थ्री नेशन प्रधानमन्त्री कप फुटबलका लागि सात नयाँ खेलाडी समेटेर राष्ट्रिय टीम घोषणा भएको छ । मुख्य प्रशिक्षक भिन्सेञ्जो अल्बर्टोले सात नयाँ खेलाडी समेटेर राष्ट्रिय टीम घोषणा गरेका हुन् । एकैपटक सात नयाँ खेलाडी समेटेर नेपालले कुनै विशेष सन्देश दिन खोजेको भने होइन । बरू राष्ट्रिय टीमका भरपर्दा खेलाडी अवसरको खोजीमा विदेशिएकाले नयाँ खेलाडीलाई ल्याउनु परेको प्रष्ट छ । यो तथ्य एन्फा र प्रमुख प्रशिक्षकले चाहेर पनि लुकाउन सक्दैनन् । किनकि पछिल्ला समय लगातार नेपालका भरपर्दा र राष्ट्रिय टीमका खेलाडीले देश छोडेको खबर सार्वजनिक भइरहेका छन् । देशलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका खेलाडीहरुको अहिले अष्ट्रेलियामा पूरा सेट नै तयार भएको देखिन्छ । तर नेपालमा राष्ट्रिय टीम निर्माण गर्न नयाँ खेलाडीहरु समेट्नुपर्ने बाध्यता देखिन्छ ।
यसको ठीक उल्टो दृष्य नेपाली क्रिकेटमा देखिएको छ । राष्ट्रिय टीमका क्रिकेटरहरुलाई राष्ट्रपति, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्मान गर्ने लहर चलेको छ । कतिपय खेलाडीले ठूलै पुरस्कार पाइरहेका छन् । वीरगञ्ज, विराटनगर, बुटवल जस्ता स्थानीय तह अनि मधेश र सुदूरपश्चिम सरकारले आफ्नो क्षेत्रका खेलाडीलाई विशेष सम्मान दिइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट टीमसँग उभिएर तस्वीर खिचाउनेदेखि नगदले सम्मान गरेका थिए । यसको पछाडि नेपाली क्रिकेटले अविश्वासनीय प्रदर्शन गर्दै ओडीआईको मान्यता कायमै राख्नु र विश्वकप छनोटमा पुग्नु थियो ।
यी दृष्यको सन्देश हो, खेलाडीले राम्रो प्रदर्शन गर्दा पुरस्कार होड दिने अनि दीर्घकालीन विकासमा ध्यान नदिने । किनकि क्रिकेटकै जस्तो दृष्य केही पहिले फुटबलमा पनि देखिने गरेको थियो । राम्रो खेलेर फर्किएका खेलाडीलाई हतार सम्मान र पुरस्कारको घोषणा हुन्थ्यो । तर खेलाडीको उचित व्यवस्थापन र खेल विकासमा आवश्यक ध्यान नपुग्दा फुटबल क्षेत्र अगाडि बढ्न सकेको छैन । लगातार ओरालो लागेको नेपाली फुटबलमा खेलाडीहरुको आकर्षण समेत देखिएको छैन । यसको बिपरीत क्रिकेटको क्रेज बढेको छ । लोकप्रियताकै निम्ति तहगत सरकारले सम्मान र पुरस्कार घोषणा गरिरहेका छन् । तर बिर्सन नहुने पक्ष फेरि पनि दीर्घकालीन विकास नै हो । नत्र अहिले क्रिकेटका निम्ति भइरहेको सम्मान समायान्तर बेवास्तामा परिणत हुन सक्छ । तसर्थ खेल क्षेत्रमा भौतिक पूर्वाधार, आवश्यक बजेट विनियोजन, जनशक्ति निर्माण, नियमित प्रतियोगिता र आवश्यक सम्मानको व्यवस्था सरकारको प्राथमिकतामा पर्नु जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies