पिन्टु यादव/मध्यान्ह
सप्तरी : सप्तरीमा अघोषित रुपमा लोडसेडिङ हुने गरेको छ । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रको मनपरिका कारण हजारौं सेवाग्राहीहरु मर्कामा परेका छन् ।
विभिन्न समस्या देखाउँदै दैनिक ५ देखि ७ घण्टासम्म विद्युत अवरोध हुने गरेको छ । जसका कारण यस क्षेत्रका ग्राहकहरुले अघोषित लोडसेडिङको आशंका गरेका छन् ।
पछिल्लो केही दिनयता यस क्षेत्रमा छिनछिनमा विद्युत आउने जाने हुने गरेको ग्राहकहरुले गुनासो गरेका छन् । सामान्य मौसमको खराबी आउँदा समेत दिनभरि बिजुली काटिने समस्याले यस क्षेत्रका ग्राहकहरु आजित भएका छन् । उनीहरुले प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको बताएका छन् ।
बेलाबेलामा प्रसारण लाइनको मर्मत सम्भार नहुँदा यसक्षेत्रमा पोल खस्ने, फोल्ड हुने, ट्रान्सर्फमर बिग्रने समस्या बढ्दै गएको छ । प्राधिकरणमा कार्यरत कर्मचारीहरुको चरम लापरबाहीले यस्तो समस्या आइरहेको ग्राहकहरुको गुनासो छ । बिजुली तारमा रुख, बाँसको सानाठूला लहराले फोल्ड हुने समस्या आउने गरेको भएतापनि समयमै लहरा हटाउन नसक्दा समस्या बढ्दै गएको छ ।
घण्टौंसम्म बिजुली अवरोध हुने परिपाटीले प्रशासनिक चुस्ततामा ह्रास आएको उपभोक्ताहरुको भनाइ छ । बाँस र रुखका सानाठूला लहरा हटाउन कन्जुस्याइँ गरिने कर्मचारीहरुको रवैयाले समेत सामान्य हावाहुरीमा बिजुली अवरोध हुने गरेको छ ।
यसले यस क्षेत्रका हजारौं ग्राहक आजित भएका छन् । यस्ता समस्याहरु समाधान गर्न केन्द्रले गम्भीरतापूर्वक ठोस योजना बनाउनुपर्ने उपभोक्ताको अपेक्षा छ ।
ग्राहकमा यी समस्याले उत्पन्न भएको कठिनाइलाई ध्यानमा राखेर समाधान नगरे उनीहरुले वितरण केन्द्रविरुद्ध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।
यता वितरण केन्द्रका डिभिजन इन्जिनियर अरुण कुमार साहले ग्राहकमा पर्न गएको असुविधाको सम्बन्धमा केन्द्र संवेदनशील रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणले कुनै किसिमको अघोषित लोडसेडिङ लगाइएको मिथ्या मात्रै भएको उनले बताए ।
ग्राहकको सेवामा केन्द्र हरबखत तम्तयार रहेको उनले दाबी गरे।चाडपर्व नजिकिदै गएको बेला केन्द्रले सुचना निकालेर सेक्सन–सेक्सनको बिजुली काटेर सानाठूला रुख र बाँसको लहरा बिजुली तारबाट हटाउने गरिएकोले यी समस्याबाट ग्राहकमा असुविधा उत्पन्न पक्कै आउने गरेको बताए ।
नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रबाट ३३ हजार एक सय ५२ जना ग्राहकलाई सेवा दिइरहेको डिभिजनल इन्जिनियर साहले बताए । यसक्षेत्रमा ५१ किलोमिटर ३३ केभी लाइन प्रसारण रहेको छ । त्यस्तै,एक सय १६ दशमलव पाँच किलोमिटर ११ केभीको प्रसारण लाइन रहेको छ । जसमा तीन वटा सब–स्टेसन रहेको छ ।
भगवतपुरमा फ्युज सेवा
नेपाल विद्युत प्राधिकरण कन्चनपुर वितरण केन्द्रले केही दिनमा ग्राहक वर्गको सेवालाई ध्यानमा राखेर महादेवा गाउँपालिका वडा नम्बर ५ भगवतपुरस्थित फ्युज सेवा स्थापना गर्न लागिएको डिभिजनल इन्जिनियर अरुण कुमार साहले बताएका छन् ।
यस वितरण केन्द्रमा हजारौं उपभोक्तालाई सहज सेवा दिने उदेश्यले फ्युज सेवा स्थापना गर्न लागिएको जानकारी दिएको छ । जसबाट महादेवा गाउँपालिकाका ६ वटै वडा अन्तर्गतका गाउँहरु–मझोरा, ढिकुली, महादेवा, भगवतपुर, कजौली, पकरी, डाढा, बथनाहा, बलिया, मनियार प्रसाही र लक्ष्मीनियाँमास्थित ट्रान्सर्फमरमा आउने समस्या, फोल्डको समस्या, तार र पोल खस्ने समस्यालाई अविलम्ब समाधान गरिने छ । त्यसैगरी तिरहुत गाउँपालिकामा पर्ने डिमन, गोइठी, लोहजारा, बुधेवा लगायतका गाउँहरु समेतमा भगवतपुरबाट सेवा उपलब्ध हुने बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies