शहबाज खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ४ मा रहेको परसोहिया स्वास्थ्य चौकीमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ । खानेपानी नभएपछि सेवाग्राही र स्वास्थ्यकर्मीलाई निकै सास्ती खेप्नु परेको छ । स्वास्थ्य चौकीमा एक वर्ष भन्दा बढी समयदेखि बिरामी, स्वास्थ्यकर्मीलाई, पिउने पानी, शौचालयको प्रयोग र सरसफाई गर्न समस्या भएको छ ।
स्वास्थ्यकर्मीले बिरामीको उपचार, ड्रेसिङ, औषधी खुवाउँदा गर्भवती महिला, बाल–बच्चा, बिरामीलाई पानीको व्यवस्थापन नहुँदा समस्या भएको गुनासो गरेका छन् । उनीहरुले शौंचालयको प्रयोगमा निकै कठिनाई भएको बताएको भन्दै चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य संस्था जस्तो अतिआवश्यक ठाउँमा खानेपानी व्यवस्थापन सम्बन्धित निकायले ध्यान नदिएको स्वास्थ्यकर्मी र सेवाग्राहीको भनाइ छ ।
यस्तै स्वास्थ्य चौकीमा पानीको समस्या मात्रै नभएर सरसफाईमा चरम लापरवाही देखिएको छ । स्वास्थ्य चौकीबाट निस्केको ’फोहर मलाई’ फाल्ने वा नष्ट गर्ने उचित व्यवस्थापन समेत छैन । स्वच्छ, सफा तथा पूर्ण व्यवस्थापन हुनुपर्ने तर व्यवस्थापन पक्ष कमजोरी देखिएको स्थानीयको आरोप छ । स्वास्थ्यकर्मीका अनुसार स्वास्थ्य चौकीमा आ–आफ्नो घरबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ । घरबाट ल्याएको पानी सकिएपछि चौकी छेउका सरफराजको नल्काको पानी प्रयोग गरिने अवस्था रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
बिरामीलाई औषधी खान नल्काको पानी पिउने योग्य छ कि छैन भन्ने पानीको गुणस्तर जाँच नहुँदा थप समस्या निम्त्याउने सक्ने उनीहरुको भनाइ छ । स्वास्थ्यकर्मीले पटक–पटक स्वास्थ्य चौकी प्रमुख माधव अर्यालसँग खानेपानी व्यवस्थापनका लागि अनुरोध गरेपनि चासो नदिएको बताएका छन् । उनीहरूले सकेजति आफै सरसफाइ गरिने गरेको बताउँछन् ।
यता स्वास्थ्य चौकी प्रमुख माधव अर्याल खानेपानी बिना स्वास्थ्य चौकी सञ्चालनमा कुनै समस्या नभएको बताउँछन् । उनले स्वास्थ्य चौकीमा नल्का रहेको दाबी समेत गरेका छन् । नल्का बिग्रेको बताउँदै स्वास्थ्य चौकीमा बजेट नभएको कारणले खानेपानीको व्यवस्थापनमा समस्या सिर्जना भएको अर्यालको भनाइ छ । बिरामीहरुले प्रयोग गरिरहेका नल्काको पानीको गुणस्तर १० वर्ष पहिला जाँच गराइएको र प्रयोगयोग्य रहेको उनले जिकिर गरे ।
यशोधरा गाउँपालिका स्वास्थ्य संयोजक विरेन्द्र कुमार मिश्रले स्वास्थ्य चौकीमा खानेपानी व्यवस्थापनमा समस्या भएको बताउँदै विविध कारणले समाधान हुन नसकेको बताए । उनले यसबारेमा थप जानकारी दिन चाहेनन् । यस्तै यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले स्वास्थ्य चौकीमा खानेपानी समस्याबारे कुनै जानकारी नभएको बताए । उनले खानेपानीको समस्या भए दशैँपछि व्यवस्थापन गराउने बताए । पानीको समस्याबारे बुझेर तत्काल उपलब्ध गराउने तर दशैपछि व्यवस्थापन गर्ने अध्यक्ष तिवारीको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies