प्रेमचन्द्र झा/मध्यान्ह
राैतहट : जिल्लाको दुई पालिकामा सूचनाका लागि आन्दोलन भइरहेको छ । गरुडा नगरपालिकामा मेयरमा पराजित दीपक यादव ३ दिनदेखि सूचना पाउनका लागि आमरण अनशन बसेका छन् । अनशन बसेका यादवले स्थानीय प्रभावशाली व्यक्तितव तथा राजनीतिककर्मीकाे समर्थन पाइरहेका छन् ।
अनशन बसेका यादवकाे स्वास्थ्य अवस्था कमजाेर हुन थालेपछि साेही नगरपालिकाका नगरप्रमुख कन्तमणिप्रसाद जयसवालले अनशनस्थलमा यादवलाई भेटेर अनशन ताेड्न आग्रह गरेका छन् । नगरप्रमुख जयसवालले नगरवासीको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोही अनशन स्थलमा गई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले यादवलाई भेटेर मागेजति सबै सूचना दिने प्रतिबद्वता व्यक्त गर्दै अनशन ताेड्न आग्रह गरेका छन् ।
यादवलाई गरुडा नगरपालिकाका उपप्रमुख पुनम चाैधरीले पनि भेटेर अनशन ताेड्न अनुराेध गरेकी छन् । तर आफूले मागेको १२ बुँदे सूचना नपाए अनशनबाट टसमस नहुने, बरु प्राण त्याग्ने चेतावनी यादवले दिएका छन् ।
यता बृन्दावन नगरपालिकामा माग गरेअनुसारको सूचना पाऊँ भन्दै रिले अनशन शुरु गरिएको छ । नेपाली कांग्रेसका नेता राम स्नेही यादव, नेकपा एमालेका नेता प्रेम शंकर प्रसाद यादव, कप माओवादी केन्द्रका नेता राम प्रसाद पटेल, जनता समाजवादी पार्टीका नेता शेख हकिम, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पवन यादवसहित केही निर्वाचित वडाध्यक्षहरु एकजुट भएर रिले अनशन बसेका हुन् । वडा नं २ का अध्यक्ष सिकिन्द्र पटेल, वडा नं ३ का अध्यक्ष हरिनारायण साह, वडा नं ४ का अध्यक्ष श्याम नन्दन प्रसाद यादव र वडा नं ५ का अध्यक्ष फेकन दाससहितका निर्वाचित वडा सदस्यहरु पनि रिले अनशनमा छन् । उनीहरुले नगरप्रमुख विनाेद पटेल कुर्मीले भ्रष्टाचार गरेको आरोप समेत लगाएका छन् ।
नगर प्रमुख विनोद पटेलले चैत ६ गते बोलाएको कार्यपालिका बैठकमै ४ जना वडा अध्यक्षले हाेहल्ला गर्न थालेपछि बैठक स्थगित गर्नु परेको थियो । बैठकस्थल बृन्दावन नगरपालिका कार्यालयबाट नगरप्रमुख पटेललाई सुरक्षितरुपमा घर पुर्याउन प्रहरीले निकै बल प्रयोग गर्नुका साथै जनतामाथि एक सेल आश्रु ग्यास पड्काएका थिए । नगरप्रमुखले कार्यपालिका बैठकमा झेल्नु परेका समस्यालाई उद्धृत गर्दै प्रेस विज्ञप्ति निकाली सूचना दिन असमर्थता जनाएपछि सूचना मागकर्ता आन्दोलित भएका छन् ।
पूर्वनगरप्रमुख राम स्नेही यादव, नगरप्रमुख पदका उम्मेदवारद्वय प्रेमशंकर प्रसाद यादव र रामप्रसाद पटेल र वडा अध्यक्ष ४ जना सिकिन्द्र पटेल, हरिनारायण साह, श्याम नन्दन यादव र फेकु दासले २०७९ चैत्र १४ गते संयुक्तरुपमा निवेदन दिई १७ बुँदे सूचना माग गरेका थिए । सोही बमोजिमको सूचना नपाएसम्म आन्दोलन जारी राख्ने पूर्वनगरप्रमुख यादवले बताए । उनले सूचना दिन अझै ढिलासुस्ती गरे आमरण अनशन बस्ने चेतावनी समेत दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies