काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सुजलले बिहीबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
अस्ट्रेलिया जानुअघि सुजलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । सुरक्षित भविष्यका लागि सुजल बिहीबार राति अस्ट्रेलिया प्रस्थान गर्दै छन् । मछिन्द्र फुटबल क्लबबाट नेपालको घरेलु फुटबल खेलिरहेका नेपाली टिमका रक्षक रजिन धिमालसँगै उनी अस्ट्रेलिया उड्न लागेका हुन् ।
'मेरा सम्पूर्ण सुभचिन्तक, समर्थक र नेपाली फुटबल प्रेमीहरु माझ मेरो न्यानो नमन ११ वर्ष, ५१ खेल आफ्नो देशको झण्डा छातीमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केही खुसीका पल त केही दुःखका, कतै उपाधि त कतै निराश क्षण लगायत यी सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो सन्यास घोषणा गर्दछु । यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरें । हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरु धेरै क्षमतावान छन् । र, म विस्वस्त छु कि भाइहरुले देशको झण्डा झुक्न दिने छैन । अब पालो नयाँ पुस्ताको हो,' सुजलले लेखेका छन् ।
सुजलले सन्यासका लागि यो उपयुक्त समय भएको बताएका छन् । 'सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विश्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिँदै यहाँसम्म पुर्याउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकहरुलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो । जय नेपाली फुटबल ।'
सुजलले सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । नेपालले २०१६ मा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपको उपाधि जित्दा सुजल टिममा थिए । नेपालमा आयोजना भएको १३ औं सागमा सुजलको कप्तानीमा नेपालले स्वर्ण पदक जितेको थियो ।
सुजल ए डिभिजन लिगमा लगातार ४ पटक च्याम्पियन बन्ने ३ खेलाडी मध्ये एक हुन् । सुजलले मनाङ मर्स्याङ्दी क्लबबाट दुई पटक र मछिन्द्रबाट दुई पटक लिग उपाधि जितेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies