काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपालीको वृद्धिसँगै स्वदेश भित्रिने रेमिट्यान्समा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्ष सबै प्रक्रियाबाट ७ लाख ७१ हजार ३ सय १७ जना नेपाली कामका लागि विदेशिएका थिए ।
साउन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा केही कमी आएको भएपनि रेमिट्यान्स रकममा भने उल्लेख्य बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिट्यान्स १५ दशमलव ८ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्स साढे २१ प्रतिशतले वृद्धि भइ ८७ करोड ९८ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ ।
साउनमा संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३९ हजार एक सय ५२ जना रहेको छ । जुन गत वर्षको साउन महिनाको तुलनामा १२ दशमलव १ प्रतिशतले कमी हो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्यामा पनि साढे १९ प्रतिशतले कमी आएको छ । साउनमा १६ हजार चार सय २३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत वर्ष भने अघिल्लो वर्षको साउनमा पुनः श्रम स्वीकृति लिनेको संख्या साढे ७५ प्रतिशतले बढेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies