सरिता पराजुली/मध्यान्ह
जुम्ला : जुम्लाको तातोपानी गाउँपालिकाले दोस्रो चौमासिकमै ६० प्रतिशत बढी योजना सम्पन्न गरेको छ । मंगलबार सम्पन्न दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइमा गाउँपालिकाले प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार गाउँपालिकाले दोस्रो चौमासिकमै ६० प्रतिशत बढी योजना सम्पन्न गरेको हो ।
पालिकाभर कुल १ सय ६२ वटा योजना रहेकोमा दोस्रो चौमासिकसम्म ६१ योजना सम्पन्न भइसकेको सबइन्जिनियर कृष्णहरि अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार सम्पन्न भएका ६१ योजनामध्ये ३४ योजनाको भुक्तानीसमेत भइसकेको छ । २७ योजना भुक्तानी प्रक्रियामा रहेको उनले जानकारी दिए ।
योजनागत हिसाबमा ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेको उनको भनाइ छ । काम सम्पन्न भइसकेका, तर उपभोक्ता भुक्तानी लिन नआएकाले पनि वित्तीय प्रगति कम भएको उनले बताए । यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका विद्यालय भवन निर्माण द्रुत गतिमा हुन नसकेको उनले स्वीकारे गरे ।
गाउँपालिकाले पुँजीगत खर्च बढाउन तथा असारे विकासको अन्त्य गर्न कार्यसम्पादन सम्झौतासमेत गरेको थियो । वैशाख मसान्तमै योजना निर्माण सक्ने उद्देश्यअनुरूप जनप्रतिनिधि, कर्मचारी सबै खटिँदा दोस्रो चौमासिकमा तातोपानी गाउँपालिका भौतिक विकासमा जिल्लामै अब्बल देखिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।
उनका अनुसार काम सम्पन्न भई अनुगमनसमेत भइसकेका योजनाको भुक्तानी लिन उपभोक्ता नआउँदा विकास खर्च कम देखिएको हो । यद्यपि, नियमित भुक्तानीको काम भइरहेको छ । वैशाखसम्म योजना निर्माण र भुक्तानी सक्ने लक्ष्यअनुसार नै काम भइरहेको उनले बताए ।
सार्वजानिक सुनुवाइ कर्याक्रममा तातोपानि गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भौतिक विकाससँगै पालिकाको सेवा प्रवाह, गुनासो सुनुवाइलगायतका कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाले महिला सशक्तीकरण, उद्यमशीलता, न्याय सम्पादनको कार्यलाई प्राथमिकता दिएको उपाध्यक्ष रेवती रावलले बताइन् । पाँच वर्षमा महिला उद्यमशीलताका क्षेत्रमा उल्लेखनीय कार्य हुने उनले दाबी गरिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies