एजेन्सी : द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।
आईसीसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । आईसीसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुष्टिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ ।
मस्कोले आईसीसीका आदेशलाई अर्थहीन भन्दै खारेज गरेको छ । साथै मस्कोले आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अपमानजनक भनेर त्यसको निन्दा गरेको छ । रुसी नेता पुटिन आईसीसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति भएका छन् ।
रुस आईसीसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना छैन । अर्थात् द हेगमा रहेको उक्त अदालतको आदेश त्यहाँ कार्यान्वयन हुने कुनै आधार पनि छैन । यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तर्राष्ट्रिय यात्रामा असर पर्नसक्छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएका विश्वका एक सय २३ सदस्य राष्ट्रमध्ये कुनैमा उनले पाइला राखेमा उनलाई पक्राउ गर्न सकिनेछ । आईसीसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तर्राष्ट्रिय सहयोगमा निर्भर हुने बताएका छन् ।
युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आईसीसीले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अदालतको कदमलार्य ऐतिहासिक निर्णय भन्दै स्वागत गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी साता हुने मस्को भ्रमण तथा रुसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका बेला जारी भएको आईसीसीको आदेशले अन्तर्राष्ट्रिय जगत्मा तरंग पैदा गरेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना रुसी समकक्षी पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेका गरेका छन् । राष्ट्रपति पुटिनले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपति ‘न्यायसंगत’ भनेका छन् । अमेरिका पनि आईसीसीको पक्ष राष्ट्र होइन । राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट आफ्नो डेलावरस्थित निजी निवासतर्फ प्रस्थान गर्नुअघि उनले रुसी राष्ट्रपति पुटिनले ‘स्पष्ट रूपमा युद्ध अपराध गरेको’ पत्रकारहरूलाई बताए ।
गत महिना जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनमा रुसले मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै उसलाई दण्ड दिनुपर्ने बताएका थिए । रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उनले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेका थिए ।
त्यसअघि पनि बाइडेन प्रशासनले युक्रेनमा मस्कोले युद्ध अपराध गरेका प्रमाण आफूसँग रहेको जनाउँदै मस्कोविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनुपर्नेमा जोड दिँदै आएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies