काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताएका छन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उनले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताए ।
“गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित कुरा कुराबाट दबाब दिने प्रवृत्ति र अनेक खालका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढङ्गले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न फेरि गम्भीर रहेको छ । त्यसकारण यसका कुनै हतारो नै गरिहाल्नुपर्ने अवस्था आएको छैन”, उनले भने ।
उनले बडो दुःखले बलिदानपूर्ण लामो संघर्षपछि हामीले आफैंले निर्माण गरेको संविधान सबैले मान्नुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले संविधान सर्व स्वीकार्य बनोस् भनेर दुई पटक संशोधन गरिसकेको भन्दै अहिले पनि व्यावहारिक बनाउनका लागि आवश्यकअनुसार संशोधन गर्न सकिने धारणा राखे । उनले भने, “संविधान कार्यान्वयनका क्रममा देखापरेका, नमिल्दा खालका, व्यवहारमा परिवर्तन आवश्यक देखिएका त्यस्ता विषय परिवर्तन गर्दै लैजानुपर्दछ ।” संविधानको विरोध गर्ने र संविधानको समर्थन गरेपछि संशोधन हुन सक्दैन भन्ने दुवै कुरा ठीक नभएको उनले बताए ।
आधारभूत गुणमा कतै खोट नभएको व्यक्ति सुवास नेम्वाङ रहेको भन्दै उनले अवसर र जिम्मेवारी पाउँदा सफलतापूर्वक काम गरेको उल्लेख गरे । नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभाको सभामुखको भूमिका असाधारण खेलेको भन्दै सोही संसद्ले थुपै्र युगान्तकारी निर्णय गरेको बताए ।
अध्यक्ष ओलीले संविधानमा निर्माणमा नेम्वाङको पदचिह्न, योगदान, दिशानिर्देशबारे पार्टीमा छलफल गर्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies