भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा नगर प्रहरीलाई ठेलागाडामा ब्यापार गर्ने एक महिलाले आक्रमण गरेको भिडियो अहिले सामाजिक सञ्जालमा छरपस्ट भएको छ । नगरप्रहरीले ठेलागाडामा बेच्न राखिएको कपडा बाहिर राखेर ठेला नियन्त्रणमा लिएको थियो । आफ्नो ठेलागाडा नियन्त्रणमा लिएपछि ती ब्यापारी महिलाले नगरका महिला प्रहरीलाई घाँटीमा अठ्याएकी थिइन् । अरु स्थानीय र नगर प्रहरीको सहयोगमा ती ब्यापारी महिलाको हात खुस्काएकी छन् । यसपछि ती महिलालाई नियन्त्रणमा लिएर एकदिन हिरासतमा राखियो, १० हजार जरिवाना तिराएर छोडियो । यस्तै दृष्य राजधानी उपत्यका रहेको काठमाडौं महानगरमा पनि देखिने गरेको छ । ठेलागाडा ब्यापारी र नगर प्रहरीबीच बेलाबेला घम्साघम्सी पर्ने गरेको छ । घम्साघाम्सीको कारण चाहिँ नगरपालिकाले फुटपाथमा ब्यापार गर्न रोक लगाउनु हो ।
विशेषगरी गएको वर्ष सम्पन्न स्थानीय चुनावबाट आएको स्थानीय तहको नेतृत्वले फुटपाथमा कडाइ गरिरहेको छ । सटर लिएर मात्रै ब्यापारी गर्न दिने नीतिका कारण फुटपाथ हटाइरहेको छ । त्यसको मारमा ठेलागाडामा ब्यापार गरेर गुजारा चलाइरहेकाहरु परेका छन् । तसर्थ नगर प्रहरीको आँखा छलेर ब्यापार छोडेका छैनन् । उनीहरुले फुटपाथमा ब्यापार नगरे गुजारा चलाउन नसकिने तर्क गरिरहेका छन् । अर्कातिर नगरले पनि यसरी ब्यापार गर्न कुनै हालतमा नदिने अडानसहित कार्बाही गरिरहेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको फुटपाथ हटाउने निर्णयको चर्को आलोचना हुँदै आएको छ । गरिखाने कमजोर वर्गमाथि बालेन निर्मम बनेको टिप्पणी भइरहेको छ । तर नियम सबैलाई एउटै लागू हुने तर्कसहित बालेनले फुटपाथ खाली गराउने अभियानलाई निरन्तरता दिदै आएका छन् । उनको सिको गर्दै देशभरका अरु नगरले पनि फुटपाथ खाली गराउनुलाई अभियान बनाइरहेका छन् ।
तर फुटपाथ खाली गराउने अभियान सफल हुन सकिरहेको छैन । अर्कातिर नगर प्रहरीसँग फुटपाथ ब्यापारीको घम्साघम्सी रोकिएको छैन । अर्थात् फुटपाथलाई खाली गराउने अभियानले तनाव मात्रै बढिरहेको छ । समाधान हुन निस्कन सकिरहेको छैन । अझ एकपछि अर्को ठूलो चाँडहरु नजिकिदै गरेकाले यस्तो ब्यापार बढी देखिन सक्छ । अतः नगरलाई व्यवस्थित गर्ने नगर प्रहरीको चाहना र गुजाराका निम्ति फुटपाथको ब्यापारी गर्नैपर्ने बाध्यताबीच दीर्घकालीन समाधान खोज्न आवश्यक छ । यस्तो दीर्घकालीन समाधानमा स्थानीय सरकारलाई प्रदेश र संघ सरकारको सहयोग आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies