काठमाडौंः हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ ।
काठमाडौं उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने यो पर्व मनाइँदैन । हाँडीगाउँमा भने लुकुमाद्य : कारुपमा लुकाएर राखिएको देवतालाई निकालेर मंगलबार पूजा आराधना गरिने परम्परा रहेको काठमाडौं महानगरपालिका–५ का अध्यक्ष बीरेन्द्र प्रजापतीले जानकारी दिए ।
आजको एक हप्तामा हाँडीगाउँमा लिङ्गो उठाइन्छ । लिङ्गो उठाएको एक हप्तापछि गहनापोखरीमा गहना खोज्ने जात्रा गर्ने गरी सबै तयारी गरिएको जानकारी पनि उनले बताए । जात्राका लागि पुजारी समूह, बाजा बजाउने समूहलगायतले भूमिका निर्वाह गर्नेछन् । डङ्गोल, प्रजापतिलगायत जातिको पनि जात्रामा फरक–फरक भूमिका हुने गरेको छ । जात्राका लागि बाजा, बत्तीलगायत व्यवस्थित गरिने वडा सदस्य विजयप्रकाश कर्माचार्यले जानकारी दिए ।
जात्राका नाममा रहेको गुठी जग्गा बेचिएपछि जात्राका लागि महानगरपालिकाले पनि सहयोग गर्ने गरेको छ । गुठी संस्थानबाट पूजा सामग्री र बलि सामग्रीको व्यवस्था हुने गरेको वडा कार्यालयले जनाएको छ । हाँडीगाउँ काठमाडौं उपत्यकाकै पुरानो सहर भएकाले पर्यटकीयरुपमा यसको विकास गरिने भएको छ ।
महानगरपालिकाको ११औँ नगर परिषद् बैठकले हाँडीगाउँलाई पूर्वलिच्छविकालीन सहरकै स्वरुपमा विकास गर्न विभिन्न गतिविधि गर्ने निर्णय गरेको पनि वडाध्यक्ष प्रजापतीले बताए । महानगरपालिकाले हाँडीगाउँका विषयमा छुट्टै कार्यविधि बनाउन लागेको जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies