तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारलाई कर्मथलो बनाउँदै आएका गैर आवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कार्यसमितिका उपाध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले आज एक समारोहका बीच अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । आगामी एक कार्यकाल (२०२३/२५) का लागि शर्माले कर्मभूमिबाट औपचारिकरूपमा आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
कतारको राजधानी दोहास्थित र्याडिसन ब्लु होटेलमा हुने घोषणा कार्यक्रमको सहजीकरण गर्न नेपालका चर्चित हास्य कलाकार सन्दीप क्षेत्री कतार आइपुगेका छन् l अध्यक्षका आकांक्षी शर्माले औपचारिक उम्मेदवार घोषणा सभामा आफ्ना २४ बुँदे वाचा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । “गैर आवासीय नेपालीको अभियान: स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मूल नारा समेटेर शर्माले २४ महिने कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर वाचा पत्र सार्वजनिक गर्न लागेका हुन् । कार्यक्रममा विभिन्न देशका एनआरएनए एनसीसीका अध्यक्ष, कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा मिडियाकर्मीलाई समेत निमन्त्रणा गरिएको सचिवालयले जनाएको छ l
मध्यान्हसँग कुरा गर्दै शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैर आवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याउन लागेको बताए । शर्मा गैर आवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसीसी सदस्य, मध्यपूर्व संयोजक र आइसीसी सचिव भएर कार्यसम्पादन गरिसकेका छन् l
उक्त कार्यक्रममा सहभागी हुन एनआरएन उपाध्यक्ष डिबि क्षेत्री, उपाध्यक्ष रोविन्द प्रसाद श्रेष्ठ, महिला उपाध्यक्ष यास्मीन बेगम, महासचिव गौरी राज जोशी, सचिव खगेन्द्र न्यौपाने, एनआरएनए सह कोषाध्यक्ष टंक गैरे, एनआरएनए अभियन्ता राजु सैयद, कल्याण श्रेष्ठ, मध्यपूर्व संयोजक मनोज गोर्खाली र राजेन्द्र अर्याल, एनसीसी यूएईका पूर्वअध्यक्ष रमेश श्रेष्ठ, एनसीसी यूएईका अध्यक्ष विकास साही, एनसीसी साउदीका अध्यक्ष रविना अर्याल, एनसीसी बहराइनका अध्यक्ष राजु श्रेष्ठ, एनसीसी ओमानका अध्यक्ष विकल झा, एनसीसी इराकका अध्यक्ष विनोद श्रेष्ठ, एनसीसी कुवेतका अध्यक्ष रण लामा, अन्तर्राष्ट्रिय चितवन समाजका अध्यक्ष समीर केसीलगायत एनआरएनए अभियन्ता कतार आइपुगेका छन् l
कार्यक्रममा भौतिकरूपमा उपस्थित हुन नसक्नेहरूका लागि साँझ नेपाली समय ७:४५ बजे र कतारी समय ५ बजेबाट जुममार्फत जोडिन सकिने व्यवस्था मिलाइएको छ l
जुममा जोडिनका लागि : https://zoom.us/j/97104689068?pwd=QVRTaEN1Y0lHL3pOa2FCak5ycFJUZz09
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies