-दिपकराज भट्ट
डडेल्धुराबासीले समस्या पर्दा सम्झिने नाम हो विनय प्रकाश मल्ल । गरीब, बेसाहारको सहयोगीको रुपमा मल्ल परिचित छन् । जन्मभूमि डडेल्धुरा नेपाल भएका मल्लको कर्मभूमि जापान रहेको छ ।
मल्ललाई आफ्नो देशको माया, देशप्रतिको लगाव र नेपालप्रति निकै चिन्ता छ । विदेशमा बस्नेलाई मात्रै आफ्नो देश छाड्नु पर्दाको पीडा, चिन्ता र देशप्रतिको असीमित माया थाहा हुन्छ ।
आज सबैका सहयोगी बनेका मल्लको बाल्यकाल अभाव र संघर्षकै बीच गुज्य्रो । उनले विद्यालय पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमै बुवालाई गुमाए । हृदयाघातबाट बुवाको मृत्यु भएपश्चात परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । एकातिर पढाई अर्कोतिर पारिवारिक जिम्मेवारी उनको जीवन यसरी नै अघि बढ्दै गयो ।
उनले कक्षा १२ सम्मको पढाई नजिकै रहेको महेन्द्र माध्यमिक विद्यायबाट पूरा गरे । उनका अगाडि अनेकौं प्रकारका चुनौती आएपनि हरेक चुनौती र परिस्थितिलाई अवसरको रूपमा लिई अगाडि बढेका उनी हरेक उतारचढावलाई सहजरूपमा लिएर अघि बढे ।
मल्ल भन्छन्, “सानै उमेरमा काँधमाथि ठूलो जिम्मेवारी थपिएर होला जस्तोसुकै कार्य गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो ।”
अहिले सफल व्यवसायीको रुपमा परिचित मल्ल कुनै समयमा प्रहरी सेवामा थिए । पारिवारिक आर्थिक समस्या र देशप्रतिको लगाबको कारण स्नातक पढ्दा पढ्दै उनी प्रहरीमा भर्ना भएका थिए । तथापी, मल्लले प्रहरी सेवाकै बीच त्रिभुवन विश्वविद्यालयबाट स्नातक पुरा गरे ।
मल्ललाई कानुनी विषय पढ्न निकै चाख थियो । जसका कारण उनले त्यसपछि नेपाल ल क्याम्पसमा एलएलबीसमेत अध्ययन गर्न भ्याए । तर, त्यहीबीच उनी प्रहरी सेवाबाट बाहिरिए । उनमा जीवनमा थप अन्य लक्ष्य भेटाउने हुटहुटी बढ्यो ।
६ वर्षे प्रहरी सेवाबाट २०६९ मा बाहिरिएका मल्ल इन्टरनेशनल जापनीज ल्याङ्ग्वेज एकेडेमी सेन्दाई जापानमा भर्ना भई १५ महिने जापानीज भाषा अध्ययन गरी तोहोकु कम्प्युटर कलेज सेन्दाई जापानमा दुई वर्षे इन्टरनेशनल बिजनेश कोर्ष अध्ययन गरे । यसपछि जापानीज कम्पनीमा ‘स्पेलिस्ट इन ह्यूम्यनिटी इन्टरनेशनल सर्भिसको’ भिसा प्राप्त गरी तीन वर्ष त्यहीँ कामसमेत गर ।
यतिबेलै उनको मनमा अरूको काम कहिलेसम्म गर्ने ? भन्ने प्रश्न उठ्न थाल्यो । “अब आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्यले मैले व्यवसायको शुरुआत गरेँ । अहिले मैले आफ्नै मल्ल किंग्स कम्पनी लिमिटेड खोलेर जापान सरकारबाट बिजनेश भिसा प्राप्त गरी कम्पनी सञ्चालन गरिरहेको छु”, मल्ल भन्छन् । अहिले उनको कम्पनीमा जापानीज र नेपाली गरी थुप्रैले रोजगारी पाइरहेका छन् ।
आज मल्ल जापानका सफल व्यवसायी त हुन् नै सँगै उनले नेपालमा समाजसेवीको पहिचान पनि बनाएका छन् ।
उनको नाम पछिल्लो समयमा युवा पुस्ता माझ निकै लोकप्रिय बनेको छ । लोकप्रिय हुनुको कारण उनले दीन दुःखीलाई गरेको सहयोग हो । ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ भने झैं विनय प्रकाश मल्लको मन पनि ठूलो छ ।
हिलो र माटोमा खेल्दै व्यवसायी बनेका मल्ललाई अहिले पनि विगतले झक्झकाई रहन्छ । विगतमा आफूले भोग्नु परेको दुःख र पीडा अरूले भोग्नु नपरोस् भन्ने उनी चाहन्छन् । त्यही कारण होला गरिबी तथा पीडामा परेकालाई उनले आर्थिक सहयोग गरिरहन्छन् ।
“मैले बिताएको जस्तो दुःखदायी जिन्दगी अरूले जिउनु नपरोस् भन्ने चाहन्छु । विपन्न, गरीब, अनाथ तथा दीन दुखी देख्दा मनले मान्दैन सहयोग गरन मन लागि हाल्छू”, उनी भन्छन् ।
विनय प्रकाश मल्लले सहयोग गर्छ होला भन्ने सुनेर होला अहिले धेरैको फोन आउने गरेको उनी बताउँछन् । उनले अहिलेसम्म लाखौं रुपैयाँ आर्थिक सहयोग गरिसकेका छन् ।
डडेल्धुराका धेरै स्कुलहरुमा अक्षयकोषको स्थापना, कसैलाई राशन, कसैलाई आर्थिक सहयोग त कसैलाई लत्ताकपडा दिनु उनको दैनिकी बनिसकेको छ । कोरोना महामारी उत्कर्षमा पुगेको समयमा पनि उनी पीडितको लागि सारथी बनेका थिए । डडेल्धुरामा रहेका मठ, मन्दिर, विद्यालय र कोरोनाको समयमा अक्सिजन गरिद गर्न सहयोग गरेको उनी बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies