–मिमलाल श्रेष्ठ
बढ्दो सहरीकरणले मानव सभ्यतालाई साँघुरो बनाउँदै लगेको छ । मानिसले सामाजिक विकाससँगै खडा गरेका रितिरिवाज, चालचलन, परम्परा आदी लोप हुँदै गएका छन् । तथापी, सभ्यतालाई साक्षात्कार गर्न मानव पछि हटेको छैन । २१औं शताब्दीको बढ्दो सहरीकरणको चापको सामना गर्दै मानवले आफ्ना संस्कृति र सभ्यता जोगाइराख्ने विकल्प खोजीराखेको छ । सहरीकरण बढेसँगै सहरमा प्रयोग हुने हरेक सामानको गुणस्तर र स्वस्थतामाथि प्रश्न र शंका उत्पन्न हुने क्रम बढ्दो छ । त्यसमाथि पनि सहरको भान्सामा प्रयोग हुने वस्तु र परिकारमा गुणस्तरको प्रश्न सबैभन्दा महत्वपूर्ण छ । त्यस्तै, जलवायु परिवर्तनको असर, उर्वर भूमिको अतिक्रमणसँगै विश्वमा बढ्दै गएको खाद्य संकट, खाद्यान्नको मूल्यबृद्धि र स्वादको बजारीकरण आजका मानिसको जिविकोपार्जनको सबैभन्दा चुनौति बनेको छ । परिणाम सहरका मानिसहरु स्वस्थ खाद्यान्न र ताजा स्वादको खोजीमा कोशी खेतीमा आकर्षित हुँदै गएका छन् ।
सहरमा खेती गर्ने जग्गाको अभावमा मानिसहरुले दैनिक आवश्यक पर्ने वा उपभोग गर्नुपर्ने तरकारी, फलफूल र मसलाबालीहरु आफ्नो घरको कौसी, बरण्डा र भित्तामा लगाउने संस्कतिको विकास गरिरहेका छन् । घरको कौसी, बरण्डा र भित्ता आदी उपयोगमा नआएका ठाउँको सदुपयोग गरी कौसी खेती गर्नाले धेरै लाभ लिन सकिन्छ । यस्ता ठाउँमा विभिन्न विरुवा रोप्नाले गर्मीयाममा शीतलता र जाडो याममा न्यानो प्रदान गर्छ । इच्छाबमोजिमका तरकारी, फलफूल र बालीको उपभोग गर्न सकिन्छ । विषादीको प्रयोगबाट बच्दै फोहोरमैला व्यवस्थापन गर्न सहज हुन्छ । सहरी क्षेत्रमा हरियालीपन ल्याउन सहयोग गर्ने र घरको शोभा बढाउँछ । साथै, स्थानीय तथा घरमा खेर गइरहेको साधन, स्रोतको उपयोग हुन्छ ।
कौसी खेती गर्न मानिसले आफ्नो घरको कौसी, छत, बरण्डा, घाम लाग्ने भित्ता बरण्डाको रेलिङ्ग, सिँडीको छेउ, घर कम्पाउण्डको पर्खाल आदीको प्रयोग गर्छन् । यस्ता ठाउँमा आरुबखडा, अंगुर किबी, स्ट्राबेरी, अदुवा, बेसार, खुर्सानी, प्याज, लसुन, छ्याँपी, धनियाँ, रायो, चम्सुर, स्वीसचार्ट, मेथी आदी उत्पादन गर्न सकिन्छ । त्यस्तै, जिरीको साग, सिमरायो, लट्टे, बेथु, गोलभेडा, भण्टा, रामतोरीया (भिण्डी) भेडे खुर्सानी, काँक्रो, लौका, तितेकरेला, घिरौँला, ईस्कूस, घ्यु सिमी, तनेबोडी केराउ बकुल्ला आदी पनि उत्पादन गर्न सकिन्छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि ज्ञान केन्द्र ललितपुरको तथ्यांकअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा करिब एक लाख छतमा कौसी खेती गर्न सकिन्छ । कौसी खेती गर्दा स्वच्छ तरकारी खान पाउनुका साथै, घरको फोहोर व्यवस्थापन हुने र पैसासमेत बच्ने उद्देश्यका साथ सरकारलगायत विभिन्न निकायले कौसी खेतीमा करोडौं बजेट लगानी गरेका छन् । पछिल्लो समय स्थानीय सरकारले पनि कौसी खेतीलाई प्राथमिकता दिएको छ । बागमती ललितपुर कृषि ज्ञान केन्द्रले प्रांगारिक कौसी खेतीका लागि मात्र दुई करोड रूपैयाँ छुट्याएको छ । चालू आर्थिक वर्षमा ज्ञान केन्द्रले कौसी खेतीसँग सम्बन्धित विभिन्न कार्यक्रमका लागि करिब ११ करोड बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा काठमाडौंमा चिया, कफी, फलफूल, पुष्प र तरकारी उत्पादन वृद्धि गर्ने कार्यक्रमका लागि तीन करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै, सो कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत अनुदान दिने व्यवस्था पनि छ ।
यसैगरी, प्रांगारिक कौसी खेतीका लागि दुई करोड र एक निर्वाचन क्षेत्र एक मोर्डन कृषि फर्म कार्यक्रमका लागि तीन करोड १५ लाख बजेट छुट्याएको छ । ज्ञान केन्द्र आयोजनाले कृषकलाई पहिलो वर्ष ८० प्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष ४० प्रतिशत अनुदान दिने भएको छ । कृषि ज्ञान केन्द्रले कृषि विकास लागि विभिन्न कृषि परियोना कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रांगारिक कृषि आयोजना, रैथाने बाली आयोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, कृषि यान्त्रिकीकरण आयोजनालगायतका कार्यक्रम सञ्चालन गर्नको निम्ति करोडौ बजेट विनियोजन गरिएको छ ।
कौसी खेतीका चुनौती
कौसी खेतीको सम्बद्र्धन, उत्पादन, व्यवसायीकरण र बजारीकरणको मुख्य लक्ष्यसहित विनियोजन गरिएको बजेट सदुपयोगमा ठूलो चुनौति छ । प्रांगारिक कृषि आयोजना र रैथाने बाली आयोजनाको प्रवर्द्धन सरकारको उच्च प्राथमिकतामा रहनुपर्छ । तर, कौसी खेतीको हकमा विनियोजन गरिएको बजेटको प्रतिफल प्रोत्साहन योग्य छैन । हिजोदेखि आजको र भोलिसम्मको कौसी खेतीको उत्पादनको तथ्यांक मुल्यांकन गर्ने हो भने सरकारी निकायबाट बिनियोजन हुने बजेट बालुवामा पानी बराबर भएको छ । त्यसकारण पछिल्लो समय कौसी खेती कृषिमा बजेट दुरूपयोगको सबैभन्दा सजिलो विधा बनेको छ ।
सदुपयोगमा आउन बाँकी घरका विभिन्न खाली ठाउँलाई फुर्सदको समयमा हामीले कृषिजन्य उत्पादनको निम्ति प्रयोग गर्न सक्छौं । त्यसको निम्ति जमिनको ठूलो हिस्सा र औपचारिक समयको जरुरत पर्दैन । साथै, ठूलो पुँजी पनि आवश्यक छैन । खुत्रुके बचतबाट कौसी खेती सुरु गर्न सकिन्छ । यो मानौं, मनुष्यको अनौपचारिक सौख हो । जिन्दगीलाई विरुवासँगको मित्रबाट दिग्दार समयलाई रोमाञ्चकारी बनाउने प्राकृतिक कला हो । यो पानीको फोकाजस्तै सौख हो । कौसी खेतीले कृषकलाई व्यवसायिक गन्तव्यमा पुर्याउने सामथ्र्य राख्दैन । न त पूर्णरूपमा आत्मनिर्भर नै बनाउँछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र कृषि यान्त्रिकीकरण आयोजनाको तुलनामा प्रांगारिक कृषि आयोजना सबैभन्दा सस्तो, सहज र सुरक्षित आयोजना हो । तथापी, कौसी खेती व्यवसायिक लक्ष्यभन्दा सौखमा निर्भर हुने खेती भएकाले गरिब देशको ठूलो रकम विनियोजन हुनु सान्दर्भिक हुँदैन । र स्वयम् कृषकले पनि कौसी खेती प्रवर्द्धन, व्यवसायीरण र बजारीकरणको निम्ति सरकारी बजेटमाथि गिद्धेनजर लाउनु सबैभन्दा लज्जाको विषय हो । सरकारी बजेटको माग गर्नेले त्यसको प्रतिउत्पादनको प्रमाणीकरण पनि गर्नुपर्छ । त्यस्तै, कौसी खेतीमा बजेट पोख्ने निकायले पनि व्यवसायिक सुनिश्चितताको औचित्य पुष्ट गर्न सक्नुपर्छ ।
कौसी खेतीमा विनियोजन गर्ने बजेट मानौ कुनै ठोस उत्पादन हुने क्षेत्रमा लगानी गर्ने हो भने त्यसको परिणाम पक्कै पनि अनुकरणीय हुन्छ । व्यवसायिक कृषि उत्पादनमा गरेको लगानीले नागरिकलाई आत्मनिर्भर बनाउँछ । आजभोलि सहरभन्दा बाहिर उर्वर भूमि खाली भएर सदुपयोग हुनबाट बन्चित हुने क्रम बढ्दो छ । त्यो ठाउँमा बजेटको सदुपयोग, कृषि उत्पादनमा वैज्ञानिकीकरण र कृषकमा कृषि ज्ञानको सचेतनाको सन्तुलन हुने हो भने कसैको घरको कौसीमात्र होइन सिंगो मुलुक कृषि आकर्षणको नमुना बन्ने थियो ।
सहर आफैमा किनेर खाने ठाउँ भएकाले सहरमा कौसी खेती आफैमा चुनौतीपूर्ण छ । यो खेती मूलतः गृहणीमा निर्भर हुन्छ । एउटा सिंगो परिवार यस खेतीबाट निश्चित मौसम बाहेक वर्षभरी पूर्णरूपमा लाभान्वित हुन सक्दैन । त्यसकारण कृषिको विकल्प कौसी खेती हुन सक्दैन । तरकारीमा आत्मनिर्भर बनाउन कौसी खेती अभियान कोही कतैबाट परिचालित हुन्छ भने त्यो आफैमा स्वार्थपूर्ण हुन्छ । कौसीखेतीको व्यवसायीकरण र प्रवर्द्धनमा खर्च गरिने बजेट आफैमा दुरूपयोग हो । कौसी खेतीमा गरिने बजेटको प्रतिफलको रूपमा यसको उत्पादन ज्यादै निराशाजनक हुन्छ । कौसी खेतीबाट उत्पादित सामाग्रीमा एउटा परिवारसमेत आत्मनिर्भर बन्न सक्दैन भने उसले उत्पादित सामाग्रीलाई व्यापारीकरणको माध्यमबाट आम्दानीमा बृद्धि गर्न सक्छ भनेर कसरी लगानी बढाउन सकिन्छ ? सम्बन्धित निकाय वा अनेक संघसंस्थाले यसको श्रीबृद्धि र सांस्कृतिक लयलाई स्थापित गराउनको निम्ति धेरै पटक आर्थिक, भौतिक, प्राविधिक अनुदान प्रदान गरिसकेका छन् । तर, यसको प्रतिफलको लेखाजोखा कसैसँग छैन । उत्पादनको ग्यारेन्टी र लेखाजोखामा पारदर्शी नहुनु भनेको बजेट र आश्वासनको दुरूपयोग हो ।
पक्कै पनि पछिल्लो समय सहरमा कौसी खेतीको आकर्षण बढेको छ । तर, धेरै मानिसहरु यो खेतीमा सौखबाट प्रेरित छन् । फुर्सदको समय सदुपयोग गर्नेबाहेक उनीहरुमा उत्पादनमा दीर्घकालिन लक्ष्य हुँदैन । सफलता र असफलताको कुनै चुनौति सामना गर्दैनन् । यो खेती न त कुनै प्रतिस्पर्धाबाट निर्देशीत हुन्छ न त सामूहिक सुदृढीकरणको लक्ष्यबाट अनुबन्धित नै । मात्र हाम्रो प्राचिन सभ्यता र क्रियाकलापलाई साक्षात्कार गर्ने प्रयास हो । कृषि कला र संस्कृति पुस्तान्तरणको अभ्यास हो । त्यसैले कौसी खेतीको व्यवसायीकरण, बजारीकरण, प्रवर्द्धन र उत्पादनमा खर्चिने बजेट कृषिको आधुनिकीकरण र उत्पादन क्षमतामा लगानी गरौं । मुलुकलाई कृषिमा आत्मानिर्भर बनाऔं । कृषि संस्कृतिको संरक्षण गरौं ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies