काठमाडौं : बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा ‘नेसनल बक्स अफिस तीज म्युजिक अवार्ड–२०८०’ सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान पर्व तीजको अवसर पारेर नेशनल बक्स अफिसले भक्तपुरको घोप्टे डाँडास्थित एक रिसोर्टमा आयोजना गरेको तीज म्युजिक अवार्ड कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
यो वर्षको सर्वोत्कृष्ट गायिका ‘रातै सारी रातै चुरा’बाट मल्लिका कार्की घोषित भइन् । उनले एलिना चौहानको सुपर हिट तीज गीत ‘कसले देख्यो र बीस वर्ष पाखुरी माइतीलाई दिएको’लाई पछि पार्दै अवार्डको हकदार बनेकी हुन् । अहिलेसम्म ५ करोड भ्युज पाउन सफल ‘रातै सारी रातै चुरा’बाट नै संगीतकार तारा प्रकाश लिम्बूले पनि अवार्ड हात पारे । उनले गीत ‘कसले देख्यो र बीस वर्ष पाखुरी माइतीलाई दिएको’ गीतका संगीतकार दीपक शर्मालाई पछि पार्दै अवार्ड जितेका हुन् । संगीतकार शर्मा संगीतकारको अवार्ड हासिल गर्न असफल भएपनि सोही गीतबाट वर्षको सर्वोत्कृष्ट गीतकार घोषित भए ।
त्यस्तै यो वर्षको उत्कृष्ट सम्पादनमा ‘रातै सारी रातै चुरा’बाट मिलन बिश्वकर्मा र छायाँकारमा हरि हुमागाईंले एक दर्जन प्रतिस्मर्धीलाई पछि पार्दै अवार्ड हात पारे । वर्षको उत्कृष्ट तीज मोडल भने ‘कसले देख्यो र’ गीतकी मोडल अञ्जली अधिकारी घोषित भइन् । उनले नायिका नीता ढुंगाना, रेजिना उप्रेती, दिपा श्री निरौलालाईसमेत पछि पार्दै उत्कृष्ट मोडलको अवार्ड हात पारेकी हुन् ।
यस्तै स्मृति तिमिल्सिनाले ‘पाउजु बजाउँदै’बाट उत्कृष्ट नित्य निर्देशकमा बाजी मारिन् । कूल ७३ वटा तीज म्युजिक भिडियोलाई पछि पार्दै शंकर बिसीले ‘रातै सारी रातै चुरा’बाट आफूलाई उत्कृष्ट भिडियो निर्देशक प्रमाणित गरे । त्यसैगरी यो वर्षको उत्कृष्ट नव मोडल सहिमा श्रेष्ठले ‘पाउजु बजाउँदै’बाट अवार्ड प्राप्त गरिन् । यस्तै तीज म्युजिक भिडियोबाट सम्पादकमा पदम सुवेदी र तीज उत्कृष्ट मोडलमा नरेश वीर सिंहले अवार्ड प्राप्त गरे ।
यो वर्षको नव गायिकामा रिज्योना (रन्जना) कार्की ‘माइती जाने हो’बाट उत्कृष्ट घोषित भइन् । तीज म्युजिक भिडियो कलरमा मिलन बिश्वकर्मा, मिक्सिङमा श्याम राई, संगीत एरेन्जरमा नरेन्द्र बियोगीले अवार्ड प्राप्त गरे ।
यस्तै तीज महिला पत्रकारिता सम्मान–२०८० बाट मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठ सम्मानित भइन् । प्रकाशक श्रेष्ठलाई विगत २१ वर्षदेखि मध्यान्ह दैनिक निरन्तर प्रकाशन गरेर नेपाली पत्रिका प्रकाशनको श्रीवृद्धि गर्न अविछिन्न सेवासहित योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । प्रकाशक श्रेष्ठलाई कार्यक्रमकी प्रमुख अतिथि एवम् राष्ट्रिय दलित आयोगकी सदस्य मिनादेवी सोवले सम्मान पत्र र बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष आरके सुवेदीले फूलमाला अर्पण गरेर सम्मान गरेका थिए ।
अवार्ड कार्यक्रममा स्वास्थकर्मी कमला थापा र चलचित्र निर्माता वितरक रत्न श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कलाकार निर्माता आरके मानन्धर, रामभक्त श्रेष्ठ, चेतनाथ दंगाल, अमर वलि, हरिचन्द्र फुयाल, सुमित्रा अधिकारी, रामशरण श्रेष्ठ, किरण श्रेष्ठ, राखिन्द्र कुमार थिंग, सपना कंडेल, उद्धव भट्टराई, सूर्यकला आचार्य, सावित्री घिमिरे, सुरेन्द्र श्रेष्ठ, कमल खड्का, रबिन गहतराज, मणि शंकर, टिकाराम शंकर, पदम दर्नाललगायतलाई तीज कोसेलीबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा निर्णायक मण्डल वरिष्ठ निर्माता किशान पोख्रेल, निर्देशक सत्यराज चौलागाईं, कलाकार केदार खड्का, निर्देशक शिव घिमिरे, नृत्य निर्देशक प्रदीप डंगोललाई बिदाइ गरिएको थियो ।
समीर लामाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि सोव, मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, प्रभाव दैनिकका प्रवन्ध निर्देशक कृष्ण कार्की, राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटालगायतले तीजको शुभकामनाका साथै बक्स अफिसका अध्यक्ष सुवेदीले गरेका कार्यहरुको प्रशंसा गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies