काठमाडौं : वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचणड'ले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य शुभारम्भ गरेका हुन् ।
इजरायलमा रहेकी मञ्जु थपलियाको इनरोल रजिस्ट्रर गरिएको छ। प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आवद्ध भएको परिचयपत्र हस्तान्तरण गरे ।
प्रधानमन्त्रीले परिचयपत्र हस्तान्तरण गरेसँगै अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि आवेदन दिन पाउने बाटो खुला भएको छ ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारमा जाने युवालाई विभिन्न बहानामा दुःख दिने कामको अन्त्य हुने बताए । 'अब दुःख दिने काम अन्त्य भएको छ । वैदेशिक रोजगारीका लागि जाने युवालाई सहज वातावरण हुनुपर्छ,' उनले भने ।
विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ । कोषमा आवद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेको उल्लेख गर्दै उनले यसले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कोषमा श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत् सहभागी हुन सकिने कोषका निर्देशक डा. रोशन कोजुले जानकारी दिए ।
यस्तै कार्यक्रममा मुख्यसचिव डा शंकरदास वैरागी गैरआवासीय नेपालीको सीप र पुँजीलाई नेपालको समृद्धिमा लागाउन सरकारले सहजीकरण गरेको धारणा राखे । अनौपचारिक र स्वरोजगार श्रमिकका लागि कुनै पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर रहेको अवस्थामा कोषले ल्याएको योजना नयाँ शुरुवात भएको बताए ।
त्यस्तै कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले यस योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताए । विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन पनि यस योजनाले सघाउ पुर्याउने उनको विश्वास छ ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम शक्तिको ठूलो हिस्सालाई यस योजनाले समेट्ने बताए । योजनाबाट लाखौं श्रमिक र आश्रित परिवार लाभान्वित हुने जनाउँदै उनले अप्ठ्यारो पर्दा सामाजिक सुरक्षा योजनाले राहत दिने बताए ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आवद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उक्त योजना शुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।
वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको छातामुनि ल्याउन कोषले यसअघि नै अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ ।
उक्त कार्यविधिले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारमा रहेका लाखौँ श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउने बाटो खोलेको थियो ।
नयाँ श्रम स्वीकृति लिनेलाई बुधबारदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ । हाल दैनिक करिब दुई हजार जनाले श्रम स्वीकृति लिने गरेका छन् । श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्ने छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले छ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउने प्रवक्ता पन्थीले बताए । विदेशमा रहेका श्रमिकले कोषको वेबसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies