दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । अधिवेशनले प्रदेशमा पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका लागि झण्डै १२ प्रतिनिधि छन् ।
अध्यक्षमा केन्द्रीय सदस्यहरु रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल र नुवाकोटका केशवराज पाण्डेसहित नेताहरू चितवनका कृष्णभक्त पोखरेल र काठमाडौँका सानुकुमार श्रेष्ठ दाबेदारका रूपमा अघि आएका छन् । सहमतिको प्रयासमा नेताहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, महेश बस्नेत, गोकुल बाँस्कोटा लगायत खटिएका छन् । तर प्रदेश अध्यक्ष पदमा सहमतिमा नेतृत्व चयन गर्ने पार्टी नेतृत्वको प्रयास सफल हुने सम्भावना कम हुँदै गएको नेताहरु बताउँछन् ।
यद्यपि नेताहरूबिच सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको केन्द्रीय नेताहरू बताउँछन् । अधिवेशनको उद्घाटन गर्दै ओलीले चुनाव नहोस् भन्ने आफ्नो चाहना मात्रै प्रकट गरेनन्, प्यानल बनाएर प्रतिस्पर्धा नगर्न भनेका छन् । अन्यथा, उम्मेदवारी खारेज हुने अध्यक्ष ओलीको चेतावनी छ ।
‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुन्छ । अध्यक्ष मण्डलले त्यो अधिकारसहित काम गर्नुहोस्’ अध्यक्ष ओलीले भनेका छन् । ओलीले सकेसम्म चुनावबिनै आफ्नो रुचिको व्यक्तिलाई प्रदेश अध्यक्ष बनाउन खोजे पनि लुम्बिनी प्रदेशमा सम्भव भएन । बागमतीमा पनि चुनाव गराउन अनिच्छुक देखिएका ओलीले चुनाव हुने वातारण बन्दै गएपछि प्यानल निषेध गर्न खोजेका हुन् ।
अध्यक्षका दावेदार रहेका नुवाकोटका पाण्डे केशवराज पाण्डे हाल पनि प्रदेश कमिटीका अध्यक्ष हुन् । सानु श्रेष्ठ प्रदेश सभामुख भैसकेका नेता हुन् भने कैलाश ढुंगेल प्रदेशको आर्थिक मन्त्री भैसकेका नेता हुन् । सुरुवाती दिनमा दोलखाकी रचना खड्काले पनि अध्यक्षमा आकांक्षा देखाए पनि उनी रिङ आउट भइसकेकी नेताहरु बताउँछन् ।
एमाले नेतृत्वले सकभर सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्ने पक्षमा रहेका बेला चितवनका कृष्णभक्त पोखरेल चर्चामा आगाडि आएका छन् । अध्यक्षका आकाङ्क्षीमध्येका ढुंगेल र कृष्णप्रसाद दाहालले सहमतिका लागि बाधक नबन्ने बताइसकेका छन् । तथापि, नेताहरु मुख्य प्रतिस्पर्धा को को बीच हुन्छ भन्ने यकिन भइसकेको छैन ।
एमाले पोलिटब्युरो सदस्य रामेश्वर फुयाँल बागमती प्रदेशमा ५ पदाधिकारी सहमतिमै चयन हुने र त्यो सम्भव नभए प्रतिस्पर्धाको विकल्पमा जाने बताउँछन् । सोमबार उद्घाटन भएको छ । मंगलबार बन्द सत्र, बुधबार विद्युतीय मतदानको कार्यतालिका छ । बागमती प्रदेश अधिवेशनका लागि १३ वटा जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भैसकेका छन् भने ५ प्रतिशत मनोनयन गर्दा करिब २५ जना थप प्रतिनिधि थपिनेछन् । प्रत्येक पालिकालाई एक निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies