काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । नदी तथा खोलाको ढुंगा, गिट्टी, बालुवा र माटो ठेक्कामा लगाउँदा ८१ लाख ३५ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले त्रियुगा नगरपालिकाका पूर्वमेयर चौधरीसहित चार जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले पूर्वमेयर चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र ठेकेदार राजेश बछारलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । पूर्वमेयर चौधरीले आर्थिक वर्ष २०७८/०७९ मा त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरेको, त्रियुगा नगरपालिकाको नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार सो आर्थिक वर्षका लागि नदीजन्य पदार्थको प्रस्तावित आय प्रक्षेपण गरेकोमा उनकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनका लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरी ६२ लाख ९१ हजार २०४ रुपैयाँ २२ पैसा राजस्व चुहावट गरेको अख्तियारको दाबी छ ।
यस्तै ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानुनी ढंगले उत्खनन र बिक्री गर्न दिएको, प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुर्याएको कारण १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा राजस्व चुहावट भएको अख्तियारको जिकिर छ । सोही अनुसार अख्तियारले राजस्व चुहावट भएको कुल रकम ८१ लाख ३५ हजार ३८२ सय १६ पैसालाई बिगो कायम गरी दोब्बर जरिवानाको मागदाबी गरेको हो ।
त्यस्तै नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्कीले आइइई प्रतिवेदन तथा नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयसमेतलाई अनदेखा गरी नदीजन्य पदार्थको उत्खनन र बिक्री कार्यका लागि न्यूनततम ठेक्का कायम गर्न निर्णय तथा स्वीकृत गर्ने कार्यमा सहभागी भएको तथा ठेक्का नै नभएको माटो उत्खनन गर्न दिएर राजस्व चुहावट गर्न संलग्न भएको अख्तियारले जनाएको छ । उनीविरुद्ध पनि चुहावट भएको कुल राजस्वलाई नै बिगो कायम गरी मुद्दा दायर भएको छ ।
अख्तियारले नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाललाई पनि प्रतिवादी बनाएको छ । उनीविरुद्ध नदीजन्य सामग्रीको ठेक्कामा न्यूनतम रकम कायम गर्न मिलेमतो गरेको र ठेक्का नै नभएको माटो गैरकानुनी ढंगले उत्खनन र बिक्री गर्न दिएको आरोप अख्तियारको छ । उनीविरुद्ध भने चुहावट भएको राजस्व रकमको दोब्बर जरिवानासहित एक करोड ६२ लाख ७० हजार सात सय ६४ रुपैयाँ बिगो दाबी अख्तियारले गरेको छ ।
त्यस्तै अख्तियारले ठेकेदार कम्पनी र त्यसका प्रोप्राइटरलाई पनि प्रतिवादी बनाएको छ। तत्कालीन मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत र राजस्व शाखा प्रमुखसँग मिलेमतो गरी सम्झौताको सर्तविपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेस नभएको नदीजन्य पदार्थ उत्खनन, बिक्रीसमेत गरेको र अवैध रूपमा माटो उत्खनन र बिक्री गरेर राजस्व चुहावटमा मतियारको कार्य गरेको आरोपमा अख्तियारले निश्चल ट्रेडर्स हेटौँडा र त्यसका प्रोप्राइटर तथा ठेकेदार राजेश बछारलाई प्रतिवादी बनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies