दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका छन् । आफ्नो पक्षमा नरहेका महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई आमन्त्रण गरेर सन्देश दिन खोजेका छन् ।
कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा शर्मा र पौडेल समेत सहभागी हुन तयार भएपछि कांग्रेसभित्र तरंग पैदा भएको छ ।
१४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुन लागेका हुन् । असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् ।
०७८ मा भएको १४ औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेर महामन्त्री जितेका थिए भने पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए। तर गत पुस ६ मा भएको कांग्रेस संसदीय दल निर्वाचनमा शर्मा र पौडेल संसदीय दल नेताका उम्मेदवार महामन्त्री गगन थापा पक्षमा खुलेका थिए । थापाले कोइराला प्यानलबाट महामन्त्री जितेका थिए ।
कोइरालाले ०८२ मा हुने १५ औं महाधिवेशन लक्षित गरेर आफ्नो समूहलाई बलियो बनाउने प्रयास गरिरहेका छन् ।
कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन् ।
यसअघि गत साउन २ मा बसेको केन्द्रीय समिति बैठकअघि कोइरालाले आफू पक्षको छुट्टै भेला गरेका थिएनन् । त्यसबेला सभापति शेरबहादुर देउवासँग मिलेको आरोप कोइरालामाथि लागेको थियो । तर कोइरालाले आफू कसैसँग नमिलेको प्रष्टीकरण दिएका थिए ।
शेखर समूह समेत एक नरहेको कतिपय कांग्रेस नेताहरु नै बताउँछन् । कांग्रेसका संस्थापन इतरका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापावीच सम्बन्ध नजिक न टाढाको अवस्थामा रहेकाले जुनसुकै बेला अलग रुपमा अगाडि बढ्न सक्ने कतिपयको आँकलन छ । गगन थापा पार्टी नेतृत्वकै प्रत्यासी भएका कारण उनले डा. कोइरालालाई नेतृत्व स्वीकार गर्न तयार नभए यो समूह एक रहनेछैन् । तथापि, डा. शेखर र गगन थापाले आफूहरु एकै ठाउँमा रहेको बताउने गरेका छन् ।
तर इतर पक्षका नेताहरु भने यी दुई नेताबीच कहिं न कहिं एक अर्काप्रति आशंका रहेको बताउँछन् । संस्थापन इतरकै नेता अर्जुन नरसिंह केसीले महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए । यो अवस्थामा डा. शेखर समूहको बैठकमा महामन्त्री शर्मा र नेता प्रदीप पौडेल छलफलमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies