–जयप्रकाश गुप्ता
पूर्वी नेपालमा ‘कोशी प्रदेश’ नामाकरण भएकोमा आदिबासी–जनजाति समुदायको भारी भरकम बिरोध प्रदर्शन चलिरहेको छ । विराटनगरसहित पूर्वी क्षेत्र केही समयदेखि नै तनावपूर्ण छ । तर, मुख्य सरोकारवाला प्रदेशका मुख्यमन्त्री आफु निरापद छु भनि देखाउन कुनै पहाडी जिल्लातिर लागेका थिए । उनले सार्वजनिकरूपमा भनेका छन्, “कोशी नामाकरणमा पुनर्विचार हुन सक्दैन ।”
हुन पनि संघीय सरकारका पक्षहरू र संघीय संसदका दलहरू सबै यस सवालमा निरपेक्षित रहेका छन् । प्रदेश सभामा यसबारे मतदान हुँदा कांग्रेस, एमाले र माओवादी केन्द्रको सहकार्य थियो । यिनीहरू कोशी नामको पक्षमा थिए । जनजाति–आदिवासी आन्दोलनका नेताहरू उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई नजिकको ठान्ने गरेका छन् । हालै उपेन्द्रले पूर्वको एक आदिवासी सभामा “मुलुकको नाम नेपाल रहनुभन्दा पहिले लिम्बुवानको अस्तित्व थियो” भनी बोल्दा ठूलो समर्थन पाएका थिए । यसपछि उपेन्द्र आफ्नो पार्टीबाट उपराष्ट्रपति बनाउन र आफु संसदमा पुग्ने तारतम्यका लागि काठमाण्डौं लागे । जहाँ उनी यसबारे मौन छन् ।
नेपालमा आज पर्यन्त भएको राजनीतिक परिवर्तनका लागि जुन–जुन पक्षहरू प्रभावशाली तथा निर्णायक रहेका छन् वा भनौं नेपालका स्थायी सत्ता बाहक शक्तिहरू ‘कोशी’ नामाकरणमा मौन समर्थन दिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विभिन्न पार्टीहरूमा रहेका आदिवासी–जनजाति नेताहरू मौन छन् । आदिवासी आन्दोलनका ठूला अभियन्ताहरू पर्शुराम तामाङ्ग, पासाङ्ग शेर्पा, सुरेश आले मगर, मल्ल के. सुन्दरहरूले केही बोल्दैनन् । पूर्वका विभिन्न खाले नगरपालिका र गाउँ पालिकाका प्रमुखहरू पनि लाटो भएका छन् ।
पूर्वी नेपालको बहुसंख्यक खस आर्य समुदाय ‘कोशी’ नामको पक्षमा छन् । झापा, मोरङ, सुनसरी र उदयपुरका उल्लेखनीय मधेसी समुदायले पनि कोशी नामका बारेमा खासै आपत्ति व्यक्त गरेको देखिन्न् । यस क्षेत्रका थारू समुदाय पनि कोशी नामको विरूद्धमा मुखर छैनन् । यसरी विचार गर्दा, कोशीको पक्षमा रहेको ध्रुविकृत जनमत बलियो नै देखिन्छ ।
यस्तो अवस्थामा संघीय सरकारको निर्णय महत्वपूर्ण हुन्छ । स्वभावतः संघीय सरकार तथा संघीय शक्तिको रूझान कोशी नाम कै पक्षमा रहेको स्पष्ट छ । यसर्थ, यो निर्णयलाई हेर्दा भन्न सकिन्छ, शायद यो नाम फेरिन्न होला । तर पनि पूर्वका आदिवासी जनजातिहरूले दरो आन्दोलन थालेका छन् । मधेस प्रदेश पश्चिमका प्रदेशहरूको नामाकरण गरिँदा ताम्सालिङ्ग, तमुवान, मगरात तथा खसानको नाममा पहिचानको प्रदेश माग्नेहरूले भने कुनै आपत्तिसमेत जनाउन सकेनन् । यस अर्थमा पहिचानको माग एवम् अपेक्षालाई मुखरित गर्नेमा मधेस पछि कोशी प्रदेशका आदिवासी–जनजाति समुदाय जीवन्त देखिएका छन् । तर, यिनीहरू कहाँ चुके त ?
विगतमा जसरी पहिचानको मुद्दा उठिरहेको थियो, प्रदेशहरुको नामाकरणको सन्दर्भमा ति हराएका छन् । ती एक अर्थमा नसुनिने खालका बनेका छन् । जसले मुलुकमा पहिचानवादी आन्दोलन क्रमशः किनारा लाग्दै गरेको पनि देखाउँछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies