–नारायण गाउँले
आज गरिब छौं, ३०–४० हजार दर्शक अटाउने रंगशाला पनि नभएकाले पछि परेका छौं जस्तो लाग्छ ! तर, हाम्रो मूल समस्या रंगशाला होइन, ठाउँको हो, खुला र सार्वजनिक जग्गाको हो । एकदिन धनी बनेका दिन, बजेट जुटाउन सक्ने हैसियत बनेका दिन, रंगशाला नामको बिल्डिङ्ग त बनाउन सकिएला तर, बनाउने कहाँ ?
गौचरन भन्ने सुन्नुभएको छ ? सानो गौचरन, ठूलो गौचरन ? आम सर्वसाधारणले गाईवस्तु चराउन र खेलकुददेखि मनोरञ्जनसम्म गर्न मिल्ने ती खुला ठाउँहरू आज कहाँ होलान् ? के तपाईंलाई थाहा छ ? दशरथ रंगशाला मात्र होइन, पचासौं वर्षअघि हरेकजसो जिल्लामा सार्वजनिक उपयोग र खेलकुदका लागि ‘रंगशाला’हरू बनाइएका थिए । धनगढीमा रंगशाला थियो, झापामा थियो, रुकुममा थियो र बागलुङमा पनि थियो । भौतिक संरचना थिएन होला, तर, रंगशाला चाहिन्छ भन्ने ज्ञान उहिल्यै थियो । हामीभन्दा पछिको पुस्ताका लागि खुला ठाउँ चाहिन्छ भन्ने हेक्का त थियो नि !
रंगशाला भनेर जिल्ला–जिल्लामा छुट्याइएका ठूला–ठूला चौर र खुला मैदानहरू आज कुन अवस्थामा छन् ? गौचरनहरू कसको कब्जामा पुगे होलान् ? हरेक जसो विद्यालयमा आधा दर्जन खेल एकै पटक खेलाउन सकिने आकारका चौर छुट्याइएका थिए । त्यो गाउँको पूरै जनसंख्या अटाउन सक्ने गरी मेला लगाउन पुग्ने ठाउँ विद्यालयसँग थिए । त्यहाँ प्रचण्ड गर्मीबाट बचाउने पीपल र समीका ठूला–ठूला रुखहरू बिर्सिनुभएको छैन होला ।
काठमाडौंमा ३०–४० हजार दर्शक अटाउने रंगशाला बनाउने ठाउँ नै बाँकी छोड्नेछौं हामीले । आज क्रिकेटको चर्चा छ, भोलि फुटबललाई अर्को ठाउँ चाहिएला । भोलि महानगरसँग पैसा होला । तर, बनाउने कहाँ ? यतिसम्म कि हिजो सहज पहुँच भएर घाम ताप्ने एउटा मात्रै टुँडिखेल पनि आज खोसिइसकेछ !
अब बन्ने रंगशालामा ३०–४० हजार मान्छे लाइन बस्न मिल्ने ठाउँ छोड्न प¥यो, पार्किङ्ग चाहियो, ट्रेनिङ्ग ग्राउण्ड र शौचालय चाहियो । डेढ–दुई सय रोपनी खाली जग्गा काठमाडौंमा खोइ त ? जात्रै जात्रा र मेलै मेलाको शहरमा २०–३० हजार मान्छे जम्मा भएर उत्सव मनाउने ठाउँ नै छैन । हिजोका विद्यालय सम्झिनुहोस् र आजका आधुनिक विद्यालयको नक्सा हातमा लिनुहोस् । मैदान र चौतारी त टाढाको कुरो, आगलागी या भूकम्पजस्ता आकस्मिक अवस्थामा सुरक्षाका लागि बाहिर निस्किन सक्ने खुला ठाउँ पनि त्यहाँ छैन । न तपाईंको टोल नजिक मर्निङ्ग वाकमा निस्किन या एकछिन जम्मा भएर स्वच्छ हावामा सास फेर्ने ठाउँ बाँकी छ । दुःख त केमा छ भने यो हुँदै नभएको होइन, कुनै बेला थियो ।
एउटा रंगशाला बनेर समग्र खेलकुद क्षेत्रको विकास हुने होइन । अरब खर्चेर एउटा क्रिकेट रंगशाला बन्ला । तर त्यहाँ देशका कति युवाले अभ्यास गर्न पाउलान् ? कति विद्यालयका विद्यार्थीले त्यहाँ क्रिकेट सिक्न पाउलान् ? अनि फुटबल, भलिबल, हकी, दौड जस्ता खेलकुदको विकास कसरी होला ?
त्यसका लागि भौतिक संरचनाभन्दा पनि सजिलै र पायक पर्ने ठाउँमा खुला मैदान चाहिन्छ । ठाउँ–ठाउँमा पार्क र चौरहरू चाहिन्छ । पचास वर्षअघि सोचिएजस्तो गौचरन र रंगशाला चाहिन्छ । खेलाडी जन्माउने विद्यालयले हो र त्यहाँ व्यापार गर्ने सटर होइन, चौर चाहिन्छ ।
र, अझ मनकै कुरो बोल्ने हो भने यस्तो नेता चाहिन्छ, जसले सार्वजनिक जग्गा र खुला ठाउँको महत्व बुझोस्, पार्क र बगैंचाहरूको आवश्यकता बुझोस् र तुच्छ राजनीतिक स्वार्थका लागि भएका त्यस्ता खुला ठाउँलाई कब्जा गर्ने अधर्मीहरूमाथि औंला उठाउन सकोस् ! सबै सिध्याइसकेकाले अब बचाउने कुरो छैन, भत्काउने कुरो मात्रै छ भन्ने बुझोस् र हिम्मत गरोस् ! आज नबने भोलि बन्छ तर, बनाउने ठाउँका लागि भत्किनु जरूरी हुन्छ । द्रव्यपिशाच, लालची र स्वार्थी हुनुको हद नाघिसक्यौं हामीले । अब सुधार्ने होइन, उधार्ने नेतृत्व चाहिन्छ । पहिलो समस्या हामी आफै हौँ । एक पटक त हामी आफै भत्किनु र उध्रिनु जरूरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies