काठमाडौं : एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको हो । योसँगै भारत आठौं पटक एसिया कप जित्न सफल भएको छ ।
आइतबार कोलम्बोको आर प्रेमदासा रंगशालामा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले जितका लागि दिएको ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
भारतका लागि ईशान किसन र शुभमन गिलले ओपनिङ गरेका थिए । ओपनिङ गर्दै आएका भारतका कप्तान रोहित शर्माको स्थानमा ईशान किसन आएको थिए । भारतका लागि शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे । ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे ।
त्यसअघि श्रीलंका १५.२ ओभरमा ५० रनमा अल आउट भएको थियो । श्रीलंकाको यो एकदिवसीय अन्तर्राष्ट्रियको दोस्रो कम योगफल हो । श्रीलंका यसअघि २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो ।
श्रीलंकाले ५.४ ओभरमा १२ रन बनाउँदा नै ६ विकेट गुमाएको थियो । १३ ओभरमा ८ विकेट गुमाउँदा ४० रन बनाएको श्रीलंकाले त्यसपछि पनि राम्रो प्रदर्शन गर्न सकेन । श्रीलंकाका कुशल मेन्डिसले ३४ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए । दुनिथ वेलालागे २१ बलमा ८ रनमा आउट भए । श्रीलंकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए । सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए । हार्दिकले २.२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । बुमराहले ५ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर १ विकेट लिए । कुदलिप यदवले १ ओभरमा १ रन मात्र दिए ।
सुपर फोर चरणमा पनि भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो । यसअघि भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies