो सौन्दर्य ? केले खायो होला त्यो मोटो शरीरको मासु ? ऐले त मात्र थियो अस्थिपञ्जर !
आफैँलाई धन्य लाग्यो । आफ्नो गाढा स्मरण शक्ति देखेर । प्रश्नका वर्षा गरेँ मैले उनीमाथि । अचम्म लाग्यो मलाई उनको यो अवस्था देखेर । मेरा हरेक जिज्ञासा मेटाउने क्रममा उनी उनकै विगतमा पुगिन् र भन्दै गइन् । म सुन्दै गएँ ।
“नानी ! बिर्सी सकेकी थिएँ उसलाई । अचानक “एक दिन जम्काभेट भयो । उसले चिनेन मलाई । तर, मैले चिने । उसको नाम मेरो हृदयमा खोपिएको थियो । बिर्सन नसक्ने गरी । “किरण बाबू !” भन्दै उसको नामै तोकेर बोलाएँ । झस्कियो ऊ । चिनोस् पनि कसरी ? मलाई नमस्कार ग¥यो । मेरा गालाका मुजा तन्किए उसलाई देखेर । उ हाँसेन । सिरियस भयो । एक मन रिस पनि उठ्यो उसँग र त्यो पापी समाजसँग जसले हाम्रो चोखो प्रेमको हर्जना नराम्रोसँग तिराएको थियो । अनि मलाई यो हालतमा पुर्याएको थियो ।”
हर्जना ? किरण ? समाज ? मेरो थुर्मी जत्रो दिमागले उनका कुराको भेउ पाएन ।
फेरि दिदीका सबै कुरा जान्ने रहर भयो । र भने, “अनि के के भयो त दिदी ?”
मेरा सबै खुल्दुली मेटाउन फेरि उनको रमाइलो अतीततिर पुगिन् उनी ।
“कति रमाइला थिए ती दिन् । नानी ! सम्झदा यो मन भरभर भएर आउँछ । बिष्टकाँ लुगा सिलाउँथे मेरा बा आमा । उनका एक्ला छोरा थिए किरण । सबैले हिरो भन्थे उनलाई । उनको रूपलाई हेरेर नाम जुरेको होला किरण जस्तो लाग्थ्यो मलाई पनि ।”
आफ्नो रूपको पनि वर्णन गर्न भ्याइन् उनले । “म पनि त कहाँ कम थिएँ र ? बाहुन काठाहरु सबै घुम्थे मेरा पछि, कात्तीके कुकुर झैँ । केटादेखि धोती पाटा फेर्ने बुढाहरुसम्म मेरो जवानीलाई हेर्दै ¥याल काढ्थे । अरुका गिद्दे नजरलाई कहिल्यै वास्ता गरिन मैले । मेरो नजर भने किरणतिर गाढेकी थिएँ । मलाई स्कुल पढाउने हैसियत थिएन मेरा बा आमाको । सपनाको कुरा । कहिल्यै रहर पनि गरिन मैले । तर, मेरै घरको बाटो गर्दै बाहुन गाउँका केटाकेटी स्कुल जान्थे । पहिला त मलाई उति चासो थिएन को गयो ? आयो ? भन्नेमा । तर, पछि चाहिँ त्यै मोरो किरण कति बेला आउला भन्दै आँखा गाड्न थालेको थिएँ ।”
उनले आफ्ना कहानी भन्दै गइन्, “मेरै बाले सिलाएको सेतो सर्ट अनि निलो पाइन्ट र बबी चप्पल पड्काउँदै हातमा किताब च्यापेर आउँथ्यो ऊ । म दौडेर कान्लाबाट हेरिरहन्थेँ उसलाई । ऊ बाटो नकटेसम्म हेर्थें । बेलुका ऊ फर्कंदा पनि त्यसै गर्थें म । सातो दस दिनसम्म त्यै क्रम चलिरह्यो मेरो । तर, उसले मलाई पटक्कै वास्ता गरेन । उ पढेलेखेको बाहुनको छोरो । म अनपढ दमिनी भनेर होला जस्तो लाग्यो । उसलाई सधैँ हेरेँ मात्र बोल्ने आँट गरिन । एकदिनको कुरा हो । मैले धेरै दिन बाटोमा कुरेको देखेर होला उसले सोध्यो, “किन तिमी सधैँ मलाई भेट्न यहाँ आउछ्यौ ?” म रातो पिरो भएँ । कतै गाली गर्ने पो हो कि भनेर । तर, उसले गाली गरेन । उल्टो “कति राम्री छौ है दिदी तिमी पो भन्यो । उमेरमा उ, मभन्दा कान्छो हो भन्थे मेरा बा । मलाई स्वर्गका राजा इन्द्र बोलेको जस्तो भयो उसको कुरा सुनेर । दुबैले दुबैको तारिफ गर्दै बिदा भयौं त्यो दिन । रात उसकै कल्पनामा बिताएँ । त्यसपछि हाम्रो भेट्ने क्रम पहिला भन्दा बाक्लियो । स्कुलबाट आउँदा मलाई मिठाई र बिस्कुट ल्याइदिन्थ्यो । तिमी पनि पढ्न हिँड भन्थ्यो बिचरा मलाई । म पनि बनमा दाउरा घाँस गर्न जाँदा काफल, ऐसेलु, तिंदु र गोलकाँक्री ल्याइदिन्थेँ । मीठो मानेर खान्थ्यो किरण । कामै नपरे पनि बिष्टकोमा केही निहुँ पार्दै जान्थें म । उ पनि आउँथ्यो मेरो घरमा । वर्षेनी इलिम बजार लाग्ने गथ्र्यो, हाम्रो गाउँ भन्दा पर । यो वर्ष हामी दुबैले जात्रा हेर्न जाने निधो ग¥यौं । उ घरको एक्लो छोरो । जे भन्यो त्यै पु¥याउँथे उसका बा आमाले । मसँग पैसा नभए पनि उस्कै पछि लागेँ म । दिनभर जात्रा हे¥यौं, नाचगान भयो । गीत गाउन सिपालु थिएंँ म । नाच्न सिपालु रहेछ उ । नाच गीतको तालमा दिन ढलेको थाहै भएन हामीलाई । बाहुन गाउँका प्रधानपञ्च पनि उसँगै थिए । हाम्रो जोडीका ताल हेर्दै मक्ख थिए उनी । उमेरले पाको भए पनि खै किन हो ? त्यतिबेला हाम्रो जोडीलाई बाधक बनेनन् उनी । हामी दुबैलाई मनप¥यो ती पञ्चे बा । रात छिप्पिँदै गयो । उतै बस्नु पर्ने भयो । हाम्रो प्रेम पनि रातसँगै गाढा हुँदै थियो । गाउँका सबैभन्दा ठूूला पञ्चे बाले साथ दिएपछि हामीलाई केही कुराको डर लागेन । एउटा पालमुनि सुत्ने ठाउँ मिल्यो । बिस्तारै हामी दुईबाट एक भयौं । बिहान भयो । घर फर्कने तयारीमा थियौं हामी । हिजो अस्तिभन्दा आज मलाई किरणको माया झन् बढी लाग्यो । उसले पनि त्यसै भन्यो ।”
उनको रोमान्चित कुराले मलाई पनि काउकुती नलागेको कहाँ हो र ? फेरि सोधेँ, “अनि के–के भयो दिदी ?”
अघि भर्खरको त्यो हँसिलो मुहार एक्कैचोटि कुचुक्क भयो र लामो सुस्केरा निस्क्यो उनको घाँटी हुँदै मुखबाट ।
“मेरो त्यो खुशी धेरै बेर टिक्न पाएन । नतिजाको होसै नगरी गरेको कामले के राम्रो होस् ! त्यै महिनाबाट मेरो महिनाबारी बन्द भयो । उसलाई सुनाएँ । केही थाहा नभएको उ डरायो । आत्तियो । गाउँभरी हल्ला फैलियो । हाम्रो समस्या सबै थाहा पाएका पञ्चे बा, बेला–बेला आएर मलाई भन्ने गर्थे “उति बेला त हामीले पाल बिन्ती लाउँदा एक पटक छुन दिइनस् । अब हेर्दै जा के–के हुन्छ ?” उनको कुराले मेरो घाउमा नुन चुक छर्ने कामभन्दा अरु केही गरेन । आफ्नै आँखाले आफ्नो शरीर नदेख्ने गरी बढ्दै थियो मेरो पेट । आतिएँ म । मेरो जिवनमा १० रेक्टरको भुइँचालो गयो ।”
उनका कुरा सुन्ने मेरो मनमा भने त्योभन्दा ठूूलो भूूँईचालो गयो । म झसङ्ग भएँ । ला अब के हुन्छ ? भन्दै छिट्टै भन्न आग्रह गरेँ दिदीलाई उनका थप कुरा । बिचरी माईली दिदी भन्दै गइन्, “के भन्नू नानी ! मेरो सबै कहानी थाहा पाएको त्यो अपराधी पञ्चेले किरणको घरमा पानी बाराबार गरेछ । ऐलेजस्तो गर्भपतनका औषधि पनि पाइन्नथ्यो उतीबेला । पेटमा बच्चा छ । आमाको पिटाइ । अनि त्योभन्दा बढी दुख्ने बाउका बचन र टिमुरका काँढाभन्दा तिखा समाजका गिद्दे नजर । नौ महिना कसरी कटाएँ होला ?” भन्दै गइन् उनी ।
“महिना पुगेर घरमै छोरा जन्म्यो । कोहि खुशी थिएनन् । तर म चाहिँ किरणको छोरा जन्माएकोमा खुशी थिएंँ । काटीकुटी उ जस्तै थियो मेरो छोरा । मेरो छोरा जन्मेपछी त्यो गाउँको पञ्चेले कचहरी बोलाएर उनको बाउलाई हर्जना तिराएछन् र चोखिएछन् किरणका परिवार । आफ्नो अन्जानमा गरेको गल्तीले बाउको गैरी खेत बेचिएको र आफ्नो घरलाई समाजले अछुतो बनाएको पीडा सहन नसकेरै होला, किरण गाउँ छोडेर बेपत्ता भएको पनि सुनें । उखर्माउलो छुटेर आयो । बच्चाको न्वारनको दिन गाउँको पञ्चायतले पल्लो गाउँबाट सन्तेलाई बच्चाको बाउ बनाएर ल्याए । मलाई पनि उसैको जिम्मा लगाएर डांँडा कटाए । कहिल्यै नफर्कने प्रण गर्दै सन्तेसँग बाटो लागेँ म । आमा रुँदै आइथिन् । खै किन हो ? त्यतिबेला भने उनको माया बेस्सरी लाग्यो । तरै पनि सन्तेकै पछि लागेँ । किरणको छोरो अब सन्तेलाई बाउ भन्न थालिसकेको थियो ।”
“अनि सन्तेले तिमीलाई माया ग¥यो त दिदी ?” भन्ने मेरो प्रश्नको उत्तरमा बनावटी उत्तर थियो । “खासै दुःख दिएन । त्यो पापी समाजले झैँ । यतिका वर्षपछि उसको त्यो फुङ्ग उडेको अनुहार, फुलेको दारी, कपाल देख्दा मस्र्याङ्दी नदीझैँ उस्को माया उर्लेर आयो । रिस उठेन पट्क्कै उसँग । दुःख मलाई त्यो समाजले दिएको हो । किरणले त होइन झैँ लाग्यो । अनि मैले उसलाई चिनाउदै भने “म के त तिम्रो..... माइली ।” मेरो कुरा सुनेर उ झसङ्ग झस्क्यो । मानौ मैले झम्टन्छे झैं । एक छिन केही बोलेन । दुबै निःशब्द भयौँ । अनि उस्ले पनि आफ्ना पीडा पोख्न थाल्यो । धेरै इच्छुक थिएंँ म उसका कुरा सुन्न । बेला बेला दुई हात जोडेर माफ माग्दै भन्थ्यो । “हेर माइली ! मैले तिमीसँगै मेरो पढाइ पनि छोडेँ । सबथोक छोडेँ । मैले गरेको गल्तीले आज मलाई पोलिरहेछ भत्भती । केही गर्न सकिन जिन्दगीमा । पछाडी मात्र धकेलीरह्यो मलाई मेरो जिन्दगीले । कहिल्यै अगाडि बढने आँट आएन । जहिले तिमी र त्यो बच्चा हेर्ने आशामा तड्पी रहेँ । जहाँ जान्थेँ, त्यहाँ तिरस्कार मात्र पाउथेँ । बा–आमा र परिवारको माया अनि समाजमा मुख देखाउन लाज भएर सहरमा ज्याला मजदुरी गरेँ । बाको पैसाले हाम्रो घर चोखिएपछि घर गएँ । विवाह गरेँ । छोराछोरी पनि छैनन् । पश्चतापको तातो भुमरीमा पुु¥यायो हामीलाई हाम्रो अन्जानमा गरेको प्रेमले ।” धेरैबेरको कुराकानी पछि मेरो पनि एक्लो छोरो भनौ कि हाम्रो प्रेमको हर्जना भनौँ । टुप्लुक्क “आमा !” भन्दै आइपुग्यो । मेरो गालामा झरेका आँशुका धारा देखेर होला नरमाइलो मान्दै सोध्यो । “के भयो आमा ? किन रोएकी यसरी ? को हुनुहुन्छ उहाँ ? प्रश्नमाथि प्रश्न तेस्र्यायो छोराले ममाथि । धोतीको सप्कोले आँसु पुछ्दै भनेँ “बाबू ! तिम्रो मामाघरका बाहुन बा हुन् । ढोग ।” धेरै वर्षपछि खोजेको कुरा भेटेर होला किरणले हामी दुबैलाई अङ्गालोमा कस्यो । कहिल्यै नफुस्कने गरी ।”
उनका कुरा सुनीरहेकी मेरा आँखा पनि ओभाना कहाँ थिए र ? चेलीबेटीलाई माइतको कुकुर त प्यारो लाग्छ । उनी त हाम्रै माईती गाउँकी दुखको भवसागरमा डुबेकी बिचरी माइली दिदी । सारै माया लागेर आयो । सन्तेले राम्रैसँग पालेको कुरा उनको शरीर हेर्दै थाहा हुन्थ्यो । माइली दिदीका सबै कहानी सुनिसक्दा बसको खलाँसी भाईको ढयाक ढ्याक आवाजले हामी दुबैको ध्यान मोडियो । बस खाली भैसकेछ । दिदीको भाडा पनि मैले दिएँ र फेरि फेरि भेट्ने बाचा गर्दै हामी आ–आफ्नो बाटो लाग्यौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies