एजेन्सी : भारतीय कांग्रेस आईका नेता राहुल गान्धीलाई चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा सुरतको एक अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । तर उनले तत्काल जमानत पनि पाएका छन् ।
सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।
एक भाषणमा गान्धीले ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ भनेर बोलेका थिए । गान्धीले कर्नाटकमा आयोजित चुनावी सभामा सो अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।
मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए । अदालतले गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपिल गर्न ३० दिनको समय दिएको छ ।
गान्धीले १० हजार रुपैयाँ धरौटीमा जमानत पाएका हुन् । वर्तमान सांसद भएकाले गान्धीको सांसद अहिले खतरामा छैन ।
गान्धीविरुद्ध भारतीय दण्डसंहिताको धारा ४९९ र ५०० अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । भारतीय दण्डसंहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ ।
सजायको घोषणापछि निवेदक पूर्णेश मोदीले सञ्चारमाध्यमसँग भने, 'हामी यो निर्णयलाई हृदयदेखि स्वागत गर्छौं । दुई वर्षको सजायको घोषणामा तपाईं सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्न होइन, यो सामाजिक आन्दोलनको कुरा हो ।'
राहुल गान्धीका वकिल किरीट पानवालालाई उद्धृत गर्दै, समाचार एजेन्सी पीटीआईले भनेको छ, 'मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) एचएच वर्माको अदालतले गत हप्ता यस मामिलामा दुवै पक्षको तर्क सुनेको थियो र २३ मार्चको मिति दिएको थियो ।'
गान्धी आफ्नो बयान रेकर्ड गर्न अक्टोबर २०२१ मा सुरत अदालतमा हाजिर भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies