–इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
रुँदारुँदै निदाएको बालखा छोरो प्रत्युषको मुहार हेरेर प्रीतमको मन कुुँडियो । कठै ! नतः यसले आमाबाट यथेष्ठ माया पाउँछ नतः म बाबुले नै पर्याप्त समय दिन सक्छु । हामी आमाबाबुको व्यस्त दिनचर्याले यसलाई कत्ति कहाली लाग्दो होला ? विद्यालयबाट घर फर्केपछि आमाबाबु दुबैलाई नभेट्दा यसलाई कत्ति न्यास्रो लाग्दो होला ? तर यी कुरा हर्षिकाको सामु गर्नुको कुनै अर्थ नै छैन । उनलाई घर, परिवार र छोरोको कुनै ध्याउन्नै हुन्न जबकि घरबाहिर चाहिँ उनी घरलाई कसरी स्वर्ग बनाउन सकिन्छ भनेर भाषण गर्छिन् । प्रीतमलाई अचम्म लाग्छ, मानिसले मुखले एउटा कुरा र व्यवहारमा अर्को कुरा कसरी गर्न सक्छ ? प्रीतमले हर्षिकालाई धेरैचोटि नसम्झाएको होइन तर, सकारात्मक परिणाम कहिल्यै आएन । प्रीतमले घडी हेर्यो रातको एघार बजिसकेछ । माघको ठिहीमा चिसो होला भनेर उसले हर्षिकाका लागि हटकेशमा खाना राख्यो । अनि भान्छा सफा गरिसकेपछि कोठामा आएर छोरोसँगै बिछ्यौनामा ढल्कियो । ऊ झपक्क निदाएको मात्र रहेछ ढोका ढकढकाएको चर्को आवाजले प्रीतम ब्यूँझियो ।
“कुम्भकर्ण जसरी कसरी सुत्न सक्या होला ?”, प्रीतमले ढोका खोल्नेबित्तिक्कै नशाको सुरमा हल्लिँदै हर्षिका कोठामा पसिन् ।
‘हर्षु, पार्टीबाट यसरी पिएर नआऊ छोरोमाथि नराम्रो असर पर्छ भनेर मैले तिमीलाई कत्ति सम्झाइसकेँ । तैपनि किन तिमी नसुनेझैं गछ्र्यौ ?”, प्रीतमले दुःखी मनले भन्यो ।
“चुप लाग, पाखे ! सोसाइटीमा कसरी बाँच्नुपर्छ भन्ने कुरा तिमी पाखेलाई के था’ ?” आँखै नखोली हर्षिका बडबडाइन् ।
“हो हो, सोसाइटीमा बाँच्न त तिमीजस्ती रक्सीको दासलाई मात्र आउँछ नि”, निदाएको छोरोलाई उठाउँदै प्रीतमले पनि व्यंग्य गर्यो र बाबुछोरा गएर अर्को कोठामा सुते ।
छोरोलाई विद्यालय पठाएपछि प्रीतमले कोठामा आएर हेर्दा हर्षिका अझै सुतिरहेकी थिइन् । उसले घच्घच्याउँदै हर्षिकालाई उठायो ।
“हर्षिका दश बजिसक्यो, उठ्नु पर्दैन ?”, प्रत्युत्तरमा हर्षिका हलचल नगरी सुतिरहिन् । प्रीतमले हर्षिकालाई हेरिरह्यो । उफ ! यस्ती मान्छे त नेतृ अरे ! नेतृ नै यस्ती भएपछि कार्यकर्ता कस्ता होलान् ? प्रीतमको ओँठमा व्यंग्यात्मक मुस्कान देखापर्छ । जसले आफ्नै घर सम्हाल्न जान्दैन उसले अर्काको घर के सपार्छ ? टेबलमा रहेको आफ्नो र हर्षिकाको तस्वीरलाई हेर्यो उसले । विवाह हुँदानहुँदै हर्षिकामा यस्तरी रातारात परिवर्तन आउला भन्ने पूर्वानुमान उसलाई कहाँ थियो र ? बाबुआमाको चर्को बिरोध हुँदाहुँदै पनि उसले अन्तरजातीय विवाह गरेको थियो । आपैmले रोजेको आफ्नो जीवन साथीमा प्रीतमलाई पूर्ण विश्वास थियो । तर, विश्वासको पाइन् चढ्दा नचढ्दै यसरी झर्ला भन्ने पूर्वाभास त्यसबेला कहीँ कतै थिएनन् ।
कार्यक्रमका लागि जोडतोडका साथ चलिरहेको संगीत अभ्यासका लागि ऊ घरबाट निस्कियो । घर शब्द सम्झिँदा पनि उसको छाती चरक्क चिरिएर आउँछ । आमाबाबु जतिसुकै रिसाए तापनि आफ्ना छोराछोरीको दुःख देख्नै सक्दैनन् भन्ने कुराको पछिल्लो ज्वलन्त उदाहरण बनिन् प्रीतमकी आमा । डेराको बसाईंमा छोरोले निकै दुःख पाएको सुनेपछि आमाबाट पाएको आर्थिक सहयोगले नै राजधानीमा उसले यो दुई कोठाको फ्ल्याट जोर्न सफल भएको थियो । तर, सन्तानको पीरमा दुःखी हुने त्यस्ती ममतामयी आमाकोे आगमन पनि सह्य हुुँदैन हर्षिकालाई जबकि आमा आउँदा जहिले पनि बुवाको नजर छलेर आउनुपर्छ भन्ने कुरा हर्षिकालाई राम्रैसँग थाहा छ । दुःखी मनले गह्रौं पाइला चाल्दै प्रीतम घरबाट निस्कियो ।
गायन कार्यक्रम सकिएपछि होटलको गाडीबाट प्रीतम घर फर्किँदा बिहानको तीन बजिसकेको थियो । बेलैले हर्षिकालाई उठाएर ऊ घरभित्र पस्यो । हर्षिकाले प्रीतमसँग झगडा गर्न सानोतिनो भूमिका बनाइसकेकी थिइन् तर, प्रीतमले हर्षिकाको कुरा सुने पनि नसुनेझैं गरेर अर्को कोठामा गएर सुत्यो । ऊ उठ्दा छोरो विद्यालय गइसकेको रहेछ । हातमुख धोइसकेर उसले भान्छामा गएर हेर्दा भान्छा चिसै रहेछ ।
“हर्षिका खाना किन नबनाएको ?”, प्रीतमले भान्छाबाटै सोध्यो ।
“तिम्रो लागि सधैं खाना ठीक्क पारिदिने म तिम्री नोकर्नी हो र ?”, हर्षिकाले च्याँठ्ठिदै जवाफ दिइन्, “खाने मन भए पकाऊ, खाऊ । नखाने भए मलाई के मतलब ?”
“तिमीलाई केसँग मतलब छ त ?” हर्षिकासामु आएर प्रीतमले सोध्यो, “तिमीलाई छोरोको चासो छैन, घरको वास्ता छैन, लोग्नेको मतलब छैन भने तिमीलाई मतलब चाहिँ के को छ, भन त हर्षिका ? तिमीले भन्न खोजेको के हो ?” हर्षिका योविधि श्वार्थी र रुखो भएको देख्दा त्यसैत्यसै जङ चलेर आयो प्रीतमलाई । हर्षिकाको कुराले साहै्र चित्त दुख्यो उसको ।
“मेरो अगाडि धेरै कराउने हैन है, चुप लागेर बस, बाउन बाजे । धेरै करायौ भने पुलिसमा गएर रिपोर्ट गर्दिन्छु यो बाउनले मलाई सधैँ कुट्छ , पिट्छ, दाइजो ल्याएन भनेर हेला गर्छ भनेर महिला आयोगमा गएर रिपोर्ट गरेर देखाई दिन्छु बाउनचरीलाई दिउँसै सपना । अनि था पाइएला बाउनबाजे, आटादालको भाउ”, आँखा नचाएर हर्षिकाले भनिन्, “ठूलो–ठूलो स्वर गरेर मलाई जित्न खोज्नु पर्दैन । अपमानको मुद्धा हालिदिऊ आयोगमा ? कि जाऊ अहिले नै प्रहरी चौकी र थुनाई दिऊ मलाई ठूलो स्वर गर्नेलाई ? बाउनबाजेले महिला नेतृको पावरलाई चिन्याजस्तो लागेन । होस् गर है, बाउनबाजे, होस् गर ।”
“आफ्नो लोग्नेसँग कसरी बोल्नुपर्छ भन्ने सोमत पनि छैन हगि तिमीलाई ?”, हर्षिकाको व्यवहारले साह्रै बिझायो प्रीतमलाई ।
“तिमी चुप लाग है मैले भन्द्या छु । मलाई धेरै रिस उठायौ भने अहिले आफ्नो केश आफैंले भुत्ल्याउँछु, आफ्नो अनुहार आपैmले चिथोर्छु र दोषजत्ति तिमीलाई लगाएर बाउनचरीलाई मैले थानामा थुनाउन नपरोस् । म आफ्ना्े अमूल्य समय तिमीलाई दालभात खुवाएर, नानी स्याहारेर र तिम्रो गनगन सुनेर बर्बाद पार्न चाहन्न । कहाँ त म सभासद हुन लागेकी मान्छे, मलाई नै हकार्छ यो बाउनचरी । ए गाँठे !”
ओंठ लेप्र्याउँदै हर्षिका बाथरुमतिर लागेपछि प्रीतम पनि रिसले घरबाट निस्केर बिना उद्देश्य उद्यानमा गएर धुमधुम्ती बसिरह्यो । रिस मत्थर भएपछि ऊ घर पुग्यो र हर्षिकालाई सम्झाउन थाल्यो, “हर्षु, हाम्रो बिहे अघि त तिमी यस्ती थिइनौ । किन दिन दिनै तिमी यस्तो रुखो बोली र नसुहाउँदो व्यवहार गरेर मलाई दुःखी बनाउँछौ ? किन हाम्रो मायाको सानो संसारलाई भताभुुुुङ्ग पाछ्र्याै ?”, हातै जोडेर उभियो प्रीतम, “प्लिज हर्षु, यत्तिविधि कठोर नबन । आँखाको पर्दा खोल र बचाऊ आफ्नो गृहस्थी । गृहस्थीको धागो एक पटक चुँडियो भने फेरि जोडिन धेरै गारो पर्छ, हर्षु ।”
“भो भो, बाउनबाजे । नाटक गर्नु पर्दैन । घरको चार दिवारीमा मलाई थुनेर दासी बनाउने सपना नदेख । म चरीझैं भूरुरु उड्न चाहन्छु । स्वतन्त्र भएर बाँच्न चाहन्छु । नकज्याउ उड्ने मेरा रहरहरु नत्र त्यसको परिणाम राम्रो हुने छैन ।” विषालु हाँसो ओँठमा नचाएर बोल्दा पनि हर्षिकाको मुहार कठोर देखिन्थ्यो । त्यसपछि प्रीतम केही बोल्न सकेन । ढुुंगाको सालिक बनेर ऊ जहाँको त्यहिँ उभिरह्यो ।
हिजोसम्म त ऊ यस्ती थिइन । सोझी, मितभाषी र स्नेहालु थिई । तर, आज बातैपिँच्छे उसलाई होच्याउँछे, थानामा थुनाउने धम्की दिन्छे । के मैले उसँग विवाह गरेर कुनै अपराध गरेँ त ? समाजले दलित भनेर हेप्ने परिवारकी उसलाई मैले जीवन संगिनी बनाएँ । तर, किन उनी कहिल्यै मेरी जीवन संगिनी बन्न सकिनन् त ? आफ्नो गायन प्रस्तुतिमा पनि उसले आपूmलाई एकाग्र राख्न सकेन । उसलाई घरको कलहले पछ्याउन छाडेन । यही घर बसाउन मैले आफ्नो घर छाडेँ, परिवार छाडेँ, समाज छाडेँ र सम्पूर्ण इष्टमित्र छाडेँ । तर जसका लागि मैले यत्तिका त्याग गरेँ, हजारौं विरोध सहेँ, आज ऊ नै मसँग पौंठेजोरी खेल्न खोज्छे । आमाबाबुको कुरा नमानेर मैले कतै ठूलै भूल त गरिन ? अचानक छातीभित्रबाट आगोको ज्वाला उठेर पोलेको अनुभूति हुन्छ प्रीतमलाई र माघको ठिहीमा पनि उसको शरीर पसिनाले लफक्कै भिज्छ ।
छोरालाई विद्यालय जान ढिलो होला भनेर प्रीतमले हतार–हतार खाना पकाएर खुवायो । छोरोलाई विद्यालय पुर्याएर प्रीतम घर फर्कियो । तर त्यत्तिविध्न काम भ्याइसक्दा पनि हर्षिका सुतिरहेकै थिइन् । सुतिरहेकी हर्षिकालाई अघाउञ्जेल नियाल्यो प्रीतमले । अचेल होटलमा गाएर पनि उसले राम्रै आम्दानी गरेको छ । पैसाको अभाव हुन दिएको छैन उसले हर्षिकालाई । हो, आफ्नो आम्दानीको सानो अंश उसले आफू जोडिएको पेशागत संगठनलाई लेबीका रुपमा बुझाउने गरेको छ । कहिलेकाहीँ पेशागत हक र अधिकारका लागि रातो झण्डा बोकेर ऊ पनि सडकमा ओर्लिन्छ । प्रीतमका यी कृयाकलापले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हर्षिकालाई हानीनोक्सानी केही गरेको छैन । तैपनि प्रीतमले हसिँया र हथौडा भएको रातो झण्डा बोकेको हर्षिकालाई पटक्कै मन पर्दैन जबकि प्रीतमका ती कृयाकलाप मन नपराइनुका उपयुक्त कारण र जवाफ पनि उसँग छैनन् । तर यही विषयको हाँगा समाएर उनी त्यसै त्यसै रडाको मच्याइरहन्छिन् र घरलाई रणसंग्राम बनाएर प्रीतमको मन मस्तिष्कलाई घाइते बनाइरहन्छिन् ।
“उठ हर्षु !” सस्नेह हर्षिकाको केशराशी मुसार्दै प्रीतमले भन्यो, “धेरै भयो हामीले सँगै बसेर खाना नखाएको । उठ, नत्र जाडोले खाना छिट्टै सेलाउछ ।”
“थुक्क खाते, पाखे, बाहुन”, उठेर अचानक जंगिन थालिन् हर्षिका, “मलाई एकछिन आनन्दले सुत्न नदिने बाहुन । आज तँलाई नमारी छाड्दिन ।” हर्षिकाले उग्र रुप लिएर प्रीतमको गालामा एक थप्पड लगाइन् । किंकर्तव्यविमूढ जड भएर ठाउँको ठाउँ उभिरह्यो प्रतीक । उसलाई विश्वास नै लागेन हर्षिकाले उमाथि हात उठाई भनेर । ऊ स्तब्ध भयो, वाक्य फुटेन उसको । तन्द्रामाझैं उसले ट्वाल्ल परेर हर्षिकालाई हेरिरह्यो ।
“लाटाले पापा हेरेझैं के हेर्या नि मलाई, तेरिमा साले, बाहुन ।” प्रीतमलाई अभैm झम्टिउँ लाझैं गरिन् हर्षिकाले ।
“हर्षिका !” प्रीतमको हुँकारले पुरै घर गुञ्जियो, “अब पुग्यो हर्षिका । दिस इज टु मच । गेट आउट, गेट आउट फ्रम माइ हाउस । अब म अरु सहन सक्दिन । आजदेखि तिम्रो र मेरो बाटो अलग । जहाँ जान मन लाग्छ जाऊ, जहाँ रिपोर्ट गर्न मन लाग्छ गर । बट लिब माई हाउस, राइट नाउ ।”
“प्री..त...म !” प्रीतम उग्र रुपले रिसाएको देखेर अलि हच्किएकी हो कि झैं देखिइ हर्षिका ।
“अब अरु म केही सुन्न चाहन्न । आफ्नो सामान उठाऊ र गैहाल यहाँबाट । छोरोको त तिमीलाई वास्तै छैन त्यसैले पीर नगर, छोरोलाई म पाल्छु । अब तिम्रो र मेरो एउटै साइनो छ —पारपाचुके । तर तिमीजस्तो निर्दयी र विवेकहीन छैन म । त्यसैले अदालतले निर्णय गरे पनि नगरे पनि यो घर र यहाँ भएको श्री सम्पत्ति जम्मै म तिमीलाई नै दिन्छु । तर, अब तिमी र म एउटै छतमुनि बस्न सक्दैनौ । त्यसैले अहिलेलाई यहाँबाट गैहाल र जीवनमा मलाई तिम्रो अनुहार कहिल्यै नदेखाउनु ।” हर्षिकाको पाखुरामा समाएर घर बाहिर निकाल्यो प्रीतमले । हर्षिकाको मुखैमा ढोका लगाएपछि छोराको तस्बीर सस्नेह सुम्सुम्यायो प्रीतमले र तस्वीरसँग बात मार्दै भन्यो, “प्रत्युष । मेरो छोरा । जीवनमा तिमी अर्को प्रीतम कहिल्यै नबन्नुु बरु देशको एक असल नागरिक बन्नु । अँध्यारोमा हराउनेहरुका लागि तिमी उज्यालो बन्नु ।”, त्यहीबेला कुनै विशिष्ट व्यक्तिलाई दिइएको सलामीमा हुनुपर्छ, तोप पड्केको आवाज आइरहेको थियो । धडाम्म...धुम्म...धडाम्म...।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies