–चन्द्रलाल तामाङ
नेपालको आँखा स्वास्थ्य सेवालाई आज स्वदेश र विदेश सबैतिर सराहना गरेको पाइन्छ । स्वास्थ्य सेवाको क्षेत्रमा मुलुकले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि नै आँखा स्वास्थ्य सेवामा आएको अभूतपूर्व विकास र विस्तार हो । आँखा स्वास्थ्य सेवा पुर्याउन नेपालमा धेरै व्यक्ति, संघ, संस्था, सरकार, समाज सेवी, दातृ निकाय, संचार जगत, चिकित्सक, कर्मचारी आदि सबैको योगदान रहेको छ । आँखा सेवासँग सम्बद्ध सबै पक्षको सामूहिक कठिन परिश्रम, अनवरत लगन र समर्पणबाट नै आजको स्थितिमा पुगेको हो । नेपालमा आँखा सेवालाई संस्थागतरूपमा विकास गर्न लागिपरेका हिजोको महारथीहरुको योगदान अतुलनीय रहेको छ ।
आँखा सेवामा भएको विकास र आजको उपलब्धिहरुको चर्चा गरिरहँदा हिजोको इतिहासलाई पनि भुल्न हुन्न । आँखा स्वास्थ्यको क्षेत्रमा केही प्रगति वि.सं. २०२० को दशकमा भएको थियो । सो बेला नेपालीहरु आँखाको उपचारको लागि भारत नै जाने गर्दथे भने आर्थिक क्षमता नभएकाहरु उपचार नपाएर दृष्टिबिहीन भइ जीवन कष्टपूर्ण ढंगले व्यतित गर्दथे । वि.सं. २०२० को दशकदेखि नै मुलुकमा विभिन्न जिल्लामा आँखा शिविर संचालन भइ नेत्र परीक्षण, सानो तिनो शल्यक्रिया, मोतियाबिन्दूको शल्यक्रिया हुन थालेको थियो र सेवाग्राहीको अनुपातमा सेवा ज्यादै नगन्य थियो । मुलुकको यस्तै परिस्थितिमा डा.रामप्रसाद पोख्रेल आँखामा एफ.आर.सी.यस. पूरा गरी काठमाडौं फर्के । हुन त उनलाई नेपाल सरकारले डि.ओ. पढ्न मात्र पठाएको थियो, त्यसमा उनले डि.एल.ओ. पूरा गरी एफ.आर.सी.यस. पनि पूरा गरे । सम्भवतः डा. पोख्रेल आँखाको क्षेत्रमा नेपालकै धेरै शैक्षिक योग्यता भएको व्यक्ति (चिकित्सक) थिए– उ बेलामा ।
आँखा स्वास्थ्यमा उच्च शिक्षा अध्ययन गरी नेपाल फर्केपछि डा. पोख्रेलले वीर अस्पतालमा सेवा सुरु गरे । अप्रयाप्त भौतिक सुविधा, आवश्यक पर्ने औजारको कमी, आँखा स्वास्थ्य सेवा सरकारको प्राथमिक स्वास्थ्य सुरक्षामा नपर्नु जस्ता कारण र आफ्नै सहकारीबाट प्राप्त असहयोगका कारण डा. पोख्रेल चिन्तित थिए । सोही बेलामा आँखा अस्पताल स्थापना गर्ने सोच उनमा त थियो तर, त्यस बेला उनको पहिचान र प्रोफाइल प्रारम्भिक चरणमै थियो ।
२०३० सालमा नेपाल आँखा अस्पताल स्थापना भएता पनि नेपालमा आँखाको रोगीहरु र दृष्टिबिहीनहरुको चाप अत्याधिक रहेको र आँखा सेवाको उपलब्धता अत्यन्त न्यून रहेको तथा सरकारी क्षेत्रको प्रयासबाट मात्र आँखा उपचार सेवामा आम नेपालीको पहुँच सर्वसुलभ हुन सक्ने स्थिति थिएन । यस्तो अवस्थालर्य हृदयङ्गम गरी डा. पोख्रेलकै सक्रियता र अग्रसरतामा तत्कालिन समाजसेवीहरुको प्रयासबाट नेपाल आँखा अस्पतालकै कार्यकारिणी पदाधिकारी भइ नेपाल आँखा अस्पताललाई पनि त्यसैअन्तर्गत रहने गरी तात्कालिन ‘सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद’ले नेपाल नेत्रज्योति संघको विधान स्वीकृत गराई वि.सं. २०३५ साल चैत्र १३ गते एक मुनाफारहित एवम् लोककल्याणकारी गैरसरकारी संस्थाको रुपमा नेपाल नेत्रज्योति संघको स्थापना गराएको थियो ।
नेपाल आँखा अस्पताल स्थापनापश्चात काठमाडौंमा आँखा सेवाको लागि केही सुविधा हुने नै भयो । तर, दुर्गम तथा दूरदराजका नेपालीहरुको सेवाको लागि आँखा सेवाको सुविधा पुर्याउने उद्देश्यले नेपाल नेत्रज्योति संघको स्थापनाको दोस्रो वर्षतिर सन् १९८०/८१ मा नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको पिबिएल कार्यक्रको सहयोगमा नेपालमा पहिलो पटक राष्ट्रिय अन्धोपन सर्वेक्षण सुरु भयो । यो सर्वेक्षणको परिणामपछि नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सेवाको गुरुयोजना निर्माण गरी जिल्ला जिल्लामा सेवा विस्तार सुरु गर्यो । नयाँ संरचना खडा गर्नु, त्यसलाई संगठित गर्नु र परिणाममुखी सेवा विस्तार गर्नु पनि चुनौती थियो । नवस्थापित गैरसरकारी संस्थाले त्यो चुनौतीलाई स्वीकारी तत्कालिन समस्यालाई अवसरमा बदलेर सामुदायिक साझेदारी र सहयोगसँगै अगाडि बढ्ने निर्णय गर्यो । सन् १९८० पछि स्थापित सबै आँखा अस्पतालहरु नेपाल नेत्रज्योति संघको छातामुनि आवद्ध भए । नेपालमा विश्व स्वास्थ्य संगठनको सहयोगमा सन् १९८०/८१ को बृहत अन्धोपनको सर्भेक्षणपश्चात सन् १९८० र १९९० को बीचमा आँखा सेवाको विकास विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा योजनाबद्ध तवरले भएको थियो । यो विकासक्रम आजसम्म पनि निरन्तर चलिरहेको छ । नेपाल नेत्रज्योति संघ, स्थानीय समुदाय, नेपाल सरकार तथा विश्वस्वास्थ्य संगठनको अन्धोपन निवारण तथा नियन्त्रण कार्यक्रम, राष्ट्रिय गैरसरकारी संस्थाले एकसाथ काम गरेकोले र संयुक्त प्रयासले आजको सफलता प्राप्त भएको छ ।
नेपाल नेत्रज्योति संघ विगत ४५ वर्षदेखि सहज, सुलभ र गुणस्तरीय आँँखा स्वास्थ्य सेवाको माध्यमबाट मुलुकमा विद्यमान अन्धोपनको समस्यालाई न्यूनीकरण गर्ने अभियानमा क्रियाशील रहेको छ । हालसम्म आइपुग्दा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरुको माध्यमबाट देशका प्रायः सबै क्षेत्रमा आँखा उपचार सेवा पुर्याउन सफलता हासिल गरेको छ । संघ मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रहरुको माध्यमबाट सन् २०२२ मा २९ लाख ६७ हजार २९१ जनाको आँखाको उपचार गर्नुका साथै २ लाख ७० हजार ९५० जनाको आँखाको शल्यक्रिया गर्न सफल भएको छ ।
सन् १९८१ मा नेपालमा गरिएको पहिलो राष्ट्रिय अन्धोपन सर्वेक्षणले अन्धोपन मुलुककै एक जटिल जनस्वास्थ्य समस्याको रुपमा रहेको तथ्य उद्घाटित गरेको थियो । विश्वमै पहिलो पटक कुल जनसंख्यामा आधारित भएर गरिएको उक्त अन्धोपन सर्वेक्षणबाट नेपालमा दृष्टिबिहीनताको स्थिति ०.८४ प्रतिशत रहेको पाइएको थियो । सो सर्वेक्षणले मोतिबिन्दू, ट्रकोमा, जलविन्दू, भिटामिन ए को कमिका कारणहुने अन्धोपन र आँखामा लाग्ने चोटपटकहरुलाई अन्धोपनको प्रमूख कारणहरुका रुपमा पहिचान गरेको थियो । उक्त सर्वेक्षणको अध्ययनबाट कुल अन्धोपनमध्ये ८० प्रतिशत अन्धोपनको समस्यालाई उपचारबाटै निराकरण गर्न सकिने भन्ने पनि देखियो । संघको मुख्य उद्देश्य आमसर्वसाधारणको पहुँचसम्म आँखा स्वास्थ्य सेवालाई सहज र सुलभरूपमा पुर्याई सेवा र पैसाको अभावमा कुनै पनि नेपालीले दृष्टिबिहीन भएर बस्नु नपरोस भन्ने नै रही आएको छ । संघका हालसम्मका सम्पूर्ण नीतिहरु यही उद्देश्य प्राप्ति तर्फ केन्द्रीत रहेका छन् ।
पछिल्लो समयमा संघले आँखासम्बन्धि विशेषज्ञहरुको उत्पादनमा समेत विशेष ध्यान दिँदै आएको छ । संघको यस प्रयासले आँखाको जनशक्तिमा संघ क्रमशः आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएको छ । वि.सं.२०६९ देखि संघले कान सम्बन्धी उपचार सेवा पनि प्रारम्भ गरेको छ । संघले विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा सन् २०११ मा नेपालमा अन्धोपनको पछिल्लो अवस्थाको जानकारी प्राप्त गर्न ‘र्यापिड एसिस्टमेन्ट अभोइडएबल ब्लाइन्डनेस सर्भे’ गरेको थियो । उक्त सर्भेको निष्कर्षअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को ०.८४ प्रतिशतबाट घटेर सन् २०११ मा ०.३५ प्रतिशतमा झरेको पाइयो । संघले नेपालमा अन्धोपन न्यूनीकरणका लागि अबलम्बन गरेका नीति र मोडेल सफल रहेको शिद्ध भयो । यसलाई विश्वका अन्य मुलुकहरुले पनि अनुसरण गरेको पाइन्छ ।
देश संघीय संरचनामा गइसकेको अवस्थामा प्रदेश स्तरमा सन् २०१९/२०२० मा गरेको दोस्रो ‘र्यापिड एसिस्टमेन्ट अभोइडएबल ब्लाइन्डनेस सर्भे’को प्रारम्भिक नतिजाअनुसार अन्धोपन घटेर ०.२८ प्रतिशतमा झरेको छ । जनसंख्या वृद्धि, नयाँ–नयाँ किसिमका रोगहरु देखा पर्नु, नेपालीको औसत आयुमा बढोत्तरी आदि कारणहरुले अन्धोपन न्यूनीकरणमा अझ चुनौतिहरु थपिँदै छन् । नेपाल सरकारको सहयोगमा नेपाल नेत्रज्योति संघले राष्ट्रिय ट्रकोमा कार्यक्रम संचालन गरी नेपाललाई विश्व स्वास्थ्य संगठनबाट दक्षिणपूर्वी एशियाली क्षेत्रमा नै जनस्वास्थ्य समस्याको रुपमा रहेको ट्रकोमा निवारण गर्ने पहिलो देशको रुपमा सम्मानित हुने अवसर प्राप्त गरेको छ । यो उपलब्धी संघको मात्र नभएर नेपाल सरकारकै उल्लेखनीय उपलब्धी रहेको छ । साथै आँखा स्वास्थ्यको क्षेत्रमा नोवेल पुरस्कार मानिने ‘चम्पालिमोड अवार्ड’जस्ता अन्तराष्ट्रिय पुरस्कारद्वारा संघ सम्मानित हुनु पनि गर्वको कुरा हो ।
संघले विभिन्न समयमा अनुसन्धान कार्य पनि गराउँदै आएको छ । कतिपय यस्ता अनुसन्धानले राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा समेत उल्लेखनीय योगदान गरेका उदाहरण छन् । उदाहरणका रुपमा डब्लूएचओ, युनिसेफ, यूएसएड र नेपाल सरकारको सहयोगमा संघले गराएको अनुसन्धानकै परिणामका आधारमा नेपाल सरकारले भिटामिन ए कार्यक्रम शूरु गरेको छ । यस कार्यक्रमले भिटामिन एको कमीबाट हुने अन्धोपनको साथै बाल मृत्युदरमा उल्लेख्यनीय करिब तीन चौथाईले कमी आएको छ ।
नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई नागरिकको मौलिकहकको रुपमा उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनले आँखा स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको रुपमा ग्रहण गरेको छ । यी दुई सन्दर्भमा सार्वजनिक निजी साझेदारीको अवधारणाबमोजिम उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गरी हालसम्म प्राप्त उपलब्धिहरुलाई संरक्षण गर्दै राष्ट्रिय स्वास्थ्य नीति २०७६ को लक्ष्यलाई समेत आत्मसात गर्र्दै नेपाल सरकारको दीगो विकास लक्ष्य पूरा गर्न नेपाल नेत्रज्योति संघले उच्चतम भूमिका खेलिरहेको छ । संघले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गर्न आगामी आठ वर्षभित्र नेपाल सरकारसँगको साझेदारी र समन्वयमा सबै स्थानीय तहमा आँखा उपचार केन्द्रहरु स्थापना, २२ वटा आँखा उपचार केन्द्रहरुलाई सेकेण्डरी लेभलको आँखा अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । सोको लागि आवश्यक विस्तृत कार्ययोजना तयार गरी कार्यान्वयन गरिने कार्यक्रम रहेको छ ।
देशका सबै नागरिकलाई समतामूलक तथा बृहत आँखा स्वास्थ्य सेवा दिनका लागि मोतिबिन्दूको अलावा दृष्टिदोष, बाल दृष्टिबिहीनता, जलबिन्दू, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्यूनदृष्टि, पूर्नस्थापकीय सेवासम्बन्धी राष्ट्रिय कार्यक्रमहरु संचालन गरिने छ । हरेक प्रदेशमा एक/एक अस्पताललाई ‘सेन्टर अफ एक्सीलेन्स’को रुपमा विकास गरिने नीति छ । संघीय संरचनाअनुरुप अल्पकालीन तथा दीर्घकालिन योजना बनाई आवश्यक स्वास्थ्य जनशक्तिको उत्पादन, विकास तथा उपयोग गरिनेछ । इ–हेल्थलाई संस्थागत गर्दै आठ वर्षभित्र आँखा सेवामा मोबाइल हेल्थ आर्टिफिसियल इन्टेलिजेन्स, टेलि ओथ्लोमोलोजीलगायत अन्य आधूनिक प्रविधिको विकास, विस्तार तथा नियमन गरिने योजना अघि सारिएको छ ।
(लेखक नेपाल नेत्रज्योति संघका आँखा स्वास्थ्य कार्यकर्ता हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies