तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैर आवासीय नेपाली संघ कतारले केन्द्रीय अध्यक्षलगायत विभिन्न पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कतारको छोटो भ्रमणमा आएका एनआरएनए आइसीसीका कार्यकारी अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष डिवी क्षेत्रीलगायतका व्यक्तित्वहरुसँग प्लाजा मलस्थित लालीगुराँस रेस्टुरेन्टमा मंगलबार साँझ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै आइसीसी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि केसीले केन्द्रमा तीन वटा अध्यक्ष हुनु रहरको नतिजा नभएको बताए । उनले आफू कान्छो अध्यक्ष बनेको बताउँदै तोकिएकै समय र मितिमा अधिवेशन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थामै करिब दुई दशक खर्चिएको स्मरण गर्दै एनआरएनएभित्र एकताका लागी आफू व्यक्तिगत र पदीय हैसियतमा कहिल्यै बाधक नबनेको र एकताका लागि आफूले गर्नुपर्ने सबै त्याग गर्न तयार रहेको बताए ।
कार्यक्रममा संस्थापक सदस्य सागर नेपाल, आइसीसी उपाध्यक्ष केसी र राजेन्द्र कुमार शर्मा, सचिव प्रवीण गुरुङ, सह-कोषाध्यक्ष होमनाथ शर्मा, आइसीसी सदस्य सरिता पौडेल भण्डारीसहित एनसीसी कतारका भूतपूर्व अध्यक्षलगायतको उपस्थिति तथा मन्तव्य रहेको थियो l
कार्यक्रममा बोल्ने वक्ताहरूले विभाजित बनेको एनआरएनएलाई एक ढिक्का बनाएर अगाडि लैजान र एकल नेतृत्व छान्न सुझाव दिएका थिए l सबैलाई मिलाएर लैजान र नेतृत्वकर्ताहरू पनि एक ढिक्का भइ अगाडि बढ्न सुझाव दिँदै विश्वभर सञ्जाल फैलाएको एनआरएनएमा विवाद देखिनु दु:खद् रहेको विचार व्यक्त गरेका थिए l
अन्तरक्रिया कार्यक्रममा सहभागीका लागि फ्लोर खुला गरिएपछि आइसीसीका अध्यक्षलगायतसँग सहभागीले विभिन्न प्रश्न राखेका थिए l सहभागीहरूले विभाजित एनआरएनए, सामाजिक सुरक्षा कोष, मलेसिया र मध्यपूर्वका श्रमिकका हकहितका विषयमा प्रश्न गरेका थिए l सहभागीहरूले केसीसमक्ष कतारबाट अध्यक्षका आकांक्षी बनेका शर्मालाई सघाउन समेत अनुरोध गरेका थिए l
फ्लोरबाट एनसीसि कतारका निवर्तमान प्रमुख सल्लाहकार उत्तम गुरुङले एनसीसी कतारभित्र भएको आर्थिक अनियमितता, छानबिन समिति र क्षेत्राधिकारका बारेमा सोधेको प्रश्नको जवाफ दिँदै केसीले एनसीसीले कुन कार्यकालको, कति महिना र कति वर्षको के-के विषयमा छानबिन गर्ने हो, त्यो सर्वाधिकार एनसीसीमै हुने र छानबिनका लागि लिखितरूपमा समितिलाई समय सीमा तोकिदिनुपर्ने बताए । उनले एनसीसीका विवादलगायत छानबिनका प्रक्रियाको सर्वाधिकार एनसीसीमै निहित रहने हुँदा आइसीसीले त्यसको समय सीमा तोक्ने या छानबिनमा असर पार्ने गरी कुनै पनि कार्य नगर्ने र गर्न नपाइने स्पष्ट पारे ।
गुरुङले सन् २०१९ देखि नै एनसीसीमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै सन् २०१९ देखि २०२३ सम्मको सबै आयव्यय छानबिन गर्नुपर्ने माग राखेपछि गत जुलाई ३० मा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट आइसीसीका सह-कोषाध्यक्ष होमनाथ शर्माको संयोजकत्वमा एक छानबिन समिति गठन भएको थियो । समितिलाई एनसीसी कतारले २०२१-२३ कार्यकालको आयव्यय छानबिन गरी रिपोर्ट बुझाउन निर्देशित गरेको थियो l
प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेको अन्तरक्रिया कार्यक्रमलाई सचिव सन्तोष क्षेत्रीले सहजीकरण गरेका थिए l कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा एनसीसी कतारका अध्यक्ष रमेश भट्टले विगतमा डेलिगेटस कसरी पठाउने गरिएको थियो भन्ने अभिलेख आफूले नपाएको हुँदा आइसीसीको विद्धानले निर्देशित गरेबमोजिम आफूले डेलिगेट्स पठाएको बताए l झोलामा पैसा बोकेर पञ्जीकृत सदस्यता बनाउने प्रवृत्तिको अन्त्य गर्न चाहेको बताउँदै जसले सदस्यता लिन चाहन्छ उसले मात्र पैसा तिरेर सदस्यता लिन मिल्ने व्यवस्था गर्नेतर्फ आफू लाग्ने भट्टको भनाइ थियो l उनले एनसीसीका पञ्जीकृत सदस्य सबैले सिधै आइसीसीको निर्वाचनमा मत हाल्न पाउनुपर्ने व्यवस्था गर्नका लागि आगामी केन्द्रीय अधिवेशनमा आवाज उठाउने बताए l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies