काठमाडौं : मलेसियाले विदेशी कामदारको चर्को अभाव झेल्नुपरेकोले नाई पसल, खुद्रा कपडा बिक्रेता र सुनचाँदी उद्योगमा तत्कालका लागि ३० हजार विदेशी कामदारको एप्रुभल खुलाउने भएको छ । त्यसमध्ये ७ हजार ५ सय विदेशी कामदार लैजाने निर्णय गत हप्ता भएको छ ।
फाट्टफुट्ट नेपाली कामदार जाने भएपनि यी क्षेत्रमा मुलतः भारतीय कामदारको वर्चस्व कायम छ । मलेसियाका मानव संशाधन मन्त्री वी शिवकुमारले प्रधानमन्त्री अनवर ईब्राहिमसँग यी पदहरूमा स्थानीय युवाहरूलाई तालिम दिने शर्तमा विदेशी कामदार भर्ना खोल्ने सहमति बनेको जानकारी दिएका छन् ।
नाई पसल, खुद्रा कपडा बिक्रेता र सुनचाँदी उद्योगले स्वदेशी कामदारलाई तालिम दिने शर्तमा नयाँ विदेशी कामदार लैजान पाउनेछन् । मलेसियामा नयाँ कामदारको एप्रुभल खुलाउने विषयमा निजी क्षेत्रको सरकारमाथि चर्को दबाब छ । मानव संशाधन मन्त्री वी शिवकुमारले विदेशी कामदारहरूको एप्रुभल पुनः खोल्ने विषय वर्तमान आवश्यकताहरूमा आधारित रहने भन्दै उल्लेखित तीन क्षेत्रमा विदेशी कामदार भर्ना नहुँदा पसल नै बन्द गर्नुपर्ने वा बन्द हुने अवस्थामा पुगेका कारण एप्रुभल दिएको बताए ।
मलेसियामा विदेशी कामदारको नयाँ एप्रुभलसँगै तलब वृद्धिको विषयमा पनि मजदुर युनियनको चर्को दबाब छ । मजदुर युनियनहरूले हालको बजार मूल्यअनुसार हाल कायम १५ सय रिंगेट कामदारको जीवनयापनका लागि न्यून रहेको भन्दै तलब वृद्धिको माग गर्दै आएका छन् ।
मलेसियामा तलब पुनरावलोकनका लागि गठित राष्ट्रिय श्रमिक परामर्श परिषद् गठन गरिएको छ । उक्त परिषद्ले प्रत्येक दुई वर्षमा एक पटक न्यूनतम ज्याला समीक्षा गरी सरकारलाई सिफारिस गर्ने गरेको छ । मन्त्री शिवकुमारले उपभोक्ता मूल्य सूचकांक (सीपीआई), गरिबीको रेखा आम्दानी, रोजगारदाताको श्रमिकलाई पारिश्रमिक तिर्ने क्षमता, श्रम उत्पादकत्व दर, बेरोजगारी दरजस्ता सामाजिक–आर्थिक सूचकहरूलाई आधार बनाएर नयाँ तलब तोकिने जानकारी दिए । मलेसियामा कामदारको तलबमा वृद्धि भए त्यसबाट ठूलो संख्यामा रहेका नेपाली कामदार लाभान्वित भइ नेपाल अर्थतन्त्रमा टेवा पुर्याउनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies