–बिदुर दाहाल
कुन क्याम्पसमा, कुन प्यानलले जीत हाँसिल ग¥यो ? अखिल वा नेविसंघ वा क्रान्तिकारी वा अरु ? स्ववियु निर्वाचन विद्यार्थीको चुनाव भने पनि पार्टीकै अघोषित चुनाव बनेको छ । कुनमा कसले बाजी मा¥यो ? कुन क्याम्पसमा कुन पार्टी बलियो ? भन्ने मापन भएको छ ।
चैत्र ६ गते सम्पन्न भएका क्याम्पसको नतिजा आइरहँदा र विगतको अभ्यास हेर्दा, नतिजाबाट उत्साहित हुन सकिँदैन । सीमित विद्यार्थीले राजनीति गर्ने; चुनावताका केही सय विद्यार्थी भर्ना गर्ने र तिनिहरुकै सहायताले चुनाव जित्ने परिपाटी विकास भएको छ । खास विद्यार्थीहरु मतदानमा भाग लिँदैनन; उनीहरुमा चासो कम छ । अहिले ५० प्रतिशत देखि ६० प्रतिशतसम्म मतदान भएको भनिएको छ । यो तथ्यांकले वास्तविक विद्यार्थी मतदान गर्दैनन् र उनीहरुलाई पार्टीको राजनीतिप्रति रुची छैन भन्ने अर्थ आउँछ । अहिलेको स्ववियु र विद्यार्थी संघसंगठनहरु शैक्षिक सुधार होइन; पार्टी बलियो बनाउने काममा लागेका छन् । एक हिसाबले शैक्षिक संस्थामा पार्टीले कब्जा जमाउने प्रयास गर्दै छन् । स्ववियु; नेता कार्यकर्ता उत्पादनभन्दा अरु बढी हुनै सकेन ।
वास्तवमा दलमाथि प्रतिबन्ध लागेको र प्रजातान्त्रिक व्यवस्था नभएको बेला स्वतन्त्र विद्यार्थी युनियन समयको माग थियो । समय परिवर्तन भएको छ; समयले कोल्टे फेरेको छ । झण्डै आधा शताब्दी अघिको सन्दर्भ अब परिवर्तन गर्न जरुरी छ । परिवर्तन नगर्ने हो भने विश्वविद्यालयको अर्थ हुनेछैन । वर्तमानको स्ववियु शैक्षिक रूपान्तरणको सहयोगी बनेन बरु शैक्षिक निकायमा पार्टीको राजनीति घुसाउने निकाय बन्यो । यसले समानान्तर सत्ता चलाउने प्रयास गर्दैछ । स्ववियु शैक्षिक उन्नयनको हिस्सा बन्नु पर्नेमा कहिल्यै त्यसो गरेन । स्ववियुले शैक्षिक सुधारमा भूमिका खेल्नै सकेन । मातृ पार्टीलाई टेवा दिने निकायभन्दा बढी हुन सकेन । विश्वविद्यालयमा शैक्षिक सुधारको आशा राख्नेका लागि यो बिडम्बना हो । के अब चाहिँ निर्वाचित स्ववियुले गर्ला ? वास्तवमा निर्वाचनबाट आएको स्ववियु पनि बिगतको स्ववियुभन्दा फरक हुने छाँटकाँट छैन । त्यसैले अहिलेसम्म जे जति प्रयास र अभ्यास भए ती फोहोरमा फोहोर फाल्नकै लागि भएका छन् ।
परम्परागत स्ववियुलाई समय सापेक्ष बनाउने सोच न त्रिभुवन विश्वविद्यालयको छ न सरकारको छ, न राजनीतिक पार्टीको । देशमा गुणस्तरीय शिक्षा नहुँदा र शिक्षा रोजगारीसँग नजोडिँदा विदेशीने विद्यार्थीको लर्को थामी सक्नु छैन । यो कुराले कसैलाई पोलेन । सबै मस्ताराम छन् । स्ववियुले यसको उत्तर आजसम्म खोज्ने प्रयास पनि गरेन । गर्ने पनि छैन ।
स्ववियु वा एकेडेमिक काउन्सिलको माध्यमबाट विश्वविद्यालयको शैक्षिक गुणस्तर र शैक्षिक सुधार गर्न सकिन्छ । स्ववियुको परम्परागत संरचना परिवर्तन गर्न चाहेमा यो काम कठिन छैन । जेठो त्रिभुवन विश्वविद्यालयले यस तर्फ पहल कदमी लिए राम्रै हुन्छ । बरु छिटो गरोस् ।
हरेक सेमेष्टरबाट वा हरेक वार्षिक परीक्षाबाट उत्कृष्ट नतिजा ल्याएका विषय र कार्यक्रमका उत्कृष्ट विद्यार्थी यसका पदेन सदस्य रहने गरी परम्परागत स्ववियुलाई रुपान्तरण गरी ‘एकाडेमिक काउन्सिल’ बनाई शैक्षिक उन्नयनको हिस्सेदार बनाउन सकिन्छ । अहिलेको स्ववियु र त्यसका पदाधिकारीभन्दा उत्कृष्ट नतिजा ल्याएका व्यक्तिहरुबाट शैक्षिक सुधारको आशा गर्न सकिन्छ । शैक्षिक सुधारमा ती उत्कृष्ट दिमाग सहयोगी हुने छन् । क्याम्पसमा १०औँ वर्ष कुरेर स्ववियु पदाधिकारी भएकाबाट शैक्षिक उन्नयनको आशा गर्नु अब बेकार छ ।
विश्वविद्यालयहरुका अरु समास्या नभएका होइनन्, समस्याको चाङ्ग छ । शिक्षकका समस्या छन् । कर्मचारीका समस्या छन् । व्यवस्थापनका समस्या छन् । तिनिहरुलाई पर राखेर स्ववियु चुनाव र यसको सन्दर्भमा कुरा गरिरहँदा त्यो निकायबाट पनि केही सकारात्मक आशा गर्न सकिन्छ । तर, त्यसलाई रुपान्तरण भने गर्नैपर्ने छ । त्यसो भएमा त्यो निकायले पनि शैक्षिक सुधारमा टेवा दिन सक्नेछ । हामी आशा गर्न सक्छौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies