काठमाडौं : चलचित्र निर्देशन तथा गीत लेखनलाई सँगसँगै अगाडि बढाइरहेका सत्यराज चौलागाईं करिब १६ वर्षदेखि कलाकारिता क्षेत्रमा रमाइरहेका छन् । अभिनेताबाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने सत्यराजको सानैदेखिको सोच थियो । तर उनी अभिनेताका रुपमा नभई निर्देशकको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरे ।
सत्यराजले निर्देशक दयाराम दाहालले निर्देशन गरेको चलचित्र ‘मायाको बारीमा’बाट सहायक निर्देशकको रुपमा चलचित्र क्षेत्रमा पाइला टेके । त्यसपश्चात सन् २०१८ मा चलचित्र ‘अनुराग’बाट सत्यराजले निर्देशनमा डेब्यू गरे । अब चाँडै नै सत्यराजको निर्देशनमा फिल्म ‘बिच्छेद’ प्रदर्शनमा आउँदै छ । फिल्मको अहिले पोष्ट प्रोडक्शनको काम जारी रहेको निर्देशक सत्यराज बताउँछन् ।
उनले सहायक निर्देशकको रुपमा भने करिब एक दर्जन चलचित्रमा काम गरिसकेका छन् । उनले सहनिर्देशन गरेका चलचित्रहरु ‘समय’, ‘कोहीनुर’, ‘नाइके’, ‘को आफ्नो’, ‘भाग सानी भाग’, ‘के म तिम्रो होइन र’, ‘म यस्तो गीत गाउँछु’ लगायत रहेका छन् ।
पिता यज्ञप्रसाद चौलागाईं, माता धनमाया चौलागाईं कोखबाट जन्ममिएका सत्यराज हाल काठमाडौंको बुढानिलकण्ठ ८ का बासिन्दा हुन् । उनको पुर्खौली थलो भने चौरीदेउराली गाउँपालिका काभ्रेपलाञ्चोक हो ।
चलचित्र क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै लगेका उनी विभिन्न सम्मानबाट सम्मानितसमेत भइसकेका छन् । उनी राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीबाट सम्मानित भएका थिए ।
सत्यराज चलचित्र ‘अनुराग’बाट डेब्यू निर्देशकको रुपमा फस्र्ट एभरेष्ट इन्टरनेशनल फिल्म अवार्डमा उत्कृष्ट पाँच मनोनयनमा पारेका थिए । यस्तै ‘अनुराग’कै गीत ‘यस्तो साथी’बाट उनी रचनाकारको रुपमा सातौं नेशनल राप्ती म्युजिक अवार्डमा उत्कृष्ट पाँच मनोनयनमा पारेका थिए ।
त्यस्तै उनी ‘चाहन्छु २’ म्युजिक भिडियोबाट निर्देशकको रुपमा आठौं नेशनल राप्ती म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयनमा परेका थिए भने म्युजिक भिडियो ‘माया तिमीसँगै’बाट रचनाकारको रुपमा यसै अवार्डको उत्कृष्ट पाँच मनोनयनमा पनि परेका थिए ।
चलचित्र निर्देशन सँगसँगै सत्यराज गीत लेखनमा उत्तिकै सक्रिय रहेका छन् । सन् २०१२ मा उनले ‘साथी २०१२’ एल्बम बजारमा ल्याएका थिए । त्यसपश्चात सन् २०१६ मा पनि उनले ‘माया २०१६’ एल्बम ल्याएका थिए । यस एल्बमबाट उनले स्रोताहरुको राम्रो प्रतिक्रिया पाएका थिए ।
सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको ‘यस्तो साथी’, प्रताप दासको स्वरमा रहेको ‘तिम्रो स्वरमा स्वर’, प्रविशा अधिकारी र प्रताप दासको स्वरमा रहेको ‘माया तिमीसँगै’ गीतको शब्द सत्यराजले लेखेका हुन् । यी गीत दर्शक स्रोतामाझ निकै लोकप्रिय बनेको थियो ।
सत्यराजले म्युजिक भिडियो तथा सर्ट फिल्महरु पनि निर्देशन गरेका छन् । म्युजिक भिडियोहरु ‘सहनै गाह्रो’, ‘बुझेन मायाले’, ‘सपना बनेर’, ‘साथी’, ‘मन मेरो के भो के भो’लगायतमा उनको निर्देशनसँगै आफ्नै शब्द रहेको छ । यस्तै उनले सर्ट फिल्महरु ‘संविधान’, ‘चोलीको तुना’, ‘आयो आयो’, ‘आइ विल मिस यू’ लगायत पनि निर्देशन गरेका छन् ।
लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका सत्यराज आफू सधैं यसै क्षेत्रमा लागिरहने बताउँछन् । आफ्नो सानैदेखिको कलाकार बन्ने इच्छा पूरा भएकोमा उनी खुसी छन् । चलचित्र क्षेत्रमा डेढ दशकको अनुभव हासिल गरिसकेका सत्यराज सधैं दर्शक स्रोतालाई नयाँ र उत्कृष्ट सिर्जना प्रस्तुत गर्ने प्रयत्नमा हुन्छन् । यस्तै चलचित्र क्षेत्रको विकासका लागि सरकारले उचित कदम चाल्न जरुरी रहेको उनी बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies