काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच सर्टिफिकेसन कोर्षको बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बुधबार हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात चालु आर्थिक वर्ष २०८०/०८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि नेसनल बैंकिङ इन्ष्टिच्युटले हाललाई एक हजार जना कर्मचारीलाई ‘जेएएनबीआई,सीएएनबीआई, एमओओडीवाई’ लगायतको सर्टिफिकेसन कोर्षको बैंकिङ तालिम प्रदान गर्ने छ । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि भई जोखिम न्यूनीकरण हुने बताए ।
इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा वृद्धि हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले कार्यक्रमबारे प्रकाश पार्दै बैंकले कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने बताइन् ।
उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विनय रमण पौडेल, दुर्गा कुमारी कँडेल, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे, सिकाइ तथा विकास विभागका विभागीय प्रमुख पद्मालक्ष्मी जि.सी., नेशनल बैंकिङ इन्ष्टिच्युटका डिजिएम धन थापा, शैक्षिक निर्देशक प्रमोद बोहरा, बन्दना रोक्का, सम्झना दाहाल लगायतको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2023 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies