–मधुसूदन अधिकारी
मुक्तिनाथ आफ्नी श्रीमतीसँग खुसीसाथ आफ्नो सेवा निवृत्त जीवन बिताइरहेका थिए । उनका तीन भाई छोराहरू आ–आफ्ना श्रीमती लिएर विभिन्न सहरमा बसेका थिए । चाडपर्व आदिमा तिनै भाई छोरा बुहारीहरु आमा–बाउसँग भेटघाट गर्न आउँथे । चाडपर्वमा परिवारका सबै सदस्यहरु एकैसाथ भेला भएर फुर्ती आनन्दले आमा–बाउसँग बस्थे ।
एकदिन मुक्तिनाथकी श्रीमतीको हृदयघात रोगले मृत्यु भयो । दुःखको खबर पाएर तीनै भाई छोराहरु र तिनै बुहारीहरु दौडि आए ।
आमाको कामक्रिया नहुन्जेलसम्म सबैजना एकैसाथ थिए । अन्त्येष्टी क्रियाक्रम सकियो सबै आ–आफ्नो कर्म स्थानमा जानुपर्ने भयो ।
जेठी बुहारीले कुरा उठाई, “बाबा, अब यहाँ एक्लै कसरी बस्ने ? हजुर हामीसँगै जाउ ।” मुक्तिनाथ बुहारीलाई भन्छन्, “हैन बुहारी मलाई यही छोडिदेऊ, तिमीहरूको आमाले कति कष्ट गरी यो घर जोडेकी थी । मलाई भन्थी घरको ख्याल राख्नु । आमाको केही समानहरू छ तिमीहरू आपसमा सेयर गर । अहिले यो सबै ख्याल गर्न सक्नेछैनौं ।”
यति भन्दै अल्मिरीबाट केही ल्याई दिए । मखमलको झोलामा एउटा निकै सुन्दर सुनको गहनाहरु थियो । त्यहाँ धेरै सुन्दर सुनको चेन भएको पुरानो नाडी घडी थियो । सबैजना यस्ता सुन्दर चीजहरूको मायामा परे । कान्छो छोराले उत्साहपूर्वक भन्यो, “आमाले सरितालाई यो घडी दिन चाहन्थिन् ।”
मुक्तिनाथ नरम स्वरमा भन्छन्, “अनि मैले तिमीहरूलाई सबै कुरा बराबर दिएको छु । यी दुई चीजहरूसँग उनको धेरै लगाव थियो । उनी कहिलेकाहीँ धेरै चासोका साथ बाहिर निकाल्थिन् । अब म यी तीनै बुहारीलाई समान भाग गरिदिन्छु ।”
सबैले एकअर्काको अनुहार हेर्न थाले र माइलो छोराले ठूलो आक्रोशका साथ भन्यो, “यो सजावट मीरालाई दिने कुरा आमाले गर्नुहुन्थ्यो ।”
मुक्तिनाथ मनमनै सोचिरहेका थिए कि, “जेठी बुहारीलाई के दिऊँ ?” सायद उसको विचार जानेर होला, “बाबा, तपाईं सायद मेरोबारेमा सोचिरहनुभएको छ, हजुरले गहना मीरालाई दिनुहोस् र सरितालाई नाडी घडी आमाले पनि त्यस्तै चाहन्थिन्” जेठी बुहारीले भनिन् ।
“तर नन्दिनी, तिमीलाई के दिऊँ...मैले बुझिनँ ?”
“तपाईंसँग एउटा अर्को बहुमूल्य चीज छ र आमाले मलाई मात्र दिन चाहन्थिन् ।”
अचम्मले सबैको मुख खुला रह्यो... । दुबै बुहारीहरु निकै रिसाए । अब कुन बाकस खोल्ने सबैको अचम्म र अप्ठ्यारो महसुस गर्दै जेठी बुहारीले मुस्कुराउदै भनिन्, “बाबा तपाईं आफैं सबैभन्दा अनमोल हुनुहुन्छ । पोहरको साल म दशैंमा आउँदा आमाले मलाई भन्नुभएको थियो, “म मरेपछि बाबाको हेरचाह गर्ने जिम्मेवारी तँलाई सुम्पिन्दैछु, राम्रो ख्याल राखेस, बाबाले दुःख पाउँनु भयो भने मेरो आत्मा रुन्छ र पछि तैँले दुःख पाउलिस्” भन्नु भएको छ । मलाई गर गहना केही चाहिँदैन हजुरको सेवा गर्न पाउँ । बाबा हजुर आमाको इच्छा पालन गर्नुहोस् र हामीसँग हिँड्नुहोस् ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies