तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले छिट्टै प्रवासबाटै मतदाता नामावली संकलन शुरु हुने बताएका छन् । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आयोजनामा भएको नेपाली नागरिकहरूलाई मताधिकार प्रदान गर्नेसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विदेश भ्रमणका क्रममा कतार आइपुगेका प्रमुख निर्वाचन आयुक्त थपलियासँग नेपाली नागरिकहरूलाई 'मताधिकार प्रदान गर्नेसम्बन्धी' अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनसम्बन्धी विद्यमान सात वटा ऐनका प्रावधानहरू समेटी एकीकृतरूपमा तयार पारेको नयाँ विधेयकमा आयोगले विदेशमा रहेका मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै प्रतिनिधि सभाको समानुपातिक तर्फको निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन लागिएको बताए l
आयोगले उक्त प्रतिवेदनलाई लागू गराउन सरकार समक्ष बुझाइसकेको बताउँदै प्रमुख आयुक्त थपलियाले आगामी जनवरीदेखि पहिलो चरणमा प्रवासबाटै मतदाता नामावली संकलन गर्न शुरु गरिने जानकारी दिए । विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकार प्रदान गर्ने व्यवस्थाको लागि प्रवासमा पहिलो पटक कतारमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दे उनले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रत्यायोजन गर्न आफूले हर सम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अन्तर्राष्ट्रिय अभ्यास हेर्दा स्थानीय निकायको चुनावमा पनि प्रवासबाट मतदान गर्ने व्यवस्था गरिएको हुँदा आफ्नो चाहाना पनि सोही अनुसार गर्ने रहेको बताउँदै उनले अनलाइन भोटिङमार्फत प्रदेश र संघीय निर्वाचनमा मतदान गर्न सकिने बताए l उनले उक्त प्रतिवेदन गैर आवासीय नेपाली संघका उच्च पदाधिकारीसँगसमेत छलफल गरी तयार पारिएको बताए l
नेपाली दूतावास दोहा कतारको सभा हलमा आइतबार साँझ सम्पन्न कार्यक्रममा कतारका लागि नेपाली कार्यवाहक राजदूत कृष्णकुमार सुवेदीले नेपाली नागरिकता बोकेका प्रवासी नेपालीहरूले निर्वाचनमा भाग लिन पाउनुपर्छ भन्ने आवाज उठाउने थपलियाले प्रशंसनीय कदम चालेको बताए । उनले प्रवासमा रहेका नेपालीले हरेक दिन नेपालकै चिन्ता गरेपनि नेपाल हाक्नेहरुले प्रवासीको अधिकार नबुझेको जिकिर गरे । उनले नेपाल बाहिर रहेका नेपालीलाई हेर्ने प्रकृति र प्रवृत्ति फरक रहेको बताउँदै नेपालको अर्थतन्त्र खाडी, मलेसिया र भारतमा काम गर्नेले धानेको हुँदा निर्वाचनमार्फत यी देशका नागरिकले मतदानमा सहभागी हुन पाउनुपर्ने जोडदार माग गरे ।
थपलियाको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष रमेश भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा दूतावसका विभिन्न तहका पदाधिकारी, कतारमा स्थापित विभिन्न वैचारिक, सामुदायिक, प्रदेश तथा जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो l संघका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सचिव सन्तोष क्षेत्रीले सहजीकरण गरेका थिए l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies