–लेखराज रेग्मी
लामो अन्तरालपछि स्ववियु निर्वाचन भएको छ । नेपालको पहिलो विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी फ्रेडेशनको स्थापनासँगै प्रत्येक विद्यालयमा युनियन बनाउने, चुनाव गर्ने र निर्वाचित पदाधिकारीहरुले विद्यार्थी हितको प्रतिनिधित्व गर्ने परम्परा विकसित भयो । यिनै युनियनहरुको फ्रेडेशन हो विद्यार्थी फ्रेडेशन । तर, यसलाई २०१७ पछि उपयोगको खतरा र संघर्षको औजारको रूपमा प्रयोग गर्ने, प्रतिबन्धित दलहरुको प्रयत्नसँग यसको अन्तरविरोध नै विद्यार्थी युनियनको चालक बन्न पुग्यो । वामपन्थी विद्यार्थीहरुको पहलमा २०२२मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गठन भयो । ठूलो संघर्षपछि यसले कानुनी मान्यता प्राप्त गर्यो । यो साझा विद्यार्थी संगठन थियो । यसले नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन थाल्यो । पार्टी प्रतिबन्धको स्थितिमा वैधानिक ढंगले चलिरहेको विद्यार्थी संगठन सबै प्रतिबन्धित दलहरुको प्रतिष्पर्धा स्थल बन्यो । नेपाली कांग्रेस समर्थित विद्यार्थीहरुले २०२६मा नेपाल विद्यार्थी संघ गठन गरे । यसबीच पञ्चायती व्यवस्थाले विभाजन र प्रतिष्पर्धाको लाभ लिने नीति बनायो । केन्द्र बिहीन स्ववियु स्वीकार गरियो र यी दुवै संगठन बाम तथा प्रजातान्त्रिक धाराका जनवर्गीय संगठनमा परिणत भए । यससँगै रायमाझी समूहले पनि नेपाल राष्ट्रिय विद्यार्थी फे्रडेशन नाममा आधिकारिक तथा निरन्तरताको दाबि गर्दै अर्को विद्यार्थी संगठन चलाउन थाल्यो । यसरी केन्द्रीय तहमै तीन वटा संगठन बने । अब स्ववियुहरुको राष्ट्रिय केन्द्र विघटित भयो । यो विद्यार्थी आन्दोलनको लागि ठूलो धक्का थियो । पछि मजदुर किसान पार्टीले क्रान्तिकारी विद्यार्थी संघ बनायो त्यसपछि ‘जनवर्गीय संगठनलाई संशोधनवादी’ मान्ने मालेले अनेरास्ववियु विभाजित गर्दै एकताको पाँचौ बनायो । आज देखिने बर्गेल्ती विद्यार्थी संगठनहरुको विभाजन र बहुकेन्द्रको शुभारम्भ यसरी भएको छ ।
दरबारियाहरुले पञ्चायतको पक्षमा २०२८ सालमा राष्ट्रवादी विद्यार्थी मण्डल गठन गरे र यो निरंकुशतन्त्रको लागि बौद्धिक खेताला उत्पादन गर्ने र लठैत ढंगले विद्यार्थी आन्दोलन दबाउने भूमिकामा देखाप¥यो । विद्यार्थी आन्दोलनमा गैरप्राज्ञिक आचरण र चरित्र संस्थागतरूपमा यसैमार्फत प्रवेश ग¥यो । यसरी विभाजनको बिउ नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघले भित्र्यायो भने लठैत संस्कृति राष्ट्रवादी विद्यार्थी मण्डलले ।
पञ्चायतकालमा स्ववियु निर्वाचन अवरुद्ध गर्ने तथा विद्यार्थी आन्दोलन र दवाबमा स्ववियु चुनाव गराइने स्थिति दोहोरिनै रह्यो । आज पनि त्रिभुवन विश्वविद्यालय यो ‘ह्याङ्ग ओभर’बाट मुक्त हुन सकिरहेको छैन । बिडम्बनाको कुरा, गणतन्त्रको पक्षमा लडेका दलहरुको आलोपालो सत्ता चलिरहँदा पनि स्ववियु चुनाव सकसको विषय भैरहेको छ । यसले पञ्चायती संस्कारबाट प्रजातान्त्रिक, गणतान्त्रिक दलहरु मुक्त नभैसकेको महसुस हुन्छ । साथै, अन्य विश्व व्यवस्था स्ववियु प्राथमिकतामा छैन ।
निरंकुश शासनको बिचमा पनि खुला र वैधानिक ढंगले प्रजातान्त्रिक प्रतिष्पर्धाको संस्कृति जोगाएर आएका विद्यार्थी संगठनहरु आफै किन निरिहताको स्थितिमा छन् ? विद्यार्थी आन्दोलनको कोणबाट यसको समिक्षा हुनु जरुरी छ । के यस पटकको स्ववियु चुनावमा यो विषयले प्रवेश पायो ? सकारात्मक ढंगले बहस आवश्यक छ । यसपटकको स्ववियु चुनाव सम्पन्न हुनु आफैमा विद्यार्थी आन्दोलनको एउटा विजय हुनेछ । यसलाई हेक्का राख्दै प्रतिष्पर्धालाई मर्यादित र मैत्रीपूर्ण बनाउन आवश्यक छ ।
आज अनलाइन पोलमा सेलिब्रेटीहरुलाई जिताउन विद्यार्थीहरुमा जति रुची देखिन्छ, आफ्नै भाग्य र भविष्यसँग जोडिएका क्याम्पस व्यवस्थापनदेखि पाठ्यक्रम, शिक्षा नीति र शैक्षिक क्यालेन्डर व्यवस्थित गर्ने आन्दोलनका अगुवाहरुको चुनाव गर्न त्यति रुची देखिन्न । विद्यार्थीहरुमा देखिने यो वितृष्णाको पनि खोजी हुनु आवश्यक छ । के विद्यार्थी संगठनहरुको र आम विद्यार्थीहरुको यता पनि ध्यान गएको छ ? यसको पनि जवाफ खोजिनु आवश्यक छ । यही नै वास्तवमा विद्यार्थी चुनावको सार्थकता हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies