-मिलन आफन्त
प्रजातन्त्र
प्रजातन्त्र वा लोकतन्त्र जे भनेनी दुबै अंग्रेजीमा भनिने शब्द ‘डेमोक्रेशी’ नै हो । यही ‘डेमोक्रेशी’को हिन्दी अनुवाद हो लोकतन्त्र, नेपाली अनुवाद हो प्रजातन्त्र । लोकतन्त्र वा प्रजातन्त्र शासनको एउटा व्यवस्था हो । यो व्यवस्था दुई प्रकारका हुन्छन् । प्रत्यक्ष प्रजातन्त्रमा शासनको दायित्व सिधारूपमा शासित जनताले निर्वाह गर्दछन् भने प्रतिनिधिमूलक प्रजातन्त्रमा शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा हुने गर्दछ । प्रायः सानो जनसंख्यामा प्रत्यक्ष र ठूलो जनसंख्यामा प्रतिनिधिमूलक प्रजातन्त्र बढी प्रभावकारी देखिन्छन् । छोटोमा भन्दा प्रजातन्त्र भनेको प्रतिनिधिमूलक सरकारसँग सम्बन्धित छ । अब्राहम लिंकनको एउटा भनाई चर्चित छ, “जनताद्वारा जनताकोे लागि जनताले गर्ने स्वशासन नै प्रजातन्त्र हो ।” प्रजातन्त्रमा सर्वोच्च शक्ति जनतामा निहित हुन्छ । तर, जनताको तर्फबाट त्यो शक्ति जनप्रतिनिधिमूलक संस्था वा निकायले अभ्यास गर्छ ।
समाजवाद
समाजवाद एउटा यस्तो आर्थिक व्यवस्था हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतया सरकारमा निहित हुन्छ, जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनीतिक व्यवस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । स्वामित्व भन्नाले वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन आदि पर्दछन् । सामाजिक स्वामित्वका पनि विभिन्न प्रकारहरु हुन्छन्, जस्तैः साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राजाद्वारा संचालित स्वतन्त्र संस्थान आदि जनाउँछ । तर, समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरुमा फरक–फरक हुन सक्छ । हाल विश्वमा समाजवादी व्यवस्था भएका देशहरु चीन, क्युबा, लाओस, भियतनाम र उत्तर कोरिया छन् । नेपालको सरकारमा पनि समाजवादीहरुको बर्चश्व देखिन्छ ।
प्रजातन्त्र र समाजवादको मिलन
वर्तमान विश्वमा प्रजातन्त्रवादी र समाजवादीको समान वर्चश्व छ । चीनले समाजवादी कित्ताको नेतृत्व गरिरहेको छ भने अमेरिकाले प्रजातन्त्रवादी कित्ताको नेतृत्व गरिरहेको छ । आज साँचो कुरा के हो भने चीन र अमेरिकाको मित्रता बिना विश्वमा शान्ति र समृद्धिको परिकल्पना गर्न पनि सकिँदैन । अमेरिका र चीनबिच द्वन्द्व भयो भने विश्व नै अशान्त र विश्वयुद्ध हुने सम्भावना हुन्छ । तसर्थ, यी दुई विपरित ध्रुवका राष्ट्रको सहयोगी भावना अगाडी बढाउन हामी विश्व अग्रसर हुनुपर्ने देखिन्छ । हामीले प्रजातन्त्रवादी र समाजवादीको मिलन विन्दु खोज्नु पर्दछ । तसर्थ, वर्तमान संसारको राजनितिक लक्ष्य नै प्रजातान्त्रिक समाजवाद हुुनु पर्दछ । विश्वको शान्तिको लागि विगतमा जस्तो प्रजातन्त्रवादी र समाजवादी आपसमा युद्ध र झगडा गर्ने होइन । मिलेर संसार सजाउनु पर्दछ । दुश्मनको होइन, मित्रताको व्यवहार गर्नु पर्दछ ।
नेपालको प्रसङ्ग हेर्ने हो भने प्रजातन्त्रवादी नेता बिपी कोइरालाले प्रजातान्त्रिक समाजवाद र कम्युनिष्ट नेता मदन भण्डारीले बहुदलीय जनवादको सिद्धान्त अपनाएका थिए । अहिलेको सत्ता नेतृत्वकर्ता प्रचण्ड पनि प्रजातान्त्रिक व्यवस्थामा नै समाजवाद खोजिरहेका छन् । प्रजातन्त्रवादी र समाजवादीबिचको एकताको सुनौलो सन्देश, हामीले नेपालबाट विश्वलाई दिएका छौं । समाजवादी शक्ति माओवादी केन्द्र र प्रजातन्त्रवादी शक्ति नेपाली कांगे्रससँगै मिलेर निर्वाचनमा गएर सफलता पाएको उदाहरण छ । सरकार पनि माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेर चलाएको अवस्था छ ।
प्रजातन्त्र र समाजवादको राम्रो कुराको हामीले अवलम्बन गर्नुपर्दछ, अनि विश्वलाई शान्त र अनुशासित बनाउनु पर्दछ । अबको एक्काइसौं शताब्दीमा प्रजातन्त्र र समाजवाद एक अर्कालाई निषेध गरेर जानु हुँदैन, मिल्नु पर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies