व्यावसायिकरुपले विगत डेढ दशकदेखि सौन्दर्य कलामा लागिरहेका मेकअप आर्टिष्ट अनिमेश गुरुङ गोरखा, आपुन अजिरकोट गाउँपालिका–५ का स्थानीय बासिन्दा हुन् । दर्जनौं कन्टेष्ट एवम् फेशन शोमा आफ्नो श्रृंगारकला प्रस्तुत गरिसकेका मेकअप आर्टिष्ट अनिमेश सानै उमेरदेखि स्वाबलम्बी बन्ने चाहनाले आज एक कुशल मेकअप आर्टिष्टको रुपमा समेत परिचित छन् । दुई हजारभन्दा बढी म्युजिक भिडियोमा श्रृंगारको काम गरिसकेका अनिमेशले जय शम्भो, आधा पेज, बीच बाटो, निशाफ, उल्झन, धनवान, ज्याकपट, कोशेली, च्याम्पियनलगायतका नेपाली र एक दर्जन बढी भोजपुरी चलचित्रमा मेकअप आर्टिष्टको रुपमा काम गरिसकेका छन् । अनिमेश स्पर्श म्युजिक भिडियो अवार्ड २०२३, विराट म्युजिक एण्ड फिल्म अवार्ड २०७८ मा ‘उत्कृष्ट मेकअप आर्टिष्ट अवार्ड’, हालै सम्पन्न दोस्रो म्युजिक खबर तीज म्युजिक अवार्डलगायतका सम्मानबाट सम्मानित भएका छन् । अहिलेका ब्यस्त मेकअप आर्टिष्ट अनिमेश गुरुङसँग मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
कसरी लाग्नु भयो सौन्दर्यकलामा ?
सानो छँदा यही क्षेत्रमा काम गर्ने भन्ने कुनै बिचार थिएन । समय बित्दै गएपछि आफ्नै हातमा केही न केही सीप भए जीवनयापनमा सहज हुने ठानेर यो व्यवसाय रोजेको हुँ । आफ्नै पौरखमा बाँच्न सकिने, कसैको अण्डरमा बस्नु नपर्ने, आत्मिय व्यवहारको वातावरण, आफ्नो इच्छाको मालिक बन्न पाइने, असाध्यै ठूलो शैक्षिक योग्यताको पनि आवश्यकता नपर्ने भएकाले यो पेशाप्रति आकर्षित हुन पुगें ।
यो स्थानमा पुग्न कत्तिको दुःख गर्नु पर्यो ?
कामप्रतिको लगनशीलता र मिहेनतबिना कुनै पनि काममा सफलता हासिल गर्न सकिन्न । त्यसैले कामप्रतिको इमान्दारी र संघर्षलाई मैले निरन्तरता दिएका कारणले गर्दा नै आज यो स्थानमा पुग्न सफल भएको हुँ । मलाई लाग्छ संघर्षबिनाको जीवन सार्थक हुन सक्दैन ।
तपाईं त कला क्षेत्रमा काम गर्ने मेकअप आर्टिष्ट, आम महिलाहरुमा सौन्दर्यकलाको ज्ञान कत्तिको पाउनु हुन्छ ?
सौन्दर्य ज्ञानको आवश्यकता महसुस भएको धेरै भएको छैन । पहिले अहिलेको जस्तो शिक्षित थिएनन् महिलाहरु । खेती किसानीमा संलग्न महिलाहरु बढी भएकाले सौन्दर्य ज्ञान र चासो थिएन । अहिले त्यो अवस्था छैन । गाउँकाहरु पनि शहरीया जीवनशैली जीउन थालिसकेका छन् । डिजिटल प्रविधिको विकाससँगै मानव जातिको जीवनशैलीमा पनि व्यापक परिवर्तन आएको देखिन्छ । अहिलेका दिदीबहिनीहरुमा सौन्दर्यकलाको राम्रो ज्ञान भएको पाएको छु ।
यो पेशाबाट सन्तुष्ट हुनुहुन्छ ?
कुनै पनि काम अरुले गरेको सजिलो लाग्छ । तर त्यही काम आफूले गर्नुपर्दा गाह्रो हुन्छ । त्यसैले आफूले गरेको कामबाट सन्तुष्ट हुन जान्नुपर्छ र सिक्नुपर्छ । अहिले आर्थिकरुपले पनि राम्रो छ । समय परिवर्तनसँगै सामाजिक पहिचान, व्यक्ति स्वयंमा आत्मनिर्भर र आत्मविश्वास साथै आफ्नो सीप र कलामार्फत फिल्मी पात्र हुन् या आम मानिसलाई सजाउँदा उहाँहरुमा देखिने उत्साह र खुसीले साँच्चै सन्तुष्टि मिलेको महसुस हुन्छ ।
यो क्षेत्रमा महिलाभन्दा पुरुष बढी हुनुको कारण ?
पहिले यो महिलाले मात्र गर्ने काम भन्थे । समय परिवर्तनसँगै मानव सोचमा पनि परिवर्तन आएको छ । विगतमा महिलाले यो गर्न हुन्न त्यो गर्न हुन्न भन्ने खालका अड्चन र रुढीबाडीको सामना गर्नुपथ्र्यो । अहिले महिलाहरु आफू खुसी जुनसुकै व्यवसाय गर्न सक्छन् र सक्षम पनि छन् । तपाईंले भन्न खोज्नुभएको फिल्मी क्षेत्रमा महिला मेकअप आर्टिष्टको कमीको बारेमा हो भने पहिला धेरै नै हुनुहुन्थ्यो, बिस्तारै महिलाको संख्या घटेर पुरुषको संख्या बढेको हो । महिला दिदीबहिनीहरु फिल्मी क्षेत्रमा भन्दा ब्युटीपार्लरप्रति आकर्षित भएको पाउँछु म ।
उहाँहरु आफ्नो व्यवसायबाट खुसी भएको देख्नु हुन्छ ?
जहाँसम्म सौन्दर्यकला व्यवसायको कुरा छ, यस क्षेत्रमा काम गरिरहेका दिदी बहिनीहरुको विगत र वर्तमानमा आमुल परिवर्तन भएको छ । जीवनशैलीमा खुसीयाली छाएको पाउँछु म ।
सौन्दर्यकला व्यवसायप्रति तपाईंकोे धारणा ?
मेकअप आर्टिष्ट पेशा एक यस्तो माध्यम हो जसमा विविध विषय वस्तुहरु मिश्रितरुपमा रहेका हुन्छन् । यस अन्तर्गत स्किन, हेयर, मेकअप, नेलदेखि लिएर सौन्दर्यसँग सम्बन्धित अनेकन विषयहरु पर्दछन् । त्यसैले यो पेशा संवेदनशील छ । आफ्नो उत्तम करियर निर्धारण गर्ने थलो पनि हो । जहाँ सौन्दर्यका कुरा उठ्छन् त्यहाँ मेकअप आर्टिष्टको आवश्यकता पर्छ नै वा श्रृंगार कलाको । सिनेमाका कलाकार हुन् वा आम मानिस मेकअपबिनाको सौन्दर्य सोच्न पनि मुस्किल हुन्छ ।
सुटिङमामात्र मेकअप गर्नु हुन्छ कि बाहिर पनि ?
सुटिङमा कलाकारहरुको मेकअप गर्नेमात्र होइन विभिन्न संस्थाले आयोजना गर्ने फेशन शो, विवाह आदि शुभ कार्यहरुमा मेकअप आर्टिष्टको रुपमा काम गर्दै आइरहेको छु ।
ब्युटीपार्लरमा गरिने र फिल्मी श्रृंगारमा के भिन्नता छ ?
सौन्दर्यसम्बन्धी सम्पूर्ण समस्याको समाधान गर्नुका साथै एउटा साधारण महिलाको शिरदेखि पाउसम्म हरेक श्रृंगार ब्युटीसियनले गर्नुपर्ने हुन्छ । फिल्ममा विषयवस्तु र पात्रको चरित्रअनुसारको भेषभुषा सुहाउदो मेकअप गर्नुपर्ने हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies