काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई अमेरिकाबाट प्रकाशित हुने टाइम म्यागजिनले विश्वको उदाउदो एक सय व्यक्तिको सूचीमा समेटेको छ । गत वर्षको स्थानीय चुनावमा गैरदलीय उम्मेद्वारी दिएर राजधानी उपत्यका रहेको महानगरकै मेयर जितेपछि बालेनको चर्चा शुरु भएको थियो । त्यसअघि ¥यापर र एक इन्जिनियर बालेनलाई राजनीतिक वृत्तले राम्रोसँग चिनेको थिएन । स्थानीय चुनावको चर्चा चल्दा पनि नेपाली कांग्रेस र नेकपा एमाले गरी दुई कित्तामा उभिएको तत्कालीन गठबन्धन मध्येकै एक उम्मेद्वार मेयर बन्ने आँकलन भइरहेको थियो । तर यी ठूला गठबन्धनलाई पछि पार्दै गैरदलीय उम्मेद्वार बालेनले काठमाडौं महानगरको मेयर जिते । मेयर जितेपछि उनको चर्चा राजनीतिक वृत्तदेखि आमसाधरण नागरिकसम्म हुन पुग्यो । सामाजिक सञ्जालबाट चर्चामा आउन थालेका बालेनलाई अन्तर्राष्ट्रिय मिडियाहरुले पनि पछ्याउन थाले । त्यसैक्रममा केही समय अगाडि अमेरिकाबाटै प्रकाशित न्यूयोर्क टाइम्सले लामै अभिलेख तयार पारेको थियो ।
फेरि अमेरिकाकै अर्को मिडियाले उदयमान व्यक्तिको विश्वसूचीमा उनी परेका छन् । पश्चिमा मिडियाको कभरेजबाट पुग्ने लाभ पक्कै पनि बालेनले उठाउने नै छन्, अर्थात् उनको लोकप्रियता अब मुलुक र नेपालीको घेराबाट बाहिर निस्केको छ । उक्त मिडियाका पाठक र त्यसप्रति विश्वास राख्नेहरुले बालेनलाई नयाँ संभावनाका रुपमा हेर्नेछन् । त्यसको असर नेपालमा नपर्ने कुरै भएन । त्यसैपनि सामाजिक सञ्जालकै माध्यमबाटै बालेन मुलुकका नेताहरु मध्ये सर्वाधिक लोकप्रिय थिएन । उनलाई फलो गर्ने, प्रतिक्रिया दिने र कमेन्ट गर्नेहरु अरु कुनैपनि व्यक्ति भन्दा धेरै थियो ।
टाइमको यो सूचीले उनका फलोअर अझै बढ्नेछ । यसले मुलुककै राजनीतिक कोर्समा असर पर्ने अनुमान गर्न सकिन्छ । किनकि बालेनप्रति बढेको आकर्षणको लाभ पुराना र ठूला दलहरुले नपाउने पक्का छ । किनकि ठूला दलका नेताहरुको शैली र प्रवृत्तिकै विकल्पमा नयाँ पुस्ताबीच बालेनको आकर्षण बढेको अनुमान लगाउन सकिन्छ । तसर्थ आगामी चुनावमा पुराना दलहरुलाई सजिलो नहुने मात्रै नभएर मुलुकको शासकीय नेतृत्वमा नयाँ अनुहार आउन सक्ने आधार थप बलियो बनेर गएको छ । यसप्रति सचेत र उत्तरदायी हुनुपर्ने दायित्व भने स्वयम् बालेनलाई पनि छ । किनकि उनका कयौं काम र अभिव्यक्ति विवादित छन् । विवादित हुनुको अर्थ मतविभाजन हो, जसले सही गन्तव्यमा लैजादैन । सँगै, पुराना शक्तिहरुका लागि त बालेनको लोकप्रियता असाधरण सिकाइ हुनुपर्छ । यथास्थितिमा मुलुकको नेतृत्व गरिरहेका पुराना दलहरुको अस्तित्व जोगाउन कठिन छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies