काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन तथा नियमावली विपरीत काम गरेको भन्दै एक म्यानपावर कम्पनीलाई निलम्बन, अर्को एक म्यानपावर कम्पनीलाई जरिवानासहित सचेत तथा आधा दर्जन बढी व्यक्तिलाई वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।
विभागले विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीमा युक्रेन, रोमानिया र पोल्याण्ड पठाउने प्रलोभनमा रकम लिइ लामो समयसम्म नपठाएको तथा उजुरीपछि पनि विभागमा सम्पर्क नगरेको अभियोगमा युनाइटेड म्यानपावर एजेन्सी प्रा.लि इजाजत नम्बर ९८८/०६७/०६८ को इजाजतपत्र निलम्बन गरेको छ । विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा रकम लिएको तर नपठाएको उजुरीपछि वैदेशिक रोजगार विभागले यस कम्पनीका सञ्चालकलाई सम्पर्क गरेको बताएको छ । तर सञ्चालक विभागमा उपस्थित नभएपछि इजाजतपत्र निलम्बन गरिएको विभागले जनाएको छ ।
विभागको तथ्यांकअनुसार युनाइटेड म्यानपावर एजेन्सी प्रा.लि.मा ८ जना सञ्चालकहरु रहेका छन् । जसमा केशरबहादुर तामाङ, सलबहादुर तामाङ, दावा दोर्जे घिसिङ, डब्लु घिसिङ, सन्दीप तामाङ, महेशकुमार लामा, देवराज दाहाल र सोमबहादुर तामाङ रहेका छन् । यस्तै उक्त प्रा.लि.मा पवन श्रेष्ठ, सुशन लामा, सीता लामा र दिलकुमारी घले गरी ४ जना कर्मचारी रहेका छन् ।
यसैगरी विभागले वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग बढी शुल्क लिएको अभियोगमा युरो–एसिया एचआर सोलुसन प्रा.लि. इजाजतपत्र नम्बर ११६२ ०७३/०७४ लाई सचेतसहित जरिवाना गरेको छ । विभागले युरो एसियालाई कामदारबाट भिसा शुल्क, सेवा शुल्क र प्रवर्द्धन खर्च बढी लिएको बताएको छ । विभागले उक्त म्यानपावर कम्पनीलाई जरिवाना तिराउँदै आगामी दिनमा सो काम नदोहोर्याउन निर्देशनसमेत दिएको छ ।
ऐनको दफा ५३ मा प्रवेषाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च बढी लिएमा हुने सजाय हुने व्यवस्था अन्तर्गत कुनै इजाजतपत्रवालाले निःशुल्क प्रवेषाज्ञा प्राप्त भएकोमा सोबापतको शुल्क लिएमा वा तोकिएभन्दा बढी शुल्क वा खर्च लिएमा सो नलाग्ने वा बढी लिएको शुल्क वा खर्च विभागले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न लगाइ त्यस्तो इजाजपत्रवालालाई एक लाख रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।
संसदमा हाल संशोधनको प्रक्रियामा रहेकोे दफा ५३ मा संशोधन पारित भएमा म्यानपावर कम्पनीहरुले ठूलो रकम जरिवाना तिर्नुपर्ने छ । संसदमा विचाराधीन उक्त व्यवस्थामा बढी शुल्क लिने इजाजतपत्र संस्थालाई एक लाख रुपैयाँ जरिवानाको सट्टा वैदेशिक रोजगारमा पठाएको कामदार संख्याको आधारमा जनही १ लाख रुपैयाँका दरले जरिवाना गर्ने प्रावधान राखिएको छ ।
त्यसैगरी विभागले वैदेशिक रोजगार ऐनको दफा ४३ अनुसार विभिन्न व्यक्तिविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा ठगी मुद्दा दायर गरेकोे छ । उक्त दफाअनुसार अभियोेगपत्र अनुसारको दाबी ठहर भएमा प्रतिवादी बनाइएका व्यक्तिले जाहेरवालाबाट लिए खाएको रकम र त्यसको ५० प्रतिशतले हुने रकम भराइ दिने व्यवस्था छ ।
विभागले प्रेम कुमारी गुरुङसहित तीन जनालाई ८० हजार रुपैयाँ तलब हुने भन्दै दक्षिणी अफ्रिकाको सुपरमार्केटमा काममा लगाइदिने भनी प्रतिव्यक्ति ७ लाख लाग्ने बताएर २६ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा खिमप्रसाद गुरुङविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा ठगी मुद्दा दायर गरेकोे छ ।
त्यसैगरी सुदिप पोखरेललाई कृषिको काममा सर्बिया पठाइदिने भनी ४ लाख रुपैयाँ लिइ ठगी गरेको अभियोगमा अर्जुन पोखरेलविरुद्ध मुद्दा दायर गरिएको छ । पोखरेललाई पनि जाहेरवालाबाट लिए खाएको रकम र त्यसको ५० प्रतिशतले हुने रकम भराइदिन माग गरिएको छ ।
त्यस्तै विभागले उमेश सेती सुरुवाल, आर्जु सुरालले एकआपसमा मिलेर पोर्चुगल पठाइदिने भनी सुरज श्रेष्ठ, टंक श्रेष्ठ, हेमबहादुर तामाङबाट जनही १३ लाख रुपैयाँका दरले ३९ लाख रुपैयाँ, सञ्जिव गौतमबाट ११ लाख रुपैयाँ, रोहन दाहाल र प्रतिमा गुरुङलाई कम्बोडिया पठाइदिने भन्दै ५ लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी ५५ लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको अभियोगमा मुद्दा दायर गरेको छ । यस्तै वैदेशिक रोजगारमा यूएई पठाइदिने भन्दै सत्य नारायण साहसँग १ लाख रुपैयाँ, राकेश कुमार साहसँग ६ लाख ७९ हजार ३ सय रुपैयाँ गरी ७ लाख ७९ हजार ३ सय रुपैयाँ लिइ ठगी गरेको अभियोगमा मों मोतीबाबु अन्सारी विरुद्ध पनि न्यायाधिकरणमा ठगी मुद्दा दायर गरेकोे छ ।
त्यस्तै भुवन प्रसाद लामिछानेले सत्यनारायण साहसँग १ लाख रुपैयाँ, धर्मेन्द्र साह र राकेश कुमार साहसँग ९० हजार रुपैयाँ गरी २ लाख ९९ हजार रुपैयाँ, रोशन राजा शेखले ११ लाख ६८ हजार ३ सय रुपैयाँ ठगी गरेकोे अभियोगमा मुद्दा दायर गरिएको निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारका नाममा ठगी बढेको भन्दै सचेत भइ ऐन तथा नियमावलीले तोकेको व्यवस्था अनुसार इजाजतपत्रवाला संस्थामार्फत इजाजत लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ । त्यस्तै विभागले इजाजतपत्रवाला संस्थाले ऐन तथा नियमावलीमा भएको व्यवस्थाका अक्षरस पालना गर्नुपर्नेमा जोड दिएको छ । नेपाल प्रहरीले पनि वैदेशिक रोजगारका नाममा भइरहेको ठगी भयावह अवस्थामा रहेको भन्दै सचेत हुन आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies