काठमाडौं : तेस्रो बुद्ध नाटक महोत्सव २०२३ यही चैत १३ गतेबाट शुरु हुने भएको छ । यो नाटक महोत्सवका लागि अहिले ७ वटा नाटकको मञ्चन कार्यशाला भइरहेको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका अनुसार यही १३ चैतबाट १७ चैतसम्म पाँच दिन बुद्ध नाटक महोत्सव नाचघरकै मेघा हलमा आयोजना हुने छ ।
महोत्सवमा प्रदर्शन गरिने नाटकहरुमा माया थापाको निर्देशनमा चण्डालिका, प्रशान्त बगालेको निर्देशनमा थ्रि लाफिङ मँक, निकिता गुरुङको निर्देशनमा प्रतिबिम्ब, गीता थापाको निर्देशनमा पट्टाचार, वर्षा भण्डारीको निर्देशनमा पश्चाताप, सस्मिला मगरको निर्देशनमा अम्रपाली र बीरेन्द्र हमालको निर्देशनमा चक्षु रहेका छन् ।
यी सबै नाटकहरुमा यसपटक सांस्कृतिक संस्थानका कलाकार तथा त्यहाँ अभिनय, नृत्य, गायन, वाद्यवादन सिकिरहेका विधार्थीहरुले अभिनय गर्ने भएका छन् । ‘महोत्सवको अन्तिम तयारी हुँदैछ । सबै नाटकको अभ्यास सम्पन्न भएको छ र कलाकारहरु आ–आफ्नो नाटक प्रस्तुत गर्न आतुर छन्,’ महाप्रबन्धक राईले भने ।
सांस्कृतिक संस्थान र डबली थियटरको संयुक्त आयोजनामा यो नाटक महोत्सव हुँदैछ । महोत्सवको उद्देश्यबारे आयोजक रंगकर्मी तथा डबली थिएटरका अध्यक्ष पुष्कर गुरुङले भने, ‘गौतम बुद्ध आफैंमा शान्तिका दूत हुन् र उनीमाथि नाटक मञ्चन गरेर समाजमा सकरात्मक सन्देश फैल्याउने उद्देश्य सहित महोत्सव ४ वर्षअघिबाट शुरु गरिएको हो ।’ कोरोनाको कारण एक वर्ष रोकिएपनि त्यसपछि फेरि गत वर्षबाट यसलाई निरन्तर गर्दै आएको पनि उनले बताए ।
सो महोत्सवका लागि चयन गरिएको नाटकको बारेमा जानकारी दिँदै महोत्सव क्रियटिभ डिरेक्टर बीरेन्द्र हमालले भने, ‘हामीले यो महोत्सवका लागि केही महिनाअघि १५ दिनको बुद्ध नाटक लेखन कार्यशाला आयोजना गरेका थियौं । सो कार्यशालामा अधिकांश महिलाहरु र थोरै मात्र पुरुष रंगकमर्की सहभागी थिए ।’
त्यही नाटक लेखन कार्यशालामा लेखिएका करिब एक दर्जन नाटकबाट आफूहरुले ७ वटा नाटक यो महोत्सवका लागि चयन गरेको पनि हमालले बताए । उनले भने, ‘हामीले यो महोत्सवमा निर्देशकहरुलाई निर्देशनमात्र नभएर सेट डिजाइन, लाइट डिजाइन र कस्ट्युम डिजाइनको जिम्मेवारी पनि दिएका छौं । आफैंले लेखेको नाटकलाई पूर्णरुपमा मञ्चन गरेर दर्शकमाझ ल्याउँदा के–के काम गर्नुपर्ने रहेछ भनेर यो सिक्ने अवसर पनि हो ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies