काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारको प्रलोभनमा संकलन गरिएका ठूलो संख्याका राहदानी बरामद गरेको छ । विभागले बिहीबार सामाखुशीस्थित होटल स्काई ब्यांक्वेटमा छापामारी गिलुङ–८ लमजुङकी शिला परियारबाट १ सय ९ थान राहदानी बरामद गरेको बताएको छ ।
परियारले ६ महिनाभन्दा बढीको वैदेशिक रोजगार, डिपेन्डेन्टलगायत अध्ययन भिसामा बेलायत पठाइदिने प्रलोभन दिई ती राहदानी संकलन गरेको विभागले जनाएको छ । विभागले परियारलाई समेत नियन्त्रणमा लिई कारबाहीका लागि अनुसन्धान शुरू गरेको निर्देशक कृष्णप्रसाद भुसालले बताएका छन् ।
वैदेशिक रोजगार ऐनको दफा १० मा अनुमति नलिई वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाएको छ भने ऐनको दफा ४३ मा पीडितलाई विगो र त्यसको ५० प्रतिशत हर्जना असुल गराई दोषीलाई ७ वर्षसम्म कैद गर्ने व्यवस्था गरेको छ । १ सय ९ थान राहदानी बरामद गरेको सार्वजनिक गरेपनि विभागले वैदेशिक रोजगारीका लागि रकम असुली गरेको खुलाएको छैन ।
विभागले आकर्षक वैदेशिक रोजगारीको नाममा शैक्षिक कन्सल्ट्यान्सीबाट ठगीको धन्धा व्यापकरूपमा बढेको बताउँदै सचेत हुन पटक–पटक आग्रह गर्दै आएपनि योजनावद्ध ठगीका घटना सार्वजनिक भइरहेका छन् । वैदेशिक रोजगारीमा जानुपूर्व श्रम स्वीकृति लिनुपर्ने अनिवार्य गरिएको भन्दै विभागले बिना श्रम स्वीकृति वैदेशिक रोजगारीका लागि नजानपनि सचेत गराएको छ ।
शैक्षिक कन्सल्ट्यान्सीहरूले वैदेशिक रोजगारीका लागि जापान, युरोपेली मुलुक, अमेरिका र क्यानडा पठाइदिने भन्दै तेस्रो व्यक्ति खडा गरेर लाखौं रुपैयाँ ठगी गरिएको उजुरी आएको भन्दै विभागले अनुगमन गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies