काठमाडौंः नेपाल फाईभपी अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा चैत १० गतेदेखि गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ, प्रोसेसिङसँग सम्बन्धित उक्त पदर्शनीमा मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयोजन गर्दैछन् ।
प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ, प्रोसेसिङसँग सम्बन्धित उद्योगहरुलाई सहयोग पु¥याउने र तीनैसँग सम्बन्धित मेसिन र प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले उक्त पदर्शनीको आयोजना गरिएको मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले मध्यान्हलाई बताए । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका एकसय भन्दा बढी स्टल राख्ने तयारी गरिएको र करिब सम्पूर्ण स्टल बुकिङ हुन लागेको उनले बताए ।
नेपालमा प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ, प्रोसेसिङसँग सम्बन्धित उद्योग स्थापना गर्न चाहनेहरुलाई मेसिन उत्पादकहरुले विकसित नयाँ प्रविधि प्रदर्शन गर्ने र उनीहरुले त्यसबाट लाभ लिन सक्ने उनले बताए । ‘अहिले हामीले देखाउन खोजेको मेसिनरी हो, यहाँ उद्योग स्थापना गर्न चाहनेहरुलाई चाहिने मेसिनरी अहिलेसम्म नेपालमा उत्पादन भएको छैन’, उनले भने, ‘त्यसैले त्यस्ता मेसिनरी सामग्री र प्रविधि सम्बन्धित उद्योगहरुले त्यहाँबाट पदर्शनी गर्ने र जानकारी गराउने काम गर्नेछन् ।’
मेसिन तथा प्रविधिसँग सम्बन्धित विदेशी कम्पनीहरुसँगै नेपालका प्याकेजिङ, लेबल प्रिन्टिङ बाराकोड प्रिन्टिङ लगायतका कम्पनीहरु पनि प्रदर्शनीमा सहभागी हुने निर्देशक भट्टराईले बताए । फाइभपी प्रदर्शनीमा बिक्री वितरणको कार्य नहुने तर इच्छुकहरुले सामग्रीको बुकिङ गर्नसक्नेछन् । प्रदर्शनीमा फाइभपीसँग सम्बन्धित उद्यम गर्न चाहने र उद्यमको विषयमा जान्न चाहनेहरु अवलोकन गर्न आउने उनले बताए ।
देशभर रहेका सरोकार राख्ने व्यापार–व्यवसायलाई एकै ठाउँ ल्याएर व्यापार साझेदारी गर्नका लागि साझा मञ्च प्रदान गर्नका लागि पनि उक्त प्रदर्शनीको आयोजना गरेको भट्टराईले बताए । उनका अनुसार प्रदर्शनी अवधि भर २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा छ ।
विदेश गएर आर्जन गरेको र नेपालमा केही गर्न चाहने युवाहरुले पनि पदर्शनीमा आएर उद्यमको विषयमा जान्न सक्ने भट्टराईको भनाइ छ । ‘एउटा साधारण मान्छे पनि प्रदर्शनीमा आएर हेरेपछि व्यवसाय शुरु गरोस भन्ने वातावरण बनाउन खोजेका छौं हामीले’, उनले भने, ‘मानौं कोही वैदेशिक रोजगारीमा गएर आउनुभएको छ र उहाँले केही काम गर्न चाहनुहुन्छ भने २/४ लाखको लगानीमा पनि केही न केही व्यवसाय शुरु गर्न सक्ने प्रविधि तथा मेसिनरीको विषयमा जान्न सक्नुहुन्छ ।’
प्रदर्शनीमा अवलोकनकर्ताहरुलाई निःशुल्क प्रवेश गर्न सकिने व्यवस्था आयोजकले गरेको छ । तीन दिन सम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा उद्योग र व्यापार–व्यवसायलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरूबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने अपेक्षा लिएको पनि भट्टराईले बताए । अहिले पनि उक्त प्रदर्शनीमा स्टल राख्न चाहनेहरूले बुकिङ गर्न सक्ने उनले बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies