काठमाडौं : ग्लोबल आईएमई बैंकले वि.सं. २०८० को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार एक कार्यक्रमकाबीच मण्डला चित्रकलालाई समावेश गरिएको वि.सं. २०८० को क्यालेन्डर सार्वजनिक गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्त रुपमा उक्त क्यालेण्डर सार्वजनिक गरेका थिए ।
ग्लोबल आईएमई बैंकले हरेक वर्ष आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत मण्डला चित्रकला प्रवद्र्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए ।
मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवद्र्धन गर्न ग्लोबल आइएमई बैंक प्रतिबद्ध रहेको बताए । चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिए ।
नेपालको मौलिक मण्डला चित्रहरुलाई मुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उनको भनाइ रहेको थियो । ‘छरिएर रहेका मण्डला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो,’ उनले भने, ‘यसबाट चित्रकला क्षेत्रलाई प्रवद्र्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ ।’ कार्यक्रममा कलाकारद्वयले मण्डला चित्रकलालाई क्यालेण्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies