चीनः १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब शुरुवात गरेको छ । १९औँ एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । अन्य खेलाडीले खेल्न बाँकी छ ।
आज सम्पन्न खेलमा नेपालका राहुल कुमाल र अन्जली तामाङ पराजित भएका छन् । पुरुष ५८ किलोमुनिको तौल समूहमा कुमाल साउदी अरेबियाका खेलाडीसित पराजित भएका हुन् । उनी ४–१२ र २–० अंकले पराजित भए ।
यसैगरी महिला ४९ किलोमुनिको तौल समूहमा तामाङ प्रिक्वाटर फाइनलमा पराजित भइन् । उनी थाइल्याण्डकी खेलाडीसित १२–० तथा १०–० अंकले पराजित भइन् । तामाङले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई पराजित गर्दै प्रिक्वाटर फाइनल प्रवेश गरेकी थिइन् ।
यसअघि तेक्वान्दोको एकल पुम्सेको पुरुषतर्फ प्रेमबहादुर लिम्बू र महिलातर्फ स्वस्तिका तामाङ पराजित भइसकेका छन् । एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा अब पुरुषतर्फ गोविन्दबहादुर आले, वीरबहादुर महरा, अभिषेक बराल र ज्याकी यादव तथा महिलातर्फ आयशा लामा, सन्ध्याकुमारी सिंह र इन्दिरा बस्नेतले खेल्न बाँकी छ ।
यसअघि नेपालले एसियाली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कास्य पदक प्राप्त गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies