पर्दा सानो होस् वा ठूलो अगाडि देखिने कलाकारको जति भूमिका रहन्छ एउटा सिनेमा उत्कृष्ट बन्न पर्दा पछाडि रहेर काम गर्ने प्राविधिकहरुको त्यति नै महत्वपूर्ण भूमिका हुन्छ । मोफसलमा रहेर क्यामराम्यानको काम गरिरहेका सुमन नेपाली चितवन, भरतपुर ८ का स्थानीय बासिन्दा हुन् । पूरा युनिटको टिमवर्कले आ–आफ्नो जिम्मेवारी सहीरुपले निर्वाह गरेको खण्डमा सिनेमामात्र होइन म्युजिक भिडियो, वृत्तचित्र राम्रो हुनेमात्र होइन व्यावसायिक हिसावले पनि सफल हुने कुरामा दुई मत नरहने कुरा राम्रोसँग बुझेका नेपाली पर्दा पछाडि रहेर आफ्नो कार्य कौशलका कारण व्यस्त र चर्चामा रहिरहन सफल व्यक्तित्वमध्येमा पर्दछन् । एक दशकदेखि छायाँकारको रुपमा काम गर्दै आइरहेका नेपाली विगत तीन वर्षदेखि स्थानीय टेलिभिजन च्यानल ‘अभियान टिभी’मा क्यामराम्यानको रुपमा कार्यरत छन् । तीनसय भन्दा बढी म्युजिक भिडियो, चार दर्जनभन्दा बढी विवाह, ब्रतबन्ध र विज्ञापन खिचिसकेका सुमन नेपाली सिनेमा खिच्न भने खासै रूची राख्दैनन् । मोफसलमा रहेर आफ्नो पेशालाई निरन्तरता दिँदै आएका सुमन नेपालीसँग मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
मोफसलमा रहेर काम गरिरहनुभएको छ, कस्तो लागिरहेको छ ?
मोफलसमा भएपनि कामको कुनै कमी छैन । सानो पर्दाका वृत्तचित्र, म्युजिक भिडियो, विवाह ब्रतबन्ध खिच्ने काममा भ्याइनभ्याइ हुन्छ । यस्तो काम गर्ने हामी सीमित छौं, राम्रो कमाइ हुने र खासै प्रतिस्पर्धा नहुने भएकाले मोफसलमै रमाइलो लाग्छ ।
कहिलेबाट यो पेशामा हुनुहुन्छ ?
व्यावसायिकरुपले क्यामराम्यानको पेशा अंगालेको त दश वर्ष बढी नै भयो ।
यो स्थानमा पुग्न कत्तिको संघर्ष गर्नु पर्यो ?
क्यामराम्यनको रुपमा आजको स्थानमा आइपुग्न संघर्षको कथा लामो छ । कुनै पनि क्षेत्रमा स्थापित हुन उसको मिहिनेत, काम प्रतिको लगनशिलता र धैर्यतामा निर्भर पर्छ । शुरुशुरुमा त जुनै काम पनि गाह्रो लाग्छ, त्यसमा प्राविधिक पक्ष त झन् गाह्रो विधा भएकाले त्यसको प्रशिक्षण लिएर सम्बन्धित विधामा दक्षता हासिल गरेरमात्र मैदानमा उत्रनु पर्छ । अनुहार हेरेर कसैले पत्याउँदैन, काम गरेर नै देखाउनुपर्छ अनिमात्र मार्केटमा उसको माग हुने हो । त्यसैले आजको यो पहिचान बनाउन मैले कुनै कसर छाडेको छैन । निरन्तर यो पेशामा लागि रहने अठोट लिएका कारण आज यो प्रतिष्ठा मिलेको जस्तो लाग्छ ।
ठूलो पर्दामा काम गर्न पाए हुन्थ्यो जस्तो लाग्दैन ?
काम कामै हो, पर्दा सानो होस् या ठूलो । मोफसलबाट कमै फिल्म निर्माण हुन्छ । केन्द्रबाट फिल्म बढी बन्ने भएका कारण मोफसलका कलाकार हुन् वा प्राविधिक राजधानी नगई सुखै हुन्न । तर मलाई कामकै लागि राजधानी जानुपर्छ जस्तो लाग्दैन । स्थानीय स्तरबाट बन्ने म्युजिक भिडियो, भाषिक फिल्महरु खिच्नमा नै म व्यस्त हुने गरेको छु । समयले साथ दियो भने फिचर्स फिल्म खिच्ने अवसर पनि जुर्ला नि ।
भने पछि फिल्म पाए गर्नुहुन्छ ?
म स्थानीय टेलिभिजनमा कार्यरत भएकाले अफिसबाट लामो छुट्टी लिन गाह्रो हुन्छ । फिल्ममा काम शुरु गरेपछि ४५–५० दिनसम्म लगातार सुटिङ नै हुन्छ । भिडियो, वृत्तचित्रमा काम गर्दा आफ्नो अफिसलाई ह्याम्पर पनि नपर्ने, धेरथोर आम्दानी हुने भएकाले फिल्मका लागि अफर आउँदा पनि गएको छैन । हेरौं भविष्यमा के हुन्छ ।
पर्दामा देखाइने विषयवस्तु कस्तो हुनुपर्छ ?
समाजमा अनेकौं घटना भइरहेका हुन्छन् । त्यसलाई सुक्ष्मरुपले अध्ययन गरी आमदर्शकसामु पस्कने सवालमा समाजमा के सन्देश दिँदैछ भन्ने कुराको महत्व ठूलो हुन्छ । एउटा कितावको अध्ययन गर्न एक वर्ष लाग्न सक्छ भने एउटा सिनेमा वा वृत्तचित्रले छोटो समयमै सम्पूर्ण जानकारी दिन सक्छ । भिडियोले दिने सन्देशको महत्व समाजमा धेरै हुन्छ, पढ्न र लेख्न नजान्नेले पनि सहजै बुझ्न सक्छन् । त्यसैले गहन अध्ययन गरेर सन्देशमूलक भिडियो निर्माण गर्दा समाजलाई राम्रो सन्देश दिन सकिन्छ भन्ने लाग्छ ।
डिजिटल क्यामेरा आएपछि काम गर्न सजिलो भएको हो ?
रिलमा त काम गरेको अनुभव गर्न पाइएन । डिजिटल क्यामेरा आएपछि दृश्यकैदमा सहजतासँगै चित्त नबुझुन्जेलसम्म दोहोर्याएर, तेहेर्याएर खिच्न सकिन्छ । प्रविधिको विकाससँगै डिजिटल माध्यमको पनि विकास भएकाले यसलाई सहज बनाउनुको साथै सबैको हात हातमा क्यामेरा भएता पनि सबै व्यावसायिक क्यामराम्यान बन्न भने सक्दैनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies