तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गुल्मी सेवा समाज कतारले जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति अक्षयकोष स्थापनार्थ विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
गुल्मेली मिलन तथा वनभोजसहित सम्पन्न कार्यक्रममा नेपालबाट सांगीतिक प्रस्तुति दिन आएका र कतारका स्थानीय कलाकारहरूले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए । आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट शान्ति श्री परियार, नृत्याङ्गना रवीना भण्डारी, गायक नन्दु परियार, मोडेल अनिल पौडेल र गायक अमित सुनार कतार आएका थिए ।
लक्ष्मी गिरीको स्वागत नृत्यद्वारा सांगीतिक कार्यक्रमको शुभारम्भ गरिएको थियो । बाबु कौसल, सुरेश बिसी, कमला गुरुङ, गुना मगर, ईश्वर भण्डारी, दीपेन्द्र सुनार र नेपाल मगर संघ कतार शाखाका कलाकारहरूले आफ्ना गीत तथा नृत्य पेस गरे । नेपालबाट आमन्त्रित पाँच जना कलाकारहरूमध्ये अमित सुनारले आफ्नो प्रस्तुति पहिला राखे । उनले सुनका मायालु, गुल्मी छाप हिलेलगायतका आफ्ना हिट नम्बरहरू गाए । उनले आफ्नो पहिलो विदेश यात्रा रहेको बताउँदै आयोजकप्रति कृतज्ञता ज्ञापन गरे । मोडल रवीना भण्डारी र अनिल पौडेलले विभिन्न हिट लोक तथा दोहोरी गीतमा आफ्नो अभिनय तथा आकर्षक नृत्य पेस गरे ।
नेपालबाटै आएका अर्का गायक नन्दु परियारले नन्दनी गीतबाट प्रस्तुति राख्न शुरु गरे । उनले लगभग आधा दर्जन आफ्ना हिट गीतहरू गाए । उनलाई दर्शकले भरपुर साथ दिए । करिब एक हजार दर्शकले भरिएको सहानियाको उक्त हलमा नाच्नेहरूको भीड थियो । शान्ति श्री परियारको प्रस्तुतिमा रम्न र रमाउन दर्शकले साँझसम्म पर्खिरहे । दर्शकको पर्खाइको प्यास मेट्न झमक्क साँझमा बोलमाया गीत गाउँदै शान्ति श्री स्टेज चढिन् । उनले लाहुर जाने रेलबाट उपस्थितलाई नचाइन् । आफूले स्वर दिएका र हिट भएका मध्येबाट पनि उनले आधा दर्जनभन्दा बढी गीत गाइन् । उनले दर्शकको वान्स मोर पाइरहिन् । उनको प्रस्तुति दिइरहँदा दर्शक स्टेज बाहिर बाटोमा समेत नाचिरहेका थिए ।
समाजका सचिव दर्शन सुनार र सांस्कृतिक संयोजक दीपेन्द्र सुनारले मिलेर सहजीकरण गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मित्र बीएसले स्वागत मन्तव्य तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए । समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व तथा एनआरएनए आईसीसीका उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
भाषणरहित कार्यक्रममा प्रमुख अतिथि भाटले समेत अति छोटो मन्तव्य राखेका थिए । उनले समाजका अग्रज तथा वर्तमान कार्यसमितिप्रति सम्मान व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सभापति अर्यालले उपस्थित सबैलाई धन्यवाद दिँदै समापन गरेका थिए । मध्यान्ह राष्ट्रिय दैनिक उक्त कार्यक्रमको सञ्चार सहयोगीका रूपमा रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies