काठमाडौं : वैदेशिक रोजगारीका लागि पोल्याण्ड, अफगानिस्तान र यूएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वैदेशिक रोजगारका लागि पोल्याण्ड र अफगानिस्तान पठाइदिने प्रलोभन दिएर २७ लाख भन्दा धेरै रकम ठगी गरेको अभियोगमा इजाजतपत्र नम्बर ९९६।०६८।०६९ राप्ती प्लेसमेन्ट प्रा.लि.का सञ्चालक रवीन्द्र अधिकारीलाई पक्राउ गरेको बताएको छ । वैदेशिक रोजगार विभागको सूत्रअनुसार राप्ती प्लेसमेन्ट खारेजीको प्रक्रियामा रहेको बुझिएको छ ।
पोल्याण्डमा फुड प्याकिङको काममा महिनाको एक लाख रुपैयाँ कमाइ हुने र प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्ने भन्दै चार जनाबाट २७ लाख २५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले अधिकारीलाई सोमबार पक्राउ गरेको हो । अधिकारी चितवन निवासी भएको प्रहरीले बताएको छ ।
रकम उठाएर म्यानपावरका सञ्चालक अधिकारी सम्पर्कविहीन भएपछि प्रेम तामाङसहित चार जनाले वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गराएको प्रहरीले बताएको छ । रवीन्द्रलाई सोमबार काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको हो ।
यस्तै वैदेशिक रोजगारीका लागि यूएई पठाइदिन्छु भन्दै डेढ लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा प्रहरीले रौतहटका मोहमद शेख इरफान सिद्धिकीलाई पनि पक्राउ गरेको छ । सिद्धिकीले सूर्यबहादुर कार्कीलाई डेढ लाख रुपैयाँ ठगी गरेको उजुरी विभागमा परेको थियोे । इरफान सिद्धिकीले दुबईमा मासिक पचास हजार रुपैयाँभन्दा धेरै तलब हुने सेक्युरिटी गार्डको रोजगारीमा पठाइदिने प्रलोभन दिइ २ लाख ५० हजार रुपैयाँ लाग्छ भनी पटकपटक गरेर कार्कीबाट एक लाख ५० हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएका थिए । पक्राउ परेका सिद्धिकी तथा अधिकारी दुबै जनालाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले बताएको छ ।
वैदेशिक रोजगारीका नाममा ठगी प्रवृत्ति व्यापक बनेको विभागले बताएको छ । यस आर्थिक वर्षको साउनयता मात्रै वैदेशिक रोजगार ठगीका ६ सय ६६ वैदेशिक रोजगार ठगीको उजुरी दर्ता भएको विभागले बताएको छ ।
विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले रोमानिया, पोल्याण्ड, क्रोएसिया, माल्टाजस्ता युरोपेली मुलुकमा रोजगारीको प्रलोभन देखाएर गठी गर्ने प्रवृत्ति व्यापक बनेको बताएका छन् । युरोपेली देशमा नेपाली श्रमिकहरूको माग बढ्दो रहेकोे र दूतावासहरूले माग प्रमाणीकरण नगर्दा व्यक्तिगतरूपमा जाने प्रवृत्तिसँगै ठगी बढेको विश्लेषण गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies