म्याग्दीः सदरमुकाम बेनीमा यस वर्ष कटान र बाढी नियन्त्रण गर्न रु. ५० करोड लागतमा आठ योजना सञ्चालन भएका छन् ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले यसपाली बेनी र आसपासका क्षेत्रमा करिब रु. ५० करोड लागतमा नदी नियन्त्रण योजना कार्यान्वयन भएको जनाएको छ ।
परियोजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटानको उच्च जोखिममा रहेको बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न आठ प्याकेजमा काम भइरहेको जानकारी दिए । ‘एक वटा गत वर्षको र सात यस वर्षकामध्ये छ प्याकेजको ठेक्का सम्झौता भएर काम शुरु भइसकेको छ, म्याग्दी नदी किनारमा तीन र कालीगण्डकीमा पाँच ठाउँमा कटान नियन्त्रण गर्ने संरचना निर्माण गर्न लागिएको हो’, उनले भने ।
नौ करोड ४५ लाखमा ठेक्का सम्झौता गरेको रौताह–बिएनबी कन्ट्रक्सन जेभीले कालीगण्डकी किनारमा एक सय ६४ मिटर लामो र आठ मिटर अग्लो काउन्टर फोर्ट प्रविधिको पक्की पर्खाल निर्माण गरिरहेको छ । सो ठेक्कामार्फत गत वर्ष कालीपुलको कालीगण्डकी किनारमा ८० मिटर पक्की र मङ्गलाघाटको म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोजिट पर्खाल निर्माण भएको थियो ।
मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा दुई प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल बनाउन पाँच करोड ७७ लाखमा सुप्रिम कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले जानकारी दिए ।
बेनी नगरपालिकाको वडा नम्बर २ स्थित बेनी–बागलुङ सडकको भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि ७५ मिटर लामो कम्पोजिट पर्खाल बनाउन दुई करोड ३० लाखमा ठेक्का सम्झौता गरेको हिमालयन कन्ट्रक्सनले तीव्रताका साथ काम गरिरहेको छ ।
पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीस्थित कालीगण्डकी किनारमा ८० मिटर पर्खाल बनाउन तीन करोड २० लाख लागत अनुमान गरिएकामा ठेक्का सम्झौताको प्रक्रियामा छ । बेनी नगरपालिका–९ स्थित राहुघाट नदी किनारमा ९० मिटर लामो पर्खाल बनाउन भाग्यलक्ष्मी बिआरटिले दुई करोड ६८ लाखमा ठेक्का लिएको छ ।
जलजलाको बगरफाँटमा कालीगण्डकी किनारमा ८५ मिटर लामो पर्खाल बनाउन तीन करोड २० लाखमा ठेक्का लिएको माछापुच्छ्रे निर्माण सेवाले पनि काम गरिरहेको छ । कालीगण्डकी र राहुघाट नदीको दोभानस्थित जलजला–२ को राममन्दिरमा पक्की पर्खाल बनाउन माछापुच्छ्रे निर्माण सेवाले चार करोड ३२ लाखमा ठेक्का लिएको छ ।
मङ्गलाघाटका ठेकेदारले केही दिनमा कार्यक्षेत्रमा आउने तयारी गरेको र अन्य ठाउँको ठेक्का लिएका निर्माण कम्पनीले बर्खाअघि नै सम्पन्न गर्ने लक्ष्यसहित मजदुर र उपकरण परिचालन गरिएको जनाएका छन् । रातिको समयमा पनि काम गरिरहेका छन् ।
योजनालाई छिटो, छरितो र गुणस्तरीय बनाउन परियोजनाका प्राविधिकको निगरानीमा काम भइरहेको छ । बेनीका नगर प्रमुख सुरत केसीले नदी नियन्त्रण योजनालाई महत्व र प्राथमिकता दिएर अनुगमन, सहजीकरण र निगरानी गरिएको बताउनुभयो । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies