शिवजी मण्डेल/मध्यान्ह
बझाङ : बझाङको थलिनौविस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै चर्चित धार्मिक तथा ऐतिहासिक बिर्सती मेलामा आयोजना गरिएको भलिबल प्रतियोगिता सम्पन्न भएको छ । बिर्सती मेला मूल आयोजक समितिले आयोजना गरेको खुला भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । यसअघि नै महिला भलिबल, देउडा प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सम्पन्न भइसकेका थिए ।
आइतबार नै सम्पन्न हुने भनिएको खेल लगातारको वर्षाका कारण अवरुद्ध हुँदा सोमबार सम्पन्न भएको आयोजक कमिटीले जनाएको छ । यस वर्षको बिर्सती मेलामा आयोजित भलिबल प्रतियोगिताको उपाधि ज्ञानेन्द्र मेमोरियल टिमले हात पारेको छ । फाइनल खेलमा कुल फाइरिङ ग्याङलाई हराउँदै ज्ञानेन्द्र मेमोरियल टिमले उपाधि हात पारेको हो । ज्ञानेन्द्र मेमोरियलसँग हार व्यहोरेको कुल फाइरिङ ग्याङ टिम द्वितीय भएको छ । त्यस्तै छबिसपाथिभेरा गाउँपालिकाको टिम तृतीय र थलारा गाउँपालिकाको टिम चौथो भएको छ ।
समितिले कार्यक्रमको समापन गर्दै प्रथम ज्ञानेन्द्र मेमोरियल टिमलाई १ लाख २५ हजार ९ सय २० रुपेयाँ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्रले पुरस्कृत गरेको छ । द्वितीय कुल फाइरिङ ग्याङ टिमलाई नगद ६५ हजार ९ सय २० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय छबिसपाथिभेरा गाउँपालिकालाई ३० हजार ९ सय २० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सान्त्वना थलारा गाउँपालिकालाई ९ हजार ९ सय २० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको मेला मूल आयोजक समितिका सदस्यसचिव विष्णु दौल्यालले जानकारी दिए ।
त्यस्तै महिला भलिबलतर्फ प्रथम दुर्गाथली गाउँपालिका-५ लाई नगद ४१ हजार ९ सय २० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय मष्टा माध्यमिक विद्यालय चुवाबनलाई १९ हजार ९ सय २० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने तृतीय अमृत मेमोरियललाई ९ हजार ९ सय २० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, सान्त्वना भएको दुर्गा माध्यमिक विद्यालयलाई ४ हजार ९ सय २० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको शिक्षक तिलक बुढाले बताए ।
मेला समिति संयोजक गजेन्द्र बुढा (विराट)को अध्यक्षतामा भएको समापन कार्यक्रममा छबिसपाथिभेरा गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहरा प्रमुख अतिथि रहेका थिए । यस्तै विशिष्ट अतिथि नेपाल तरुण दलका केन्द्रीय सदस्य विष्णु ऐडी रहेका थिए । कार्यक्रम सञ्चालन मेला समितिका सदस्यसचिव विष्णु दौल्यालले गरेका थिए ।
भदौ १८ गते छबिसपाथिभेरा गाउँपालिका–६ मा रहेको दैपाँड मन्दिरमा पूजा आराधना गरेपछि बिर्सती पर्व शुरु हुन्छ । महिलाहरु निराहर ब्रत बसेर दिनभर बाठपाला देवताको पूजा आराधना गर्छन् । साँझ चाँभाइ (एक किसिमको भजन) खेल र बाठपाला देवताका फाग गाएर भारीखेल लगाएर रातभर भजन कीर्तन गर्दै मनाउने गर्छन् ।
भदौ १९ गते ढाँका (डमरु) बजाउने प्रचलन छ । २० गते भक्तजनहरू पुनः व्रत बसेरै दैपाँड मन्दिरमा पूजा आरधना गर्ने प्रचलन छ । यो दिन बाठपाला मन्दिर दैपाँडबाट बाल्यचौर हुँदै महालिंग देवताको मन्दिर च्यागोटसम्म नाङ्गै खुट्टा पदयात्रा गर्ने प्रचलन छ । किसानले असार, साउनको खेतिपाती रोप्ने काम सकेपछि यो मेला मनाइन्छ । देश विदेशबाट स्थानीय बिर्सतीको अवसर पारेर गाउँ फर्कन्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies