तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार, ११ चैत । गोरखा सेवा समाज कतारको १२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा ‘आमा’ सेमिनारका साथै व्यक्तित्व तथा नेतृत्व विकास कार्यक्रम पनि सम्पन्न भएको छ ।
खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न साधरण सभाको खुल्ला सत्र समाजका अध्यक्ष रामजी खत्रीको सभापतित्व, गोरखा ग्लोबल समाजका उपाध्यक्ष श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता तथा मानव सेवा आश्रमका परिकल्पनाकार एवं अध्यक्ष रामजी अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
साधारण सभाको बन्द सत्रबाट ओमराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विमल न्यौपाने, उपाध्यक्षद्वय विकास श्रेष्ठ र सुजन धिताल, महासचिवमा अर्जुन संग्रौला, सचिवमा रुद्र भट्ट, कोषाध्यक्षमा राजेन्द्र पराजुली निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा गोरखा नगरपालिका संयोजक उत्तम श्रेष्ठ, पालुङटार नगरपालिका संयोजक अशोक श्रेष्ठ, सिराञ्चोक गाउँपालिका संयोजक सूर्यबहादुर गुरुङ, अजिरकोट गाउँपालिका संयोजक रविन गुरुङ, आरुघाट गाउँपालिका संयोजक चन्द्र नेपाली चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा दिनेश थापा, चित्रबहादुर थापा, इन्द्रबहादुर नेपाली निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक राकेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथपछि बोल्दै नवनिर्वाचित अध्यक्ष गुरुङले कतारमा रहेका पीडित गोरखालीलाई सहयोग, जिल्लामा असहाय गरिबलाई विशेष शिक्षा, मानवीय सेवामा तल्लीन भएर लाग्ने र कतारमा रहेका गोरखालीबीच एकताबद्ध गर्ने प्रतिबद्धता जनाए ।
वार्षिक साधारण सभाको खुल्ला सत्रमा समाजका वरिष्ठ उपाध्यक्ष ओमराज गुरुङले स्वागत तथा कार्यप्रगति विवरण पेस गरेका थिए ।
कार्यक्रमको शुभारम्भमै नेपालबाट आमन्त्रित अतिथि अधिकारीले खाने बस्ने र सुत्ने तरिका नमिल्दा जीवनमा असहजता पैदा भइरहेको हुदाँ त्यस्ता समस्या निराकरणका उपाएका बारेमा जानकारी गराएका थिए ।
बाहिरबाट चिटिक्क देखिने मानिस भित्र खिटिक्क भएर मर्ने गरेको हुदाँ बस्दा ढाडलाई सिधा राख्नुपर्ने र मानसिक अवस्था बलियो बनाउन बस्दा गर्दन सिधा बनाउनुपर्ने उनको भनाइ थियो ।
मानव आश्रममा १ हजार ४ सय ५० भन्दा बढी बा–आमा र १ सय ५२ जना बच्चाहरूले आश्रय लिइरहेको बताउँदै उनले मानवतालाई केन्द्रमा राख्न आग्रह गरे ।
‘आमा’ सेमिनारमा बोल्दै अधिकारीले मनोरञ्जन भनेको मनको उत्तेजना रहेको बताउँदै अब मनोरञ्जन अर्थात् मनलाई माझ्नु पर्ने आवश्यकता औँल्याए । उनले भौतिकताले सुख दिने तर शान्ति नदिने भएकाले अध्यात्ममा ध्यान दिन आग्रह गर्दै सेवा आश्रमले गरेका मानवीय कार्यको वृत्तचित्र देखाइएको उनले बताए ।
डेढ अर्ब बजेटमा १६ वटा जिल्लामा ‘मानव मन्दिर’ (घर) बन्दै गरेको बताउँदै उनले धन धेरै भएर होइन इच्छा कटौती गरेर गरिने सहयोगलाई ‘मानव सेवा’ भनिने धारणा राखे ।
मानव सेवा आश्रम (मानवता प्रबद्र्धन महाअभियान) गोरखा शाखाको निर्माण हुँदै गरेको मानवताको मन्दिर निर्माणका लागि आश्रमको अभिभावक संस्थासमेत रहेको समाजले १ कोठा निर्माणको लागि रु. पाँच लाख एघार हजार एक सय एघार आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरेको थियो ।
सभामा कतारका लागि नेपाल सरकारका पर्यटन तथा संस्कृति मन्त्रालयका सद्भावना राजदूत टिबी कार्कीलगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले सामाजिक तथा मानवीय क्षेत्रमा समाजले गरेका कार्यहरूको प्रशंसा गरेका थिए ।
कार्यक्रममा समाजका विविध गतिविधिमा विशेष योगदान पुर्याउने समाजका प्रमुख सल्लाहकार राकेश श्रेष्ठ र संरक्षक श्रीकृष्ण भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टराईले मानव सेवा र मानवीयतासहितको साधारण सभा गर्ने गोरखा समाजप्रति कृतज्ञता प्रकट गरे । महासचिव विकास श्रेष्ठले सहजीकरण गरेको खुल्ला सत्रको समापन गर्दै सभापति खत्रीले कार्यकाल सफल बनाउन सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies