गण्डकीः सामुदायिक वनलाई आयआर्जनसँग जोड्दै समृद्धिको आधारकारुपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी वक्ताले वनलाई समृद्धिसँग जोडपर्नेमा जोड दिएका हुन् ।
आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले अधिवेशनको उद्घाटन गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर वन पैदावारको सहजरुपमा उपयोग र निकासी गरी आम्दानीको स्रोत बनाउनुपर्ने आवश्यकता औँल्याए ।
गाउँपालिकाले स्थानीय वन ऐन निर्माण गरिसकेको छ भने कार्यविधि र नियमावली बनाउने तयारी गरिरहेको जानकारी गराउँदै उनले आवश्यकता अनुसार परिमार्जन गर्दै उपभोक्ता समूहसँगको सहकार्यमा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष पौडेलले विभिन्न सङ्घ संस्थालाई मानवीय, सामाजिक र आर्थिक विकासमा उपयोग गर्दै पालिकाको समग्र विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले कृषि र उद्यमसँग वनलाई जोड्नुपर्ने आवश्यकता औँल्याए ।
गाउँपालिकाका उपाध्यक्ष एवम् सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशकी सदस्य सीता थापाले नेतृत्व विकाससँगै आयआर्जनका कार्यक्रम सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्यद्वय तारा शर्मा र हरि बाँस्तोलाले उपभोक्ताले संरक्षण, प्रवर्द्धन र विकासमा अमूल्य योगदान पुर्याउँदै वनलाई आम्दानीको स्रोतकारुपमा विकास गर्न तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको बताए ।
सामुदायिक वन उपभोक्ता महासङ्घ स्याङ्जाका अध्यक्ष दोवबहादुर कार्कीले सामुदायिक वनको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै वन तथा वातावरण संरक्षणमा स्थानीय तह जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए ।
स्थानीय महासङ्घका अध्यक्ष देवबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश महासङ्घ सचिवालय सदस्य उमाकान्त शर्मा, सदस्य आँशु विश्वकर्मा, पुतलीबजार महासङ्घका उपाध्यक्ष तिलकुमारी रेग्मी, स्थानीय महासङ्घ उपाध्यक्ष भक्तबहादुर केसी, सचिव सीता नेपालीलगायतले सामुदायिक वनको महत्वमाथि चर्चा गरेका थिए । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies